शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
फेस्टिभल क्याम्प

अरूसँग नदाँज्नु, आफ्नो रुचि र क्षमताका आधारमा लक्ष्य बनाउनु – अभिनेत्री अधिकारी

शुक्रबार, ०९ कात्तिक २०८१, ११ : ५३
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । अरूसँग दाँजेर आफूलाई हीन बोध नगर्न विद्यार्थीहरूलाई सुझाव दिँदै चलचित्र निर्माता तथा अभिनेत्री केकी अधिकारीले बाल्यकालको मिठास उपयोग गर्ने र भविष्य बनाउने दुवै अवसर विद्यालय तहमा नै प्राप्त हुने भएकोले यसलाई राम्ररी उपयोग गर्न आग्रह गरेकी छिन् । 

‘कालो हुनु, गोरो हुनु, अग्लो हुनु, होचो हुनु, भनेको जस्तो अवस्था नहुनु । यी कुनै पनि अवस्थाले सफल हुनलाई असर गर्दैन । तपाईँ जस्तो हुनुहुन्छ । त्यही अवस्था सबैभन्दा उपयुक्त अवस्था हो । सफल हुन धैर्यता र मिहिनेत चाहिन्छ । सबै सफल मान्छेमा धैर्यता र मिहिनेत पाइन्छ ।’ काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘फेस्टिभल क्याम्प’ को प्रभावशाली व्यक्तित्वसँग साक्षात्कार कार्यक्रममा उनले बिहीबार शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा भेला भएका विद्यार्थीसँग यस्तो बताएकी हुन् । त्यहाँ कक्षा १० मा अध्ययनरत ९ वटा विद्यालयका विद्यार्थीहरू उपस्थित थिए । 

‘तपाईँ त पढ्नमा तेज हुनुहुँदो रहेछ, चलचित्र क्षेत्रमा किन आउनुभयो?’ विद्यार्थीले सोधेको प्रश्नको जवाफमा अभिनेत्री अधिकारीले भनिन्, ‘चलचित्र प्रतिष्ठित क्षेत्र हो । यो क्षेत्रमा काम गर्न शैक्षिक योग्यता र सिप दुवै चाहिन्छ । अहिले त चलचित्र विषय अध्ययन नै हुन थालेको छ । यही विषय अध्ययन गरेर भविष्य बनाउने सम्भावना छ ।’ 

उनीहरूको प्रश्नबाट थाहा हुन्छ । राम्ररी अध्ययन नगरेका व्यक्ति मात्र चलचित्र क्षेत्रमा छन् भन्ने उनीहरूलाई लागेको छ । यो प्रश्नभित्रको मनोविज्ञान हेर्ने हो भने विद्यालय तहका विद्यार्थीहरूले चलचित्र क्षेत्रमा भविष्य सोचेका छैनन् । जीवनको लक्ष्यमा चलचित्र क्षेत्र राखेका छैनन् । के यी विद्यार्थीहरूमा कलाकार बन्ने चाहना नभएर लक्ष्य नबनाएका हुन् त? 

इच्छा हुन सक्छ तर आफूमा भएको रुचि व्यक्त गर्ने अवसर नपाएको हुन सक्छ । या कलाकार बन्ने भन्दा परिवार र व्यक्तिले समर्थन नगर्लान् भनेर रुचि दबाएका हुन सक्छन् । शिक्षामा यस प्रकारको सीमितता घटाउँदै क्रमशः हटाउन महानगरपालिकाले शैक्षिक नतिजा सुधारसँगै दबिएका लक्ष्य उजागर गर्ने उद्देश्यले क्याम्प आयोजना गरेको हो । सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झा भन्छन्, कलाकारहरूसँग भेटेर कुरा गर्दा धेरै विद्यार्थीहरूले व्यक्त गर्न नसकेका तर मनमा भएका रुचिका बारेमा मूल्याङ्कन गर्न पाएका छन् । 

विद्यार्थीहरूसँग कुरा गर्दै अभिनेत्री अधिकारीले भनिन्, ‘माध्यमिक तहमा अध्ययनरत रहँदा आफूले कहिल्यै पनि अभिनेत्री हुन्छु भन्ने सोचेकी थिइनँ । एमबिबिएसको प्रवेश परीक्षाको तयारी गर्दागर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेँ । त्यसपछि मैले ३३ वटा चलचित्रमा काम गरिसकेँ । त्यसमा अधिकांश औसत रहे । ती चलचित्रले मलाई खास बनाउन सकेनन् । केही चलचित्र यस्ता रहे जुन चलचित्रले मलाई चिनाए । सफल भएको महसुस गराए । त्यसैले म त भन्छु, एकपटक असफल हुँदैमा निराश हुनुपर्दैन । औसत नतिजा आउँदा हारेको महसुस गर्नुहुँदैन । धैर्यता र निरन्तर प्रयासले एक दिन उचाइमा पुर्‍याउनेछ ।’ 

‘तपाईँहरु त धेरै आत्मविश्वाशी हुनुहुन्छ ।’ उनले आफू कक्षा १० मा पढ्दा धेरै लजालु, कसैसँग नबोल्ने स्वभावको रहेको सुनाइन् । ‘मेरो बाबा हेडसर भएको स्कुलमा पढ्थेँ । केही गलत जस्तो देखियो भने हेडसरकी छोरी भन्थे । यसकारण धेरै संयमित हुनुपर्थ्यो । अहिले सम्झँदा लाग्छ, त्यो संयमताले मेरो बाल्यकालका केही महत्त्वपूर्ण अनुभव गर्ने अवसर छुटे ।’ उनले विम्ब प्रयोग गर्दै भनिन् । 

 उनले यति भनिरहँदा विद्यार्थीहरूले भने, पढेको मान्छे डाक्टर इन्जिनियर बन्न छोडेर किन चलचित्रमा आउनु भो भन्ने प्रश्न दोहोर्‍याएर सोध्न छाडेनन् । यसको जवाफमा उनले भनिन्, ‘धेरै पढेर डाक्टर, पाइलट वा इन्जिनियर नै बन्ने वा नपढेका मानिस चलचित्रतिर जाने भन्ने होइन । चलचित्र प्रविधि, प्राविधिक र साहित्यजस्ता विभिन्न विधासँग सम्बन्ध राख्ने पेसा हो । यस क्षेत्रमा आउन शैक्षिक योग्यतासँगै अभिनय, नृत्य, साहित्यको बोध जस्ता धेरै भाव जान्न सक्ने हुनुपर्छ । फेरि अरु पेसा उत्कृष्ट चलचित्र पेसा तल्लो भन्ने हुँदै होइन । यो पेसा अरु जत्तिकै  महत्त्वपूर्ण छ । सबै पेसाको प्रतिष्ठा उत्तिकै उचाइमा छ । म यदि कलाकार नबनेर डाक्टर बनेको भए अहिले जत्तिको खुसी हुन पाउने थिइन होला । त्यसैले पेसा छान्दा आफूलाई खुसी दिने पनि हुनुपर्छ ।’

महानगरपालिकाले कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई पढाइप्रति रुचि जगाउन र विद्यालय परिसरमा प्राप्त नहुने अवसरमा अभ्यस्त गराउन ‘फेस्टिभल क्याम्प’ गरिरहेको छ । १६ वटा स्रोत केन्द्रसहित १६ वटा विद्यालयमा क्याम्पअन्तर्गतका क्रियाकलाप सञ्चालन भइरहेका छन् । सहायक विज्ञ सस्मित पोखरेल भने, ‘क्याम्पमा किताब पढाइँदैन । तर, कितावमा भएका विषयहरूलाई खेल, परियोजना र प्रयोगका माध्यमबाट बोध गराइन्छ । विद्यार्थीहरूलाई खेलेको जस्तो लाग्छ । तर, किताबका ज्ञान सिकिरहेका हुन्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप