शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

पहिलो पटक काठमाडौँमा कन्सर्ट गर्दै कन्दरा

शुक्रबार, ०९ कात्तिक २०८१, १५ : ५०
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । लोकपप–रक ब्याण्ड कन्दराले पहिलो पटक काठमाडौँ कन्सर्ट गर्ने भएको छ । ‘काठमाडौँ कलिङ’ नाम दिइएको कन्सर्ट २४ कात्तिकमा ठमेलस्थित एलओडी क्लबमा आयोजना हुनेछ । 

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच कन्सर्टको जानकारी दिइएको हो । ३२ वर्षमा पहिलोपटक काठमाडौँमा कार्यक्रम गर्न लागेको ब्याण्डका अगुवा तथा भोकलिस्ट विवेक श्रेष्ठले बताए । उनले राजधानीको प्रस्तुति अविष्मरणीय बन्ने धारणा राखे । श्रेष्ठले भने, ‘यो हाम्रो नयाँ पुस्तासँग पनि जोडिने मौका हो । ३२ वर्ष बुढो भइसक्या रहेछौँ । यी कुरा पनि सुनाउनु जरुरी छ ।’

ब्याण्डले केही पहिले पोखरामा कार्यक्रम गरेको थियो । ‘पहिले घरदेश, अनि परदेश’ अभियान सहित पोखरा कार्यक्रम गरेको ब्याण्डले काठमाडौँ कार्यक्रमको नाम भने ‘काठमाडौँ कलिङ’ राखेको हो ।

ब्याण्डले काठमाडौँपछि चितवन, बुटवल र नेपालगञ्जमा पनि सांगीतिक प्रस्तुति दिनेछ । जसको जानकारी पनि कार्यक्रममै दिइएको हो । जहाँ, दर्शकले ब्याण्डका सदाबहार हिटसँगै नयाँ गीत पनि सुन्न पाउनेछन् । यी तीन सहरको मिति पनि तय हुन बाँकी कार्यक्रममा जानकारी दिइयो । 

ब्याण्डको भोकलमा विवेक स्वयम छन् भने ड्रम्समा सुनिल थापा छन् । लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक, किबोर्डमा उमेश थापा रहेका छन् । 

कार्यक्रममा ब्याण्डले विश्व टूरको घोषणा समेत गरेको छ । सन् २०२५ को जनवरीमा बेलायत र दुबईदेखि वल्र्ड टूर सुरु हुनेछ । त्यसपछि जापान, अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानडा र युरोपमा कार्यक्रम गर्नेछ ।

कन्दराको ‘लेककी हे माया’, ‘तिमी पारि’, ‘हङकङ पोखरा’ ‘फूल्चोकीको डाँडैमा’, ‘तगारोमा रुमाल राखी’ लगायतका थुप्रै गीत चर्चित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप