शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
बेथिति

त्रिभुवन विश्वविद्यालयका डीन लगायतको नियुक्तिमा किन भइरहेको छ ढिलाइ ?

शुक्रबार, ०९ कात्तिक २०८१, १० : ५३
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न संकायका डीन लगायतका पदमा नियुक्ति गर्न ढिलाइ गरिरहेको छ । छनोट समितिले सर्टलिष्ट तयार पारेर सिफारिस गरिसकेको अवस्थामा समेत नियुक्तिमा ढिलाइ गरेको हो ।

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय अन्तर्गत बनेको छनोट समितिले गत भदौ १७ गते सूचना जारी गरेर विभिन्न ८ सङ्कायका डीन, ६ जना सहपरीक्षा नियन्त्रक, २ जना निर्देशक, ११ क्याम्पस प्रमुख लगायतका लागि आवेदन माग गरेको थियो ।

समितिले योग्यता र कार्यसम्पादनका आधारमा छनोट गरेर शिक्षाध्यक्षको कार्यालयलाई बुझाइसकेको छ । तर, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले हालसम्म नियुक्त गर्न सकेको छैन ।

शिक्षाध्यक्ष प्राडा खड्क केसीले हालसम्म तीन सङ्कायका डीनको लागिमात्रै सिफारिस आएको बताए । सबै सङ्कायका डीनको सिफारिस आएपछि एकै पटक नियुक्त गर्ने भनेर रोकिएको उनको भनाइ छ ।

‘अहिलेसम्म तीन वटा सङ्कायका डीनका लागि सिफारिस आएका छन् । समितिले बाँकीको अन्तर्वार्ता तथा प्रस्तुतिकरणको काम गरिरहेको छ । सबैको सकिएर आएपछि एकैपटक नियुक्ति गर्ने रोकेका छौँ,’ केसीले भने ।

आवेदन माग गरेको लामो समयसम्म पनि नियुक्ति नहुँदा चौतर्फी रूपमा चासो व्यक्त हुँदै आएको छ । धेरैले यसलाई शङ्काको दृष्टिकोणले हेरेका छन् ।

त्रिभुवन विश्वविद्यालयले पहिलो पटक त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ तयार पारेको थियो । सोही आधारमा त्रिभुवन विश्वविद्यालयले विभिन्न पदमा पहिलो पटक मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्न लागेको हो ।

समितिले त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम १७५ (२) र त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद २ अनुसार अध्ययन संस्थान र संकायका डीनका लागि आवेदन माग गरेको थियो । त्यही विनियमको परिच्छेद ४ को विनियम ७ बमोजिम शिक्षा तथा विकास अनुसन्धान केन्द्र्र (सेरिड)को कार्यकारी निर्देशक र परिच्छेद १० को विनियम १९ बमोजिम योजना निर्देशनालयको निर्देशक पदका लागि आवेदन माग गरेको थियो ।

त्यस्तै परीक्षा नियन्त्रण कार्यालय सम्वन्धी विनियम २०७३ परिच्छेद २ को ३ (२) का साथै त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद १६ बमोजिम परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका लागि ६ जना सहपरीक्षा नियन्त्रक पदका लागि आवेदन माग गरेको थियो ।

सहपरीक्षा नियन्त्रकका लागि ३० जनाको अल्पसूची (सर्टलिष्ट) सार्वजनिक गरिएको छ । छनोट समितिले ६ जना पदका लागि आवेदन दिएका ६५ जनामध्ये ३० जनाको सर्टलिष्ट तयार पारेको हो ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुका लागि २ जना र पोखरा, नेपालगञ्ज, विराटनगर र मधेस प्रदेशका लागि १/१ जनाको आवेदन माग गरिएको थियो । उनीहरूको अन्तर्वार्ता कात्तिक १२ देखि १४ गतेसम्म रजिष्ट्रारको कार्यालयमा हुनेछ ।

बल्खुका लागि २२ जनाले आवेदन दिएका थिए । तीमध्ये १० जना सर्टलिष्टमा परेका हुन् ।

हालसम्म मानविकी तथा सामाजिक शास्त्र सङ्काय, इन्जिनियरिङ अध्ययन संस्थान र चिकित्साशास्त्र अध्ययन संस्थानको डीनका लागि सिफारिस भएका छन् । त्यसका लागि सर्टलिष्टमा रहेकामध्ये प्रस्तुति र अन्तर्वार्ताको आधारमा ३/३ जनाको नाम सिफारिस गरिएको हो ।

त्यस्तै पोखरा क्षेत्रीय कार्यालयका लागि १५ जनाको आवेदन परेको थियो । नेपालगञ्जका लागि १३ जना, मधेस प्रदेशका लागि ९ जना र विराटनगर क्षेत्रीय कार्यालयका लागि ६ जनाको आवेदन परेको थियो ।

छनोट समितिले हालसम्म तीन वटा सङ्कायका डीनका लागि सिफारिस गरिसकेको छ । बाँकी सङ्कायका सर्टलिष्टमा परेका उम्मेद्वारहरूको प्रस्तुति तथा अन्तर्वार्ताको काम गरिरहेको छ ।

हालसम्म मानविकी तथा सामाजिक शास्त्र सङ्काय, इन्जिनियरिङ अध्ययन संस्थान र चिकित्साशास्त्र अध्ययन संस्थानको डीनका लागि सिफारिस भएका छन् । त्यसका लागि सर्टलिष्टमा रहेकामध्ये प्रस्तुति र अन्तर्वार्ताको आधारमा ३/३ जनाको नाम सिफारिस गरिएको हो ।

त्रिभुवन विश्वविद्यालयले पहिलो पटक त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ तयार पारेको थियो । सोही आधारमा त्रिभुवन विश्वविद्यालयले विभिन्न पदमा पहिलो पटक मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्न लागेको हो ।

त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, कृषि र पशुविज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा डीनका लागि आवेदन माग गरेको थियो । त्यसैगरी व्यवस्थापन सङ्काय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय र शिक्षाशास्त्र सङ्कायको डीनका लागि आवेदन माग गरेको थियो ।

क्याम्पस प्रमुख छनोट समितिले काठमाडौँ उपत्यकाका तीनसहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको थियो ।

समितिले पोखरा क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौँ, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौँ, पाटन संयुक्त क्याम्पस पाटनढोका, ललितपुर क्याम्पस, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि समितिले दरखास्त माग गरेको थियो ।

त्यसको छनोट प्रक्रिया जारी रहेको नसकिएको रेक्टर केसीले बताए । ‘समितिले काम गरिरहेका छन् । सर्ट लिष्टको काम सकिएको छ । प्रस्तुति र अन्तर्वार्तापछि समितिले सिफारिस पठाएपछि नियुक्ति हुनेछ,’ केसीले भने ।

समितिले सिफारिस गरेको आधारमा त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले नियुक्त गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप