शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
मौसम

नेपालमा ‘दाना’ चक्रवातको असर कति  ? यस्तो हुँदैछ मौसम

शुक्रबार, ०९ कात्तिक २०८१, १२ : २२
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको दाना चक्रवातको सामान्य असर नेपालमा पनि देखा परेको छ । कोशी प्रदेशका केही स्थानहरूमा वर्षा भएको छ भने कोशी, मधेस, बागमती प्रदेशमा बादल लागेको छ । 

दाना चक्रपातको सबैभन्दा धेरै असर भारतको ओडिसा, पश्चिम बंगालमा पर्ने भएपनि नेपालबाट यसको दुरी धेरै रहेको कारण यहाँ भने सामान्य असर देखिएको हो । आजदेखि नै नेपालमा यसको असर कमजोर हुँदै जाने जल तथा मौसम विभागका मौसमविद गोविन्द झाले रातोपाटीलाई जानकारी दिए । 

झाले भने– ‘बङ्गालको खाडी आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली बनेको थियो, त्यो चक्रपात बिस्तारै जमिनतर्फ प्रवेश गरिसकेको छ । समुन्द्रबाट बिस्तारै जमिनतर्फ प्रवेश गरेको चक्रवातको असर बिस्तारै कम हुँदै जान्छ । अहिले चक्रपात कमजोर अवस्थामा आइसकेको छ । आजदेखि नै यसको प्रभाव कमजोर हुँदै जान्छ ।’ 

नेपालमा दाना चक्रवातको सामान्य असर परिसकेको बताउँदै उनले  विभिन्न स्थानमा बदली भइरहेको बताए । कोशी प्रदेशका केही स्थानमा वर्षा भए पनि दाना चक्रपात नेपालभन्दा अलि पर भएकोले त्यसको आंशिक प्रभाव मात्र रहेको झाले बताए । 

उनले भने– ‘कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशमा बादल लागिरहेको छ । चक्रवातको असर घट्दै गइरहेको छ । अब धेरै असर पर्ने अवस्था छैन । आज बदली भए पनि भोलीबाट यसको प्रभाव घट्दै छ ।’

मनसुन सकिए पनि अब नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण कतै कतै पानी पर्ने अवस्था अझै पनि रहने मौसमविद् झाले बताए । जाडो मौसममा बिस्तारै पश्चिमी वायुको प्रभाव पर्दै जाने उनले बताए । 

यस्तो छ भोली र पर्सिको मौसमको अवस्था 

जल तथा मौसम विभागका अनुसार भोली शनिवार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली हुनेछ भने कतै सफा रहने छ । पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै आइतबार पनि कोशी प्रदेश लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदली देखि कतै मौसम सफा रहने छ । देशका पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप