शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रचण्डसहितका पदाधिकारीको कमाण्डमा माओवादीले जुलुस निकाल्ने, प्रदर्शन शान्तिपूर्ण हुने

शुक्रबार, ०९ कात्तिक २०८१, १५ : ५८
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भृकुटीमण्डमा भोलि (शनिबार) गर्न लागेको खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण  तरिकाले गर्ने दाबी गरेको छ । केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको हो ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी लगभग पुरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले दाबी गरे । 

शनिबार ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् । जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा हुनेछ । सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने अध्यक्ष सिंखडाले जानकारी दिए । उनका अनुसार अध्यक्षसहित पदाधिकारी, प्रदेशका अध्यक्षहरू ब्यानरमा रहनेछन् । झण्डा, व्यानहरूको सबै तयारी पुरा भइसकेको छ । उनका अनुसार जुलुसमा उपत्यका भित्रबाट आउँछन् भने बाहिरी जिल्लाबाट कम मात्रै आउनेछन् ।

‘जनप्रदर्शनको लगभग सबै तयारी पुरा भएको छ । बाहिरबाट धेरै जुलुस ल्याउँदा सर्वसाधारणलाई अप्ठ्यारो हुने । ट्राफिक जाम हुने समस्या हुने भएकाले यसपटक फरक तरिकाले विरोध गर्न लागिएको हो । मलमा जम्मा भएर झाँकी, बाजागाजासहित अगाडि बढ्छौँ । जनताको समस्यालाई हेरेर फरक र रचनात्मक गराउन खोज्दैछौँ’, तयारीबारे जनाकारी दिँदै उनले भने ।

जुलुस बागबजार, प्रदर्शनी मार्ग हुँदै १२ः ३० मा भृकुटीमण्डपमा परिणत हुने सिंखडाले जानकारी दिए । करिब २ घण्टामा कार्यक्रम सकिने उनले जानकारी दिए । जुलुसमा उपत्यका भित्रबाट मात्र सहभागी हुनेछ । उपत्यका बाहिरबाट कम सहभागी हुने सिंखडाले जानकारी दिए । सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आँकलन गरिएको छ । कांग्रेस र एमाले मिलेर असारमा सरकार बनाएपछि माओवादी सत्ताबाट बाहिरिएको थियो । ओली नेतृत्वको गठबन्धन सरकार पश्चगामी भएको भन्दै माओवादीले देशभर आन्दोलन चर्काउने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप