बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट : साजिद खान र नोमन अलीको स्पिनमा अल्झियो इङ्ल्यान्ड, २६७ रनमै अलआउट

बिहीबार, ०८ कात्तिक २०८१, १६ : २२
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । घरेलु टोली पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा इङ्ल्यान्डले सामान्य प्रदर्शन गरेको छ । रावलपिण्डीमा जारी तेस्रो टेस्टको पहिलो दिन बिहीबार भ्रमणकारी टोली इङ्ल्यान्ड ६८.२ ओभरमा केवल दुई सय ६७ रन बनाउँदै अलआउट भयो ।

टस जिती ब्याटिङको निर्णय लिएको इङ्ल्यान्डका पहिलो पालीमा विकेटकिपर ब्याट्सम्यान जामी स्मिथले सर्वाधिक ९१ रन बनाए । टोली अप्ठ्यारो स्थितिमा रहँदा सातौँ नम्बरमा क्रिज समाल्न आएका उनले एक सय १९ बलको सामना गरी सात छक्का र चार चौका हिर्काए ।

२४ वर्षीय स्मिथले टेस्ट क्रिकेटमा बनाएको यो चौथो शतक हो । उनी केवल नौ रनका कारण दोस्रो टेस्ट शतक पुरा गर्नबाट चुके । इङ्ल्यान्डका लागि ओपनर ब्याट्सम्यान बेन डकेटले पनि अर्धशतकीय पाली खेलेका थिए ।

डकेटले टोलीको खातामा ५२ रन थपे । उनले ८४ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काए । ३० वर्षीय डकेटले टेस्ट क्रिकेटमा बनाएको यो १२औँ अर्धशतक हो । अर्का ओपनर ज्याक क्रावली भने २९ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

तल्लो क्रमका ब्याट्सम्यान गस एट्किन्सनले टोलीको खातामा ३९ रन थपे । कप्तान बेन स्टोक्स १२ रनमै आउट भए । ज्याक लिचले टोलीको खातामा १६ रन थपे । अनुभवी खेलाडी जो रुट, ओली पप र ह्यारी ब्रुकले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

घरेलु टोली पाकिस्तानका बलर साजिद खान एक्लैले ६ विकेट लिए । उनले २९.२ ओभरमा चार मेडन राख्दै एक सय २८ रन खर्चिए । नोमन अलीले पनि तीन विकेट हात पारे । जाहिद महमुदले पनि एक विकेट कुम्ल्याए ।  

तीन टेस्टको शृंखला हाल १–१ को बराबरीमा छ । शृंखलाको पहिलो टेस्टमा इङ्ल्यान्डले पाकिस्तानलाई एक पाली र ४७ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो टेस्टमा भने पाकिस्तानले इङ्ल्यान्डलाई एक सय ५२ रनले हराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप