बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
फैलँदै डेंगु

२५ करोड रुपैयाँ खर्च भए पनि डेंगु सङ्क्रमणबाट हुने मृत्यु शून्यमा झर्न सकेन

दसैँपछि डेंगु सङ्क्रमण बढेको हो ?
शुक्रबार, ०९ कात्तिक २०८१, १५ : ५८
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । देशभर डेंगुको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय २२ हजार ८२ जना डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भइसकेको छ । यो वर्ष सरकारले डेंगुबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य लिएर काम गरिरहेको छ । तर यो लक्ष्य प्राप्त हुन सकेको छैन ।

सरकारले डेंगु नियन्त्रणका लागि केन्द्रदेखि स्थानीय तहसम्म २५ करोड रुपैयाँ खर्च गरिसकेको छ । सरकारले ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’, स्वास्थ्यकर्मीलाई डेंगु सम्बन्धि तालिम, सचेतनात्मक सूचना लगायत कार्यका लागि २५ करोड रुपैयाँ खर्च गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरका ७५३ स्थानीय तह र ७७ जिल्लामै डेंगु नियन्त्रणका लागि रकम पठाएको बताए । ‘देशभरका ७५३ स्थानीय तहमा ७ देखि ८ करोड रकम पठाइएको छ,’ उनले भने, ‘७७ जिल्लामा करिब ८ करोड नै रकम खर्च भएको छ । यस्तै, अन्य विभिन्न योजनामा गरी २० देखि २५ करोड रुपैयाँ खर्च भएको छ ।’

नेपालमा दुई वर्ष लगातर डेंगु सङ्क्रमणबाट मान्छेको मृत्यु भएकाले यो वर्षदेखि डेंगु सङ्क्रमणबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य सरकारले लिएको हो ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सन् २०२२ मा देशभर ५४ हजार ७८४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । सोमध्ये ८८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । यस्तै, सन् २०२३ मा डेंगुबाट सङ्क्रमणबाट ५१ हजार २४३ जना प्रभावित भएका थिए भने २० जनाको मृत्यु भएको थियो । यो वर्ष २२ हजार ८२ जना डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भइसकेको छ ।

सरकारले लक्ष्य प्राप्त गर्न किन सकेन भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी भन्छन्, ‘सरकारले यो वर्षदेखि डेंगु मृत्यु शून्यमा झार्ने गरी लक्ष्य लिएर काम गरेको हो । यसरी लक्ष्य लिएमा काम गर्न सकिन्छ भनेर लिएका हौँ । यो लक्ष्य लिएर काम गर्न सम्भव थिएन, तर पनि हामीकहाँ कुनै पनि वयस्क मान्छे डेंगुको कारणले मृत्यु भएको होइन । डेंगुका कारण मृत्यु भएको भनिएकामा फोक्सो सम्बन्धी रोग, क्यान्सर जस्ता दीर्घरोग पनि पाइएको छ ।’
डेंगु सङ्क्रमण र मृत्यु हुनेको विवरणः

Capture

करिब दुई दशक अघि नेपालमा डेंगु रोग फेला परेको हो । त्यसयता बर्सेनि यो रोगको सङ्क्रमित भेटिएको ईडीसीडीले जनाएको छ । ईडीसीडीका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालमा डेंगुको विभिन्न प्रजातिको सङ्क्रमण हुने उच्च सम्भावना रहेको बताएका छन् । उनका अनुसार नेपालमा परीक्षण गएिकामध्ये डेंगु भाइरस सार्ने प्रजातिको ‘सेरोटाइप–१, २ र ३’ मात्रै फेला परेको छ ।

‘हामीले धेरै सेरोटाइप परीक्षण गरेका छैनौँ,’ उनले भने, ‘सानो स्केलमा गरेका छौँ तर त्यसमा सेरोटाइप–१, २, ३ मात्रै देखिएका छन् ।’

  • सरकारी निकायकै फरक फरक मत

भर्खरैमात्र दसैँ सकिएको छ । पर्वमा मानिसको चहलपहल बढ्नु स्वाभाविक नै हो । यसका साथै सहरबाट गाउँ र गाउँबाट सहरमा आउनेजानेको पनि निकै चहलपहल बढेको थियो । यसरी मान्छेको आवत–जावत हुँदा डेंगु सङ्क्रमण फैलिने जोखिम झनै रहने मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताए । ‘दसैँसँगै डेंगुको सङ्क्रमण पनि बढेको देखिन्छ,’ उनले भने, ‘विशेष गरी दूरदराजका क्षेत्रमा सङ्क्रमितको संख्या कम हुँदै गएको छ । तर काठमाडौँ, पोखरा, चितवन लगायत जनघनत्व बढी भएको ठाउँमा डेंगु सङ्क्रमण बढी देखिएको छ ।’

ईडीसीडीका निर्देशक डा. घिमिरे भने दसैँपछि त्यति धेरै सङ्क्रमण नबढेको तर्क गर्दछन् । ‘हप्तामा हेर्नु भयो भने ट्रेन्ड अनुसार सङ्क्रमित संख्या घटेको छ,’ उनले भने, ‘डेंगु सङ्क्रमण घट्न नसकेको एउटा विषय हो तर ट्रेन्डमा पनि ह्वात्तै बढेको छैन ।’

दसैँको समय लामो बिदा भएकाले त्यतिबेलाको रिपोर्ट अहिले आएर पनि सङ्क्रमण बढेजस्तो देखिएको सरकारी अधिकारी बताउँछन् ।

ईडीसीडीका अनुसार दसैँ अगावै असोज ७ देखि १४ को बिचमा एक सातामा २ हजार ३३१ जनामा डेंगु सङ्क्रमण देखिएको थियो । त्यो समयमा देशभर डेगु सङ्क्रमित संख्या १४ हजार ९७५ जना थिए । यसमध्ये ७ जनामो मृत्यु भएको थियो । त्यसयता डेंगु सङ्क्रमणको रिपोर्ट हुन सकेको थिएन ।

करिब दुई साता अर्थात् दसैँपछि असोज २९ गते ४ हजार ६२४ जना डेंगु सङ्क्रमित थपिएर देशभर १९ हजार ५९९ जना पुगेका थिए । यो समयसम्म ९ जनाको मृत्यु भइसकेको थियो । असोज २९ देखि कार्तिक ११ गते अर्थात १२ दिनको फरकमा २ हजार ४८३ जना डेंगु सङ्क्रमित थपिएका छन् । हाल देशभर २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण देखिएको छ । हालसम्म ११ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । सरकारी तथ्याङ्कले दसैँपछि डेंगु सङ्क्रमण घट्न नसके पनि बढेको पनि देखाउँदैन ।

  • डेंगुको प्रकोप फैलिनुको मुख्य कारक

नेपालमा डेंगुको ‘सेरोटाइप–१, २ र ३’ देखिएको सरोकारवालाले बताएका छन् । डेंगुका १, २, ३ र ४ मध्ये कुन सेरोटाइप कहाँ देखिने भन्ने यकिन तथ्याङ्क भने नरहेको ईडीसीडीका निर्देशक घिमिरेले बताए । जनघनत्व जहाँ बढी हुने, त्यही नै डेंगु सङ्क्रमण देखिएको उनको भनाइ छ ।

डेंगुको प्रकोप फैलिनुको मुख्य कारण डेंगु सार्ने लामखुट्टेको वृद्धि–विकास रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.विमल शर्मा चालिसे बताउँछन् । ‘एडिस एजिप्ट जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने गर्दछ,’ उनले भने, ‘वर्षापछि जहाँ पानी जम्छ, त्यहाँ लामखुट्टेले आफ्नो वृद्धि–विकास गर्न थाल्छ । त्यस आसपासका क्षेत्रमा सङ्क्रमित लामखुट्टेले टोक्ने सम्भावना बढी हुन्छ ।’

डा. चालिसेले घनावस्ती भएको ठाउँमा, मानिसको बाक्लो उपस्थिति हुने ठाउँमा प्रकोप बढी हुने बताए । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले पनि मानिसको आवत–जावत बढी हुने ठाउँमा बढी डेंगु फैलिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप