शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

उडिसा र पश्चिम बंगालमा चक्रवात : १५ लाख मानिसहरू स्थानान्तरण

शुक्रबार, ०९ कात्तिक २०८१, ०१ : १५
शुक्रबार, ०९ कात्तिक २०८१

नयाँदिल्ली। भारतको उडिसा र पश्चिम बंगाल क्षेत्रबाट आउन लागेको चक्रवातका कारण करिब १५ लाख मानिसलाई अन्यत्र स्थानान्तरण गरिएको छ । 

अधिकारीहरूले चक्रवात ‘दाना’ आगामी २४ घण्टासम्म सक्रिय रहने र यसले व्यापक क्षति पुर्‍याउने अनुमान गरेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार चक्रवातका कारण हुने क्षति न्यूनीकरण गर्न राहतका लागि हजारौं कार्यकर्ता खटाइएको छ । 

'दाना’ का कारण यातायात सेवा पहिले नै प्रभावित भएको छ, धेरै रेल सञ्जाल र हवाई उडानहरू रद्द भएका छन् । भारतको मौसम विभागले बंगालको खाडीमा बनेको न्यून चाप बिहीबार साँझसम्म ठूलो आँधीमा परिणत हुने जनाएको छ । आँधीका कारण तटीय क्षेत्रहरू १२० किमि प्रतिघन्टाको गतिमा हावाहुरी आउने बताइएको छ ।

बुधबार उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले चक्रवातको मार्गमा रहेका जिल्लाका बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक व्यवस्था गरिएको बताएका थिए ।

अधिकारीहरूले खाना, पानी र स्वास्थ्य सुविधाहरूसहित अस्थायी राहत शिविरहरू तयार पारेको जनाइएको छ । ‘हामी आँधीसँग लड्न पूर्ण रूपमा तयार छौं । नआत्तिनुहोस्, सुरक्षित र सावधान रहनुहोस्,’ माझीले भनेका थिए ।

उडिसा राज्यका १४ जिल्लाबाट कम्तीमा १० लाख र पश्चिम बंगाल राज्यका तटीय क्षेत्रहरूबाट कम्तीमा ३ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । दुवै राज्यमा तटीय क्षेत्रका विद्यालयहरू बन्द गरिनुका साथै अधिकारीहरू र उद्धार टोलीहरू तयारी अवस्थामा रहेको जनाइएको छ ।

बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म भुवनेश्वर र कोलकाता सहरका विमानस्थलबाट उडान स्थगन गरिएको र आँधीका कारण २ सयभन्दा बढी रेल सेवा अवरुद्ध भएको जनाइएको छ ।

उडिसा र पश्चिम बंगालमा हरेक वर्ष ठूलो आँधी तथा चक्रवात आउने गर्छ । सन् १९९९ मा उडिसामा चक्रवातका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । गत वर्ष भारत र बंगलादेशमा आँधीका कारण कम्तीमा १६ जनाले ज्यान गुमाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप