नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय
लहान । गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला उल्लास छाएको छ । छठपर्व नजिकिएसँगै बाँसको नाङ्लो बनाउन उनीहरूलाई भ्याइनभ्याइ छ । बिहान झिसमिसेदेखि साँझ झमक्क हुँदासम्मको दिनचर्या बाँसका सामग्री बनाउँदै बित्छ लहान–१७ वलानसेरका सदाय समुदायको ।
“कात्तिक लाग्नेबित्तिकै बिहानदेखि बेलुकासम्म नाङ्ला बनाउँदै दिन बित्छ । यतिबेला बजारमा नाङ्लाको माग बढी भएकाले आम्दानी पनि हुन्छ”, नाङ्लो बुन्दै गरेका छोटकुन सदायले भने, “यो उल्लासको समय होे । जीवनका हरेक दुःख बिर्सेर मिठोमसिनो खाने र राम्रो लगाउने पर्व हो । त्यसका लागि पैसाको जोहो गर्नुपर्यो ।”
बाँसका सामग्री बेचेर परिवारको जोहो टरेको उनले बताए । छोटकुनका अनुसार पाँच दिनमा झण्डै १८ वटा नाङ्लो तयार हुन्छ । उमेरले ४५ वर्ष टेकेका उहाँ यही पेसामा रमाइरहेका छन् । उनले भने, “बाउबाजेले यही काम गर्दै आएकाले आफूलाई पनि यही काम सजिलो लाग्छ । विदेशमा पसिना बगाउनुभन्दा परिवारसँगै बसेर काम गर्दाको मज्जा अर्कै हुन्छ । परिवारका सबै सदस्यले मिलेर काम गर्दा काम गरेको पनि महसुुस नभई नाङ्लो तयार हुन्छ ।”
सोही ठाउँका सियादेवी सदायको पनि दिनचर्या उस्तै छ । “बाहिर अन्य काम नपाउँदा नाङ्ला बेचेर घरको जोहो टार्नुभएको छ । वर्षभरि अन्य महिनामा नाङ्लोको व्यापार कम भए पनि छठमा नाङ्लाको व्यापार गरेर केही महिनालाई गुजारा गर्न पुग्छ । यतिबेला बनाउँदै बेच्दै फुर्सद छैन”, सियादेवीले भनिन् ।
एउटा बाँसबाट सात वटासम्म नाङ्लो तयार गर्न सकिने सियादेवीले बताइन् । नाङ्लो बनाउने बाँस सप्तरीको सिसवारबाट प्रतिघना रु दुई सय ५० का दरले ल्याउनुपर्ने र नाङ्लो बाँध्न बेत पनि बाहिरबाट नै ल्याउनुपरेकाले नाङ्लाको मूल्य बढी पर्न गएको पनि उनले जानकारी दिइन् ।
आफ्नो सीप र कलाको प्रयोग गरेर आकर्षक सामग्री बनाउने यहाँका सदय परिवारको यस परम्परागत पेसाको प्रवर्द्धनका लागि अहिलेसम्म कसैले पनि कुनै प्रकारको सहयोग नगरेको गुनासो छ । लहानको गुदीगाँउ, भदैया, खेस्राहालगायत ठाउँमा नाङ्लो बनाएर बेच्ने व्यवसाय उल्लेख्य मात्रामा छ । अन्य समयमा एउटा नाङ्लो रु दुई सय २० मा बिक्री हुने नाङ्लो चाडपर्वमा रु चार सयसम्म घरैमा आएर व्यापारीले लैजाने गरेका छोटकनले बताइन् ।
छठपर्वमा पूजाका सामग्री राख्न बाँसको सामग्रीमा राखेर पूजा गर्दा शुद्ध हुने मान्यता भएको हुँदा छठपर्वमा यसको माग बढी भएको स्थानीय बताउँछन् । अन्य समयमा बजारमा लगेर सस्तो दाममा बेच्नुपर्ने तर छठपवका बेला व्यापारी टोलमा नै आएर किनेर लग्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालको पात बेचेर खर्च जुटाउँदै महिला
-
तनहुँको सयपत्री कतार निर्यात
-
सरसफाइमा सक्रिय महिला कामदार
-
पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’
-
किसानले पाल्न छोडे हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी
-
१२ बजे, १२ समाचार : 'बंगलादेशसँग हारेपछि प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी' देखि 'धनराज गुरूङमाथि अनुसन्धान गर्ने गृहमन्त्रीको भनाइ'सम्म