शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

समुद्री विज्ञहरू भन्छन् : 'सुनामीका लागि विश्व पहिलेभन्दा बढी तयार'

शुक्रबार, ०९ कात्तिक २०८१, ०० : ५०
शुक्रबार, ०९ कात्तिक २०८१

जकार्ता । समुद्री विज्ञान विशेषज्ञहरूले पूर्वचेतावनी प्रणालीहरूका कारण विश्व विनाशकारी सुनामीका लागि पहिलेभन्दा बढी तयार रहेको बताएका छन् ।

यद्यपि उनीहरूले अझै पनि सुनामी कहिले आउन सक्छ भन्ने भविष्यवाणी गर्न सकेका छैनन् । 

एक  लाख ७० हजारभन्दा बढी मानिसको ज्यान लिएको सन् २००४ डिसेम्बरको एसियाली सुनामीको २०औँ वार्षिकोत्सव नजिकिँदै गर्दा बिहीबार संयुक्त राष्ट्रसंघ समर्थित विशेषज्ञहरूले सुनामी तयारीका सन्देशहरू दोहोर्‍याएका छन् ।

दुई दशकअघि विपत्ति आउँदा वैज्ञानिकहरूसँग हिन्द महासागरमा सुनामी चेतावनी प्रणाली थिएन । तर अहिले विश्वव्यापी एक हजार चार सय स्टेशनले सुनामी तरङ्ग बन्ने बित्तिकै चेतावनी समयलाई केवल केही मिनेटमा घटाएका छन् ।

'हामी सन् २००४ मा भन्दा धेरै तयार छौँ । विश्वव्यापी पूर्वचेतावनी प्रणालीले जीवन बचाइरहेको छ', युनेस्कोका सुनामी लचिलोपन प्रमुख बर्नार्डो अलियागाले पत्रकार सम्मेलनमा भने, 'के हामी सुरक्षित छौँ ? हो शायद । के हामी विश्वका सबै ठाउँमा सुरक्षित छौँ ? शायद होइन । हामीलाई वास्तवमै तपाईंको सहयोग चाहिन्छ किनभने हामीलाई राम्रोसँग तयार हुन सन्देश पास गर्न आवश्यक छ ।'

युनेस्कोका विशेषज्ञहरूले जोखिममा रहेका क्षेत्रका नागरिकहरूलाई सुनामी रेडी नामक कार्यक्रममार्फत तटीय समुदायहरूको जागरूकता र तयारीमा सहयोग गर्ने कार्यक्रममार्फत घातक, अप्रत्याशित जोखिमहरूबाट जोगिन सक्षम बनाउने आशा गरेका छन् ।

'हाम्रो लक्ष्य सन् २०३० सम्ममा यी जोखिममा रहेका सतप्रतिशत समुदायहरू सुनामीका लागि तयार र लचिलो हुनेछन भन्ने हो', युनेस्कोको हिन्द महासागर सुनामी सूचना केन्द्रका प्रमुख अर्दितो कोडिजतले भने ।

यस्ता रोकथामका उपायहरूमा निकासी नक्साहरू, नियमित सुनामी अभ्यासहरू र मानिसहरूलाई सुनामीका सङ्केतहरू हेर्न सूचित गर्ने, उच्च स्थानमा भाग्नुअघि यसको गर्जने आवाज सुन्ने जस्ता कुराहरू समावेश छन् ।

यी उपायहरू प्रमुख फल्ट लाइनहरू नजिक तैनाथ गरिएका बोयहरू जस्ता ठोस चेतावनीहरूसँगै रहन्छन् । यसले तरङ्ग बन्नसक्ने सम्भावना पत्ता लगाउँछन् र चेतावनी केन्द्रहरूमा सूचना पठाउँछन् ।

सन् २००४ मा हिन्द महासागर भूकम्प–सुनामीबाट प्रभावित देशका साथै जापान जस्ता फल्ट लाइनहरू नजिक रहेका देशहरू पनि विशेषगरी जोखिममा रहेका छन् ।

सन् २०११ मा जापानको उत्तरपूर्वी तटमा गएको विशाल नौ म्याग्निच्युडको समुद्रमुनिको भूकम्पले सुनामी आउँदा करिब १८ हजार पाँच सय मानिसको मृत्यु वा बेपत्ता भएका थिए ।

समुद्री विशेषज्ञहरूले सुनामीबाट हुने हरेक मृत्यु रोक्न नसकिने तर प्रभाव मात्र कम गर्न सकिने चेतावनी दिएका छन् ।

'सन् २००४ यस्तो त्रासदी थियो किनभने हामीलाई घटना भएको थाहा हुन सक्थ्यो तर हामीसँग कसैलाई भन्ने तरिका थिएन', होनोलुलुस्थित अन्तर्राष्ट्रिय सुनामी सूचना केन्द्रकी लौरा कोङले भने, 'हामीलाई थाहा छैन अर्को ठूलो कहिले आउनेछ, तर हामीलाई थाहा छ कि हामी जति सक्दो तयार हुन सक्छौँ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप