बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
सरकारको १०० दिन

ओली सरकारको १०० दिन ः कूटनीतिक क्षेत्रमा कति सफल ?

बिहीबार, ०८ कात्तिक २०८१, १७ : ००
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पार गरेको छ । सरकार गठन भएको १०० दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले बुधबार आफू र आफ्नो सरकारले गरेको कामको फेहरिस्त सुनाए ।

प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध तथा वैदेशिक मामिलाको बारेमा भने खासै चर्चा गरेनन् । सय दिने उपलब्धिको चर्चा गर्दै उनले यतिमात्र भने, ‘हामीले हाम्रो छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा अडिँदै पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढाएका छौँ । हामी स्पष्टतः सुमधुर र उपलब्धिपूर्ण छिमेक सम्बन्ध, शान्तिपूर्ण, न्यायोचित र जिम्मेवार अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास गर्छौं । विश्वका कतिपय भूभागमा भएका हिंसा र तनावबाट हामी चिन्तित छौँ, वार्ताको माध्यमबाट ती सबै तनावहरूको शान्तिपूर्ण समाधान चाहन्छौँ । सबैले संयमपूर्वक शान्ति स्थापनामा लाग्न जरुरी ठान्छौँ ।’

GYMzAUZWAAEIuA1

प्रधानमन्त्री ओलीको अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर नरहेको चर्चा उनी प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै सुरु भएको हो । खासगरी दुवै छिमेकी देश भारत र चीनसँग उनको दुरी बढ्दै गइरहेको कूटनीतिक मामिलाका जानकार बताउँछन् ।

संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन बाहेक उनले कुनै पनि मुलुकको भ्रमण यो अवधिमा गरेका छैनन् । यो अवधिमा अन्य मुलुकबाट पनि उच्चस्तरीय भ्रमण हुन सकेको छैन ।

यसअघिको सरकारको पालामा अमेरिका, चीन, भारत, बेलायत लगायतका देशबाट उच्चस्तरीय भ्रमण भएको थियो । तर ओली प्रधानमन्त्री हुनासाथ त्यस्ता भ्रमण ठप्प भएको हो ।

GYalt_DbcAACL7Y

चीनबाट राजनीतिक दलस्तरका भ्रमण भइरहेका छन् । चीनले यहाँका राजनीतिक दललाई आफ्नो देशमा भ्रमण गराइरहेको छ । तर दुई देशको औपचारिक भ्रमण हुन सकेको छैन । जसले गर्दा दुई पक्षीय सम्झौतासमेत भएको छैन ।

प्रधानमन्त्री भएपछि ‘कट सी’ का लागि भए पनि सम्बन्धलाई ‘रिचार्ज’ गर्न विदेशका भ्रमण गरिरहनु पर्ने कूटनीतिक मामिलाका विज्ञ बताउँछन् । तर प्रधानमन्त्री ओलीले यो सय दिनको अवधिमा कुनै पनि देशको औपचारिक भ्रमण गरेका छैनन् ।

उनी राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गए पनि त्यसलाई औपचारिक भ्रमण मानिँदैन । नेपालमा प्रधानमन्त्री नियुक्त हुने बित्तिकै भारत र चीनले आ–आफ्नो देशमा भ्रमण गराउन तँछाडमछाड गर्थे तर यसपटक दुवै देश चुपचाप छन् ।

बरु प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका निम्तो पठाएका थिए । भारतले हालसम्म उनको निमन्त्रणालाई चासो दिएको छैन । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओली भारत भ्रमण गर्न इच्छुक छन् तर उताबाट अहिलेसम्म निमन्त्रणा आएको छैन ।

चीन पनि यो मामिलामा चुपचाप छ । पूर्वराजदूत विजयकान्त कर्ण भन्छन्, ‘कुनै पनि देशका प्रधानमन्त्री वा देश प्रमुख विदेश भ्रमण गर्दा देशको गरिमा बढ्छ । अन्तर्राष्ट्रिय जगतको ध्यान जान्छ । भ्रमणको क्रममा दुई देशको बिचमा विभिन्न अन्तरङ्ग कुराकानी हुन्छ, विभिन्न सम्झौता हुन्छ । त्यसले देशलाई अगाडि बढाउन मद्दत गर्छ तर ओली प्रधानमन्त्री भएपछि ती सबै ठप्प छन् ।’

यसबिचमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको भ्रमण गरिन् । उनलाई भारतले महत्त्व दिएको चर्चा भयो । परराष्ट्रमन्त्री तहमा त्यो भ्रमणले राम्रो गर्ला तर समग्र देशको हितमा खासै उपलब्धि नभएको पूर्वराजदूत कर्ण बताउँछन् ।

राष्ट्र संघको कार्यक्रममा भाग लिन प्रधानमन्त्री ओली अमेरिका गएका थिए । अनेक प्रयासपछि भारतका प्रधानमन्त्री मोदीसँग उनको भेट भए पनि त्यसको खासै उपलब्धि देखिएको छैन । भारतका प्रधानमन्त्रीलाई भेट्न सफल हुनुबाहेक अरू खासै केही उपलब्धि नदेखिएको जानकार बताउँछन् ।

GYb2TNXboAAEve1

अमेरिका पुग्दा प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रपति वा अन्य उच्च अधिकारीसँग भेट गरेर देशको हितमा केही न केही सम्झौता गर्न पहल गर्नुपर्नेमा त्यसमा समेत चुकेको देखिन्छ । अमेरिकामा एक साथ भेला हुँदा सार्कस्तरीय मन्त्रीहरूको बैठक समेत उनले राख्न सकेनन् । केही उच्चस्तरीय भेटघाट भए पनि देशको हितमा सन्देशमूलक कार्य केही नभएको गुनासो कूटनीतिज्ञहरूले गरिरहेका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले इपीजी प्रतिवेदन, सीमा विवादलगायतका विषय समाधान गर्न भारतलाई दबाब दिएका थिए । त्यतिबेला उनको निकै प्रशंसा भएको थियो तर अहिले उनी चुपचाप छन् । अमेरिकामा भारतका प्रधानमन्त्री मोदीसँग भेट हुँदा ईपीजी र सीमा विवादलगायतको विषयमा चर्चा नै भएन ।

बुधबार सय दिनको अवसरमा दिएको सम्बोधनमा पनि प्रधानमन्त्री ओलीले यी कुरा उल्लेख गर्न सकेनन् । इजरायल–हमास द्वन्द्वका सम्बन्धमा पनि नेपालको भूमिका निकै फितलो देखिएको छ । हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइबारे सरकारले खासै प्रभावकारी कदम चाल्न सकेको छैन भने रुस–युक्रेन युद्धमा नेपालीहरू प्रयोग भएको विषयमा पनि सरकार मौनजस्तै देखिएको छ ।

GYaarNJa8AAfF5v

तर, विदेश मामिलाका जानकार एवं एमाले विदेश विभागका सदस्य गोपाल खनालले प्रधानमन्त्री ओली कूटनीतिक रूपमा सफल रहेको दाबी गरेका छन् । एक दैनिक पत्रिका प्रधानमन्त्री ओलीको अन्तर्राष्ट्रिय सम्बन्धबारे प्रकाशित उनको लेखमा राष्ट्रहितलाई सर्वोपरि ठान्ने, नेपालको आन्तरिक राजनीतिमा छिमेकी र अन्तर्राष्ट्रिय शक्तिलाई निषेध गर्ने तर विकासमा सहकार्यको खुला आह्वान गर्ने नीतिगत निरन्तरता यो सय दिनका बिचमा प्रदर्शित भएको दाबी गरेका छन् ।

खनालले कुनै पनि देशको औपचारिक भ्रमण नगरेर विश्व शान्तिलाई सन्देश दिने मञ्चमा भाग लिन अमेरिका गएर प्रधानमन्त्री ओलीले ठुलो सन्देश दिएको उल्लेख गरेका छन् । उनले भारतले पनि प्रधानमन्त्री ओलीलाई भ्रमणको निमन्त्रणा दिएको दाबी गरेका छन् । तर प्रधानमन्त्री ओलीले पहिला भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमण गराउन लागेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप