शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

शुक्रबार, ०९ कात्तिक २०८१, ०६ : १८
शुक्रबार, ०९ कात्तिक २०८१

वि.सं. २०८१ साल कार्तिक ९ गते । शुक्रबार । ईश्वी सन् २०२४ अक्टोबर २५ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४५ । कार्तिक कृष्णपक्ष । तिथि– अष्टमी, ० घडी १ पला, बिहान ६ बजेर ११ मिनेट उप्रान्त नवमी । नक्षत्र–तिष्य, १५ घडी ४१ पला, मध्यान्ह १२ बजेर २७ मिनेट उप्रान्त अश्लेषा ।

योग–साध्य, ११ घडी ४४ पला, बिहान १० बजेर ५२ मिनेट उप्रान्त शुभ । करण– कौलव, बिहान ६ बजेर ११ मिनेट उप्रान्त तैतिल, बेलुकी ६ बजेर २३ मिनेट उप्रान्त गर । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कर्कट । काठमाडौँ सूर्योदय बिहान ०६ बजेर १० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २४ मिनेट । दिनमान २८ घडी ३ पला ।

आजको बार बेला ।  
बिहान ०६ बजेर १० मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ११ मिनेटदेखि बिहान ७ बजेर ३५ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर ३५ मिनेटदेखि बिहान ८ बजेर ५९ मिनेटसम्म अमृत बेला ।
बिहान ०८ बजेर ०० मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म शुभ बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर ११ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर १२ मिनेटदेखि दिउसो २ बजेर ३५ मिनेटसम्म उद्वेग बेला ।
दिउसो २ बजेर ३६ मिनेटदेखि दिउसो ३ बजेर ५९ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर ० मिनेटदेखि बेलुकी ६ बजेर ५९ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान १० बजेर २२ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ४ बजेर ३४ मिनेटदेखि बिहान ५ बजेर २२ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ ।  

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) महत्त्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाटी सम्बन्धी समस्या ठिक भएर जानेछ । दाजुभाई तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको डाेरो कसिलो भएर जानेछ भने जीवन साथीको भरपुर सहयोग पाइनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बोलीबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरू गर्न सकिनेछ । गीत सङ्गीत तथा यस्तै क्षेत्रमा समय खर्चँदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ । व्यवसायमा लगानी गरेपनी आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा परिवारमा झैँ झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउनेछ । विद्यामा अरू भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । अवसरहरूको सदुपयोग गर्न नसक्दा विभिन्न फाइदा जनक कामहरू अरुकै पोल्टोमा पर्नेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धार्मिक तथा सामाजिक काममा सक्रिय भई समय व्यातित हुनेछ । आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेसा व्यवसाय स्वतः स्फूर्त रूपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ । पढाइ लेखाइमा अली बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागे पनि सम्बन्ध प्रगाढ हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी दिन प्रभावकारी रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयमा अर्थ सङ्ग्रह गर्न सकिने हुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुँदा व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरूले सहयोग गर्ने तथा दाजुभाइहरूको समर्थनमा राम्रा काम गर्न सकिनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुने समय रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयको सदुपयोग गरी मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पुराना लगानी गरिएका रकमहरू उठ्नाले अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । माया प्रेममा एक अर्कालाई केही समय शंका तथा अविश्वास गरेपनि अन्ततः विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने समाजसेवामा पनि समय खर्च हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर प्राविधिक शिक्षा अध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) टीम निर्माण गरी काम गरिएपनि एक अर्काको बिचार नमिल्दा केही दिनको लागी काम बन्द हुनेछ । महिला मित्र तथा विपरीत लिङगसँग पनि मतभेत देखिने प्रशस्त सम्भावना रहेको छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला बढि नै उत्साहित हुँदा नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । व्यावसायिक यात्रा हुने भएपनि कष्ट कर नहोला भन्न सकिन्न । मनमा बेचैनले गतिलो डेरा जमाउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरू स्वतः स्फूर्त रूपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश वृद्धिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरू खुसी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । नयाँ योजनाहरू बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप