बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान

थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बिहीबार, ०८ कात्तिक २०८१, १७ : ५१
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । सङ्गठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न अदालतबाट थप ७ दिनको म्याद लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी (डीएसपी) वसन्त शर्माले रातोपाटीलाई बताए ।

प्रहरीले पूर्वडीआइजी छविलाल बन्जाडे (जोशी) र लीला पछाई विरुद्ध पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्ने भएको छ । तिनै जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलले अनुमति दिएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई थप २५ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । प्रहरीले आरोपीहरूको सम्पत्तिको स्रोतबारे पनि अनुसन्धान गर्नेछ । 

पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए । पूर्वडीआईजी छविलाल जोशी असोज ६ मा र पछाई असोज १५ मा पक्राउ परेकी थिइन् । लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले पहिलो पटक ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका थिए । उनीहरु विरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।

जीवी राई, पूर्व डीआईजी छविलाल जोशी र लामिछाने मिलेर गोर्खा मिडिया नेटवर्कमार्फत टेलिभिजन सञ्चालन गरेका थिए । गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर–४ स्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीमा कार्यरत लीला पछाईले गितेन्द्रबाबु राईसँग मिलेर ३ करोड रुपैयाँ आफ्नो बैंक खातामा डिपोजिट गरेर अपचलन गरेको आरोप छ ।

छविलाल जोशी र लीला पछाईको बयान पुरा भएको छ । लामिछानेको बयान लिने काम प्रक्रियामा रहेको कास्कीका एसपी श्यामबाबु ओलियाले रातोपाटीलाई बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप