शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

यस्तो पनि हुन्छ क्रिकेटमा, आठ विकेट गुमाउँदा केवल एक रन !

शुक्रबार, ०९ कात्तिक २०८१, १५ : २४
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । विश्व क्रिकेटमा बेला बखत गजबका घटनाहरू हुन्छन् । अस्ट्रेलियाको घरेलु क्रिकेटमा शुक्रबार यस्तै एउटा रोचक घटना भएको छ । वेस्टर्न अस्ट्रेलिया र तास्मानियाबिच एकदिवसीय (५० ओभरको) खेल खेलिएको थियो ।

त्यो खेलमा वेस्टर्न अस्ट्रेलियाले २०.१ ओभरमा अलआउट हुनुअघि ५३ रन बनाएको थियो । रमाइलो पक्ष त के हो भने, कुनै समय वेस्टर्न अस्ट्रेलियाले केवल दुई विकेट गुमाएर ५२ रन बनाएको थियो । तर, बाँकी आठ विकेट गुमाउँदा वेस्टर्न अस्ट्रेलियाले एक रनमात्र थप्न सक्यो । अस्ट्रेलियाको ५० ओभरको घरेलु क्रिकेटको इतिहासमा यसअघि कहिल्यै यस्तो घटना भएको थिएन ।

साविक विजेता समेत रहेको वेस्टर्न अस्ट्रेलिया लगातार तीन पटक यो प्रतियोगिताको उपाधि चुम्ने टोली पनि हो । पर्थमा खेलिएको त्यो खेलमा तास्मानियाका तिब्रगतिका बलर बेउ वेबस्टर र विली स्टानलेकले मिलेर पछिल्ला आठ विकेट लिएका थिए ।

पछिल्ला आठ विकेट गुमाउँदा वेस्टर्न अस्ट्रेलियाले त्यो एक रन पनि वाइडमार्फत पाएको थियो । बेउ वेबस्टरले केवल १७ रन खर्चिएर ६ विकेट लिए । त्यो खेलमा विली स्टानलेकले भने १२ रन खर्चिएर तीन विकेट लिएका थिए ।

वेस्टर्न अस्ट्रेलियाका पाँचौँदेखि १०औँ नम्बरसम्मका ब्याट्सम्यानले खातासम्म खोल्न सकेका थिएनन् । जवाफी ब्याटिङमा ओर्लिएको तास्मानियाले भने ८.३ ओभरमै केवल तीन विकेट गुमाएर जित हासिल गरेको थियो ।

अझ रमाइलो पक्ष त के हो भने, वेस्टर्न अस्ट्रेलियन टोलीमा रहेका ११ जना खेलाडीले नै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । अस्ट्रेलियाको उक्त घरेलु प्रतियोगिताको इतिहासमा बनेको यो दोस्रो कम योगफल हो । यसअघि सन् २००३ मा दक्षिण अस्ट्रेलियाको टोली तास्मानियाविरुद्ध केवल ५१ रन बनाउँदै अलआउट भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप