शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, ०८ कात्तिक २०८१, २२ : ००
बिहीबार, ०८ कात्तिक २०८१

आज मिति २०८१ साल कात्तिक महिनाको ८ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. लामिछानेविरुद्ध अर्को पक्राउ पुर्जी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगीसम्बन्धी छानबिनका लागि जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो । कास्कीबाट पक्राउ पुर्जी भएको आधारमा हाल लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

२. तिहारसम्म हिरासतमै लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तिहारसम्म रिहा नहुने भएका छन् । कास्की जिल्ला अदालतले बिहीबार रविमाथिको अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

रविका सम्बन्धमा कास्की जिल्ला अदालतले थप गरेको म्याद बिहीबारदेखि नै गणना हुनेछ । ७ दिनको म्याद पाएको प्रहरीले रविलाई कात्तिक १४ गतेसम्म हिरासतमा राख्नेछ ।

तर, कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु हुने भएकाले उनलाई सात दिने म्याद सकिएलगत्तै प्रहरीले अदालतमा उपस्थित गराउन नमिल्ने देखिएको हो ।

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ ।

रास्वपाले केपी ओली नेतृत्व सरकारविरुद्ध शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । माइतीघर मण्डलामा दिउँसो १ बजे राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको हो ।

३. मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद् बैठकले  सहसचिव रघुराम विष्टलाई सचिवमा बढुवा गरेको छ । बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव बिष्टको नाम सिफारिस गरेको थियो ।

४. विवादमा राष्ट्रपतिका सल्लाहकार

राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवर विवादमा तानिएका छन् । पूर्वमहान्यायाधिवक्ता समेत रहेका कुँवरले सहकारी ठगीमा फरार अभियुक्त रहेका जीबी राईको एक संस्थामा कानुनी सल्लाहकारको भूमिका निर्वाह गरेको र उक्त संस्थाबाट पारिश्रमिक समेत बुझेको पाइएको हो ।

५. एमालेल दानमा पाएको जग्गा विवाद

नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर भएको रिट हेर्न नभ्याउने हुँदै सरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी रहेको उक्त मुद्दा न्यायाधीशले हेर्न नमिल्ने भएका  कारण बिहीबार सुनुवाइ हुन नसकेको हो ।

६. माओवादीको आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने काम गरिरहेको र सत्तापक्षका नेताहरूलाई जोगाउने काम गरिरहेका आरोप लगाएको छ । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी प्रवक्ता अग्निप्रसाद सापकोटाले उक्त आरोप लगाएका हुन् ।

सत्ता नेतृत्व दल नेकपा एमालेले पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका संस्था र व्यक्तिहरूका तर्फबाट भइरहेको आवान्छित गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

७. प्राधिकरणको एक्सन

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काटेको छ । प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो । जुन समय आज सकिएको छ ।

तोकिएको समयमा पनि महसुल नबुझाएपछि प्राधिकरणले महसुल नबुझाएका सबै उद्योगको लाइन काटेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

८. परराष्ट्रको सवाल

परराष्ट्र मन्त्रालयले जनशक्ति थप्ने निर्णय गरेसँगै विभिन्न टिप्पणी सुरु भएको छ । कतिपयले परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो मान्छे भर्ना गर्न कर्मचारी थप्ने निर्णय गराएको आरोप लगाएका छन् । आर्थिक बोझ थपिने गरी कर्मचारीको सङ्ख्या बढाउनु सरकारकै आर्थिक मितव्ययिता विपरीत रहेको तर्क पनि गरिँदैछ ।

९. लुम्बिनीमा शपथ

लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण भएको छ ।   तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गराएका हुन् ।

बर्दियाका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका हुन्।

१०. सेयर बजार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १८.२५ अंकले घटेको छ । २६४६ बिन्दुबाट सुरु भएको नेप्से कारोबार उतारचढाव हुँदै २६२७ बिन्दुमा पुगेर रोकिएको छ । 

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप