एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि आइतबारलाई तोकियो पेसी
काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर भएको रिट हेर्न नभ्याउने हुँदै सरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी रहेको उक्त मुद्दा न्यायाधीशले हेर्न नमिल्ने भएका कारण बिहीबार सुनुवाइ हुन नसकेको हो ।
आज हेर्न नमिल्ने भएपछि उक्त मुद्दाको पेसी आइतबारका लागि तोकिएको हो। अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेश मार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।
दरपिठ विरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश मङ्गलवार गरेको थियो । उक्त आदेश लगत्तै बुधवार रिट दर्ता भएको थियो । दर्ता भएको रिटको पहिलो पेसी एकल इजलासमा बिहीबार सुनुवाइका लागि एकल इजलासमा पेसी तोकिएको थियो । आइतबार नयाँ न्यायाधीशकोमा गोलाबाट पेसी तोकिन्छ ।
न्यायाधीश सुवेदीले मीनबहादुर जोडिएको ललिता निवास जग्गा प्रकरणको मुद्दा आफूले हेरिसकेकाले अहिलेको मुद्दा नहेर्ने भनेपछि सुनुवाइ हुन सकेन। सुवेदीले यस गुरुङको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइ गरेका थिए । यसअघि एउटा मुद्दा आफ्नो राय सुनाएकाले सोही प्रतिवादी विरुद्ध फेरि आएको निवेदनमा सुनुवाइ गर्न अस्वीकार गरेका हुन् ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्दा लिखतसम्बन्धी कसुर (किर्ते) गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गर्दा गुरुङ बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका थिए। न्यायाधीश सुवेदी र प्रकाश ढुङ्गानाको इजलासले गुरुङलाई प्रहरीले गरेको गिरफ्तारीलाई गैरकानुनी मान्न नमिल्ने ठहर गर्दै बन्दीको निवेदन खारेज गरेका थिए ।
गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए। सोही दिन प्रधानमन्त्री ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए।
मुलुकको कार्यकारी पदमा बसेर दानका रूपमा विवादित व्यवसायीबाट यति ठुलो सम्पत्ति दान लिनु भ्रष्टाचार नै भएको दाबी रिटमा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२४ मा विश्व खेलकुदले जसलाई गुमायो
-
बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य
-
जनार्दन शर्मा भन्छन्– कम्युनिस्ट सरकार नै भ्रष्टाचारबाट माथि नउठ्दा जनताले प्रश्न उठाए
-
अर्थ समितिमा राप्रपा सांसद शाहीको फरक मत
-
समितिमा विधेयक होल्ड भएकाले समयसीमा तोक्न नियमावली संशोधन गर्ने तयारी
-
ओलीको निर्णयको विरोध गर्न एमाले पंक्तिलाई रावलको सुझाव