शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

युरोपा लिग फुटबल : रिचार्लिसनको गोलमा टोट्टनहामको रोमाञ्चक जित

शुक्रबार, ०९ कात्तिक २०८१, ०९ : २२
शुक्रबार, ०९ कात्तिक २०८१

काठमाडौँ । युरोपा लिग फुटबलको बिहीबार राति खेलिएको लिग चरणको खेलमा इङ्लिस क्लब टोट्टनहामले रोमाञ्चक जित हात पारेको छ । टोट्टनहामले नेदरल्यान्ड्सको एजेड अल्कमारलाई १–० गोलले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा टोट्टनहामले गोल गरेको थियो । निर्धारित समयको ५३औँ मिनेटमा टोट्टनहामका लागि रिचार्लिसनले पेनाल्टीमार्फत गोल गरेका थिए । सोही गोल नै टोट्टनहामलाई तीन अंक दिलाउन पर्याप्त भयो ।  

लिग चरणको खेलमा टोट्टनहाम हालसम्म अपराजित छ । तीनवटै खेलमा जित हात पारेको टोट्टनहाम नौ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । हालसम्म तीनवटा क्लबले मात्र तीनवटै खेलमा जित हात पारेका छन् ।

इटालियन क्लब लाजियो तीनवटै खेल जित्दै नौ अंकसहित पहिलो र बेल्जियन क्लब एन्डरलेच्ट नौ अंकसहित तेस्रो स्थानमा छन् । एजेड अल्कमार भने अंक तालिकाको २४औँ स्थानमा छ । अल्कमारले तीनमध्ये एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ ।

घाइते भएका कारण लोमा समय मैदान बाहिर रहेका रिचार्लिसनले टोट्टनहाममा उत्कृष्ट पुनरागमन गरेका हुन् । खेलका क्रममा अल्कमार १० खेलाडीमा समेटिएको थियो । निर्धारित समयको खेल सकिनुभन्दा पाँच मिनेटअघि एजेड अल्कमारका डेभिड मोलेर दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप