आइतबार, ०२ मङ्सिर २०८१
ताजा लोकप्रिय

ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको पूर्वमोडलको आरोप

शुक्रबार, ०९ कात्तिक २०८१, १० : १९
शुक्रबार, ०९ कात्तिक २०८१

वासिङ्टन । एक पूर्व स्वीमसुट मोडलले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । यो घटना सन् १९९० को दशकतिर भएको उनको दाबी छ ।

एक अन्तर्वार्तामा स्टेसी विलियम्सले सन् १९९० को दशकको सुरुवातमा ट्रम्प टावरमा रहेको ट्रम्प अफिसमा भएको उक्त घटनाको बारेमा विस्तृत कुरा गरेकी हुन् । विलियम्स त्यतिबेला २० वर्ष आसपासको उमेरकी थिइन् र त्यतिबेला उनले जेफरी एप्सटिनलाई डेट गरिरहेकी थिइन् ।

सीएनएनका अनुसार उसले यस घटनाबारे विलियम्सका तीन साथीहरूसँग पनि सोधपुछ गरेको छ । तीनै साथीहरूले ट्रम्प र एप्सटिनसँग भएको यो घटनाबारे विलियम्सले उनीहरूसँग क्रमशः सन् २००६, २०१५ र २०१८ मा नै कुराकानी गरेको सुनाएका छन् ।

विलियम्सका अनुसार सन् १९९३ मा उनी र एप्सटिन न्युयोर्क सिटीको फिफ्त एभेन्यूमा हिँडिरहेका थिए । त्यतिबेला एप्सटिनले उनलाई ट्रम्पसँग भेटाउन ट्रम्प टावर लगेका थिए ।

ट्रम्पले उनीहरूलाई उनको अफिसबाहिर भेटेर स्वागत गरेका थिए । ‘अर्को सेकेन्डमा उनी मेरो अगाडि थिए । त्यसपछि उनले मलाई आफूतिर ताने, उनको हात ममाथि थियो ।

त्यसपछि उनको हात त्यहाँबाट हटेन,’ विलियम्सले भनिन्, ‘बिस्तारै ट्रम्पले आफ्नो हात मेरो स्तन, मेरो नितम्बमा पुर्‍याउन थाले । म स्तब्ध थिएँ । के भइरहेको छ भन्ने मैले बुझ्नै सकिनँ ।’

‘ट्रम्पले यसो गरिरहँदा उनी एप्सटिनसँग हाँसेर कुराकानी गरिरहेका थिए,’ उनले भनिन् । एप्सटिनलाई देखाउनकै लागि ट्रम्पले यस्तो हर्कत गरेको विलियम्सको दाबी छ ।

उक्त घटनाको केही दिनपछि ट्रम्पले विलियम्सको मोडलिङ एजेन्सीमा पाम बिचमा रहेको उनको मार–ए–लागो रिसोर्टको तस्बिरसहितको पोस्ट कार्ड पठाएका थिए । जसमा लेखिएको थियो– स्टेसी, तिम्रो घरभन्दा टाढाको घर । धेरै माया, डोनाल्ड ।

यता, ट्रम्पको अभियानले विलियम्सको आरोपको अस्वीकार गरेको छ । विलियम्स राष्ट्रपति पदकी उम्मेदवार रहेकी उपराष्ट्रपति कमला ह्यारिसको अभियानसँग जोडिएको अभियानको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप