बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपालीमा विभाजन ल्याउने नै परराष्ट्र मन्त्रालय र आरजु राणा हुन्’

बिहीबार, ०८ कात्तिक २०८१, १७ : २८
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीबीच विभाजन ल्याउने परराष्ट्र मन्त्रालय नै भएको आरोप लगाएका छन् । 

‘संघलाई बिगार्ने नै परराष्ट्र मन्त्रालय हो । परराष्ट्र जहिले पनि मिलाउन भन्दा बिगार्नतिरै लागिरहेको देखिन्छ’, रातोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘परराष्ट्र बिगार्नतिर भन्दा पनि मिलाउनतिर लागोस् भन्ने चाहना हो ।’

एकताको महाधिवेशन गराउन भन्दै कात्तिक १ गते परराष्ट्रले संघका पूर्वअध्यक्ष शेष घले र सचिवालयलाई पत्र पठाएपनि अझै विश्वासको वातावरण बनिनसकेको उनले बताए । ‘परराष्ट्रको चिठी हेर्दा परराष्ट्रमन्त्री आरजु राणाले सबैलाई एक ठाउँमा ल्याउन लागेको भन्नेचाहिँ मैले बुझेको छैन’, उनले भने, ‘जुन बेलामा जसरी चिठी आएको छ, यसले दुवै पक्षलाई एक ठाउँमा ल्याउन सकस नै देखिन्छ ।’ 

यस्तै पत्रकै  बिच बद्री केसी पक्ष साधारण सभामा जुट्नुले उनीहरूले मिल्ने मुडमा नदेखिएको हो कि भन्ने आफूलाई लागेको पनि उनले बताए । पन्तले भने, ‘उहाँहरू मिल्नु हुन्न भने त्यो पनि गलत हो । तर मिल्नुको विकल्प छैन ।’ यस्तै उनले सरकारले अभिभावकीय भूमिका नखेलेसम्म समस्याको समाधान नहुने पनि बताए । पन्तकै कार्यकालमा एनआरएनएमा प्रतिनिधि चयनलगायतको विषयमा विवाद देखिएपछि एनआरएनएमा विभाजन सुरु भएको थियो । 

केसी पक्षले तय गरेको अक्टोबर २७ मा तय गरेको साधारण सभामा प्रधानमन्त्री सहभागी हुने कुरा आफूले सुनेको उल्लेख गर्दै उनले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्कै अर्को मन्त्रीले भने एकताको महाधिवेशन गराउन पत्र काट्नुले विरोधाभाष देखिएको बताए । ‘मैले साधारण सभामा परराष्ट्रमन्त्री आउने कुरा सुनिरहेको छु । परराष्ट्र भन्ने छु्ट्टै र सरकार भन्ने छुट्टै पनि होइन होला,’ उनले भने । 

उनले अगाडि भने, ‘एनआरएनए मिलाउनका लागि प्रमुख कुरा त पहिला पनि सरकारले नै हुँडलेर बिग्रिएको हो । अहिले पनि त्यहीबाट सच्याउनु पर्छ ।’

यस्तै उनले एकताको महाधिवेशन गर्नका लागि पूर्वअध्यक्ष शेष घलेले इमानदार भएर पहलकदमी गर्नुपर्ने पनि बताए । उनले विगतमा पनि आरजु राणाको भूमिकाले एनआरएनएमा समस्या उत्पन्न भएको दाबी गर्दै अहिले राणा नै  परराष्ट्रमन्त्रीको भूमिकामा रहेकाले उनी पनि सच्चिनुपर्नेमा जोड दिए । ‘पहिले पनि आरजु राणाको एनआरएनएमा ठुलो हस्तक्षेप थियो । अहिले पनि चिठी बाहिर आउनु भन्दा अगाडि उहाँका कार्यकर्ताहरूले चिठी आउँदै छ भनेर हिँडिरहेको सुनेको थिएँ । यदि हो भने आरजु राणाले यो बुझेर सच्याउनुपर्छ ’, उनले भने ।

उनले एनआरएनए मिलाउनका लागि सरकार सबैको अभिभावक बन्नुपर्ने र कसैको पनि पक्ष लिन नहुनेमा जोड दिए । उनले एकताको वातावरणका लागि परराष्ट्रले सबै पक्षलाई बोलाएर गम्भीरतापूर्वक छलफल गराउनुपर्नेमा पनि जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप