शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेट

भारतीय ब्याट्सम्यानहरुको निराशाजनक प्रदर्शन, पहिलो पालीमा १५६ रनमै समेटियो

शुक्रबार, ०९ कात्तिक २०८१, १३ : ०६
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा भारतले निराशाजनक प्रदर्शन गरेको छ । दोस्रो टेस्टको दोस्रो दिन शुक्रबार भारतीय टोली आफ्नो पहिलो पालीमा केवल एक सय ५६ रन बनाउँदै अलआउट भयो ।

पहिलो पालीमा भारतीय टोलीका ब्याट्सम्यानहरु ४५.३ ओभरमात्र क्रिजमा टिक्न सके । भ्रमणकारी टोली न्युजिल्यान्डले पहिलो पालीमा बनाएको रनभन्दा भारतीय टोली अझै एक सय तीन रनले पछाडि रहेको छ ।

पुणेमा जारी उक्त टेस्टमा भारतका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिकेटमा टिक्न सकेनन् । ओपनर यशस्वी जैसवालले ३० रन बनाए । कप्तानसमेत रहेका अर्का ओपनर रोहित शर्मा त खाता खोल्नुअघि नै पेभेलियन फर्किए ।

युवा ब्याट्सम्यान शुभमन गिलले पनि टोलीको खातामा ३० रनमात्र थप्न सके । अनुभवी ब्याट्सम्यान विराट कोहली केवल एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त पनि १८ रनभन्दा अगाडि बढ्न सकेनन् ।

सरफराज खान पनि केवल ११ रन बनाउँदै आउट भए । रविचन्द्रन आश्विन पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । रविन्द्र जडेजाले ३८ रन बनाए । वासिङ्टन सुन्दरले टोलीको खातामा अविजित १८ रन थपे । आकाश दीप ६ रनमा आउट भए ।   

भ्रमणकारी टोली न्युजिल्यान्डका बलर मिचेल सान्टनर एक्लैले सात विकेट लिए । उनले १९.३ ओभरमा एक मेडन राख्दै केवल ५३ रन खर्चिए । ३३ औँ वर्ष प्रवेशको सँघारमा रहेका प्रभावशाली स्पिनर सान्टनरको टेस्ट क्रिकेटमा यो हालसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

ग्लेन फिलिप्सले पनि दुई विकेट हात पारे । टिम साउथीले एक विकेट लिए । त्यसअघि, दोस्रो टेस्टमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको न्युजिल्यान्डले आफ्नो पहिलो पालीमा दुई सय ५९ रन बनाएको थियो । न्युजिल्यान्डको टोली आफ्नो पहिलो पालीमा ७९.१ ओभरमा अलआउट भएको थियो ।

न्युजिल्यान्डका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । ओपनर डेभोन कनवेले ७६ रन बनाएका थिए । उनले एक सय ४१ बलको सामना गरी ११ चौका पनि हिर्काएका थिए । ३३ वर्षीय कनवेले टेस्ट क्रिकेटमा बनाएको यो ११ औँ अर्धशतक हो ।

रचिन रविन्द्रले पनि न्युजिल्यान्डको खातामा ६५ रन थपेका थिए । उनले एक सय पाँच बलको सामना गरी एक छक्का र पाँच चौका पनि हिर्काएका थिए । २४ वर्षीय रचिनले टेस्ट क्रिकेटमा बनाएको यो चौटो अर्धशतक पनि हो ।

यसका अतिरिक्त न्युजिल्यान्डका लागि मिचेल सान्टनरले ३३ रन बनाएका थिए । अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेको थिएन । भारतका बलर वासिङ्टन सुन्दर एक्लैले सात विकेट लिएका थिए । उनले २३.१ ओभरमा चार मेडन राख्दै ५९ रन खर्चिए ।

२५ वर्षीय वासिङ्टन सुन्दरको टेस्ट क्रिकेटमा यो हालसम्मकै उत्कृष्ट प्रदर्शन हो । रविचन्द्र आश्विनले पनि तीन विकेट हात पारेका थिए । भारतविरुद्धको तीन टेस्टको शृंखलामा न्युजिल्यान्ड १–० ले अगाडि छ । शृंखलाअन्तर्गतको पहिलो टेस्टमा न्युजिल्यान्ड आठ विकेटले विजयी भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप