शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

सुप्रिम सहकारी ठगी प्रकरणमा ४० जना मुछिए, थुनामै रहेकालाई समेत पक्राउ पुर्जी !

शुक्रबार, ०९ कात्तिक २०८१, ०८ : ००
शुक्रबार, ०९ कात्तिक २०८१

बुटवल । बुटवलको सुप्रिम सहकारी रकम अपचलनबारे  छानबिन गर्नको लागि पक्राउ पुर्जी जारी हुनेको सङ्ख्या ४०  पुगेको छ। सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ७८ करोड रकम अपचलन  भएपछि अनुसन्धान  प्रक्रिया अघि बढेको हो । 

गत वैशाख ३ गते प्रहरीले सहकारीको रकम ठगी गर्ने  २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । बिहीबार पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी सहित १२  जनालाई जिल्ला अदालत रुपन्देहीबाट अनुसन्धानको लागि पक्राउ पुर्जी  जारी भएको छ ।

यस अघि २८ जना मध्ये  ८ जना पक्राउ परेका छन् । जसमा  २ जना कास्की र एक जना रुपन्देही कारागार रहेका छन् भने ५ जना धरौटीमा रिहा भएका छन्।  जीवी राईसहित अन्य व्यक्तिहरू वैशाखदेखि फरार रहेका छन् । 

सहकारीको रकम ठगी प्रकरणमा  पूर्व गृहमन्त्री लामिछाने र  पूर्व डिआइजी जोशी पोखराको सूर्य दर्शन सहकारीको रकम अपचलनको आरोपमा जिल्ला अदालत कास्कीको आदेशमा थुनामा रहेका छन् ।  लामिछाने र जोशीसहित बिहीबार पक्राउ पुर्जी जारी हुनेमा  रुपन्देहीका दीपक लामा, अनन्तबाबु राई (जीवी राईको भाइ), नरेश जिसी, शिवबहादुर गुरुङ, श्रीबल्लव नेपाल, विशाल तामाङ , रविना रिमाल, भगवती बमजन, विज्ञान राई, सुरक्षा अधिकारी रहेका छन् । 

प्रहरीले ती सबैलाई अनुसन्धानको लागि पक्राउ गरेर मुद्दा दायर गर्ने तयारी गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी  विजय  पण्डितले आर्थिक अनुसन्धानको  पाटो  एकै पटक सबै नखुल्ने भएकोले जोडिएका सबै व्यक्तिमाथि मुद्दा चल्न पनि सक्ने, अनुसन्धान गर्दा मुद्दा नचल्न पनि सक्ने रातोपाटीलाई बताए।  उनले यसअघि २८ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भइरहेको खुलाउँदै बाँकी अहिले पक्राउ पुर्जी जारी भएका पनि अनुसन्धान सकिएपछि पूरक मुद्दा दायर हुने खुलाए। 

सुप्रिममा रवि र छवि कति रकममा मुछिए  ?

देशमा  विभिन्न सहकारीको रकम अपचलनमा मुछिएका रवि लामिछाने र छविलाल जोशी बुटवलको सुप्रिम सहकारी रकम संगठीत ठगी गरेको मुद्दामा प्रहरीले पक्राउ गर्ने अनुमति पाएको हो।  यद्यपि उनीहरू  पक्राउ नै परि सकेकोले अनुसन्धानको लागि कास्कीबाट रुपन्देही ल्याउनको लागि  कानुनले बाटो छेकेको थिएन । 

eeeeeeeeeeeeeeeeeeee (1)

बुटवलको सुप्रिम सहकारीबाट  १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडियामा गएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त  मिडियाको अध्यक्ष जीवी राई हुन् भने जोशी पूर्वउपाध्यक्ष हुन् । जसमा जोशीको नामबाट २ करोड ५० लाख रुपैयाँ र रविको नामबाट २ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको छ ।

गोर्खा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टिभी सञ्चालनमा ल्याएको थियो । गोर्खा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यस बेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो ।

टिभी सञ्चालनमा आएको वर्ष दिन नपुग्दै ७ पुस २०७८ मा लामिछाने १ लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए । त्यो बेला राईसँग ८० प्रतिशत (१० लाख २० हजार कित्ता) र रविसँग १५ प्रतिशत शेयर थियो । त्यस्तै कुमार रम्तेल, भूपेन्द्रबाबु राईलगायतको पनि शेयर रहेको थियो ।

सुप्रिम सहकारीको रकम गैर कानुनी रूपमा सारिएको विषयमा जोशीसँग यसअघि नै  रुपन्देहीमा दुई दिन बयान लिएर पोखरा पठाइएको छ । 

rupandahi adalat

रवि अहिले पोखरामा सूर्य दर्शन सहकारीको रकम ठगीमा अनुसन्धानमा छन् । उनलाई प्रहरीले छिट्टै रुपन्देही ल्याएर सुप्रिम सहकारी विषयमा अनुसन्धान गर्ने तयारीमा रहेको छ । अन्य अदालतले पुर्जी जारी भएकालाई पनि पक्राउ गरेर अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

sssssssss

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप