बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

ओली सरकारविरुद्ध शुक्रबार माइतीघर मण्डलामा जम्मा हुन रास्वपाको आह्वान

बिहीबार, ०८ कात्तिक २०८१, १७ : ४६
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केपी ओली नेतृत्व सरकारविरुद्ध शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । माइतीघर मण्डलामा दिउँसो १ बजे राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको हो ।

प्रदर्शन पार्टीको नेतृत्वमा भए पनि आम रूपमा सहभागी हुन अपिल गरेको रास्वपाका केन्द्रीय सदस्य पुकार बमले जानकारी दिए ।

‘दुई तिहाइ सरकारको दम्भ र प्रतिशोधपूर्ण कदमविरुद्ध उत्रिन सार्वजनिक रूपमा अपिल गरेका छौँ । अब पोखरा वा कुनै व्यक्ति वा पार्टी विशेषमा आन्दोलन रोकिँदैन । अब अभियानकै रूपमा अगाडि बढिसकेको छ । ओली सरकारविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउँछौँ’, रातोपाटीसँग बमले भने, ‘मुद्दा पार्टीले उठाएपनि जिल्ला, प्रदेशले नेतृत्व गर्छ । सहकारी ठगी, भ्रष्टाचारका अन्य मुद्दाका लागि सार्वजनिक रूपमा अपिल गरेका छौँ । सबैको ऐक्यबद्धता हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । पार्टीको झन्डा केही हुँदैन । स्वतःस्फूर्त रूपमा खुला कार्यक्रम गर्न लागिएको हो ।’

आन्दोलनको तयारीका लागि अहिले जिल्ला, प्रदेश र केन्द्रमा उपलब्ध भएका केन्द्रीय नेताहरूको बैठक बसेको उनले जानकारी दिए । बैठकमा आन्दोलनलाई शान्तिपूर्ण बनाउने, व्यवस्थित गर्ने लगायत विषयमा छलफल भइरहेको बताए ।

सहकारी ठगीको आरोपमा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो । लामिछानेलाई झुट्टा मुद्दामा सरकारले फसाउन खोजेको आरोप लगाउँदै शनिबारदेखि लगातार रास्वपाका नेता तथा कार्यकर्ताहरु विरोधमा उभिएका छन् । बिहीबार लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप