बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
साफ महिला च्याम्पियनसिप

माल्दिभ्सको पोष्टमा १३ गोल गर्दै भुटान सेमिफाइनलमा, अन्तिम खेलमा नेपाल दबाबमा

बिहीबार, ०८ कात्तिक २०८१, १५ : ५५
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको बिहीबार खेलिएको खेलमा भुटानले माल्दिभ्सविरुद्ध गोल वर्षा गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हराएको हो ।

जितसँगै भुटान समूह ‘बी’ तालिकाको पहिलो स्थानमा उक्लिएको छ । भुटानले तीन खेलबाट सात अंक बटुलेको छ । भुटान प्रतियोगिताको सेमिफाइनलमा पनि पुगेको छ । भुटान आफ्नो पहिलो खेलमा आयोजक नेपालसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

दोस्रो खेलमा भुटानले श्रीलंकालाई ४–१ गोलले हराएको थियो । भुटानको जितपछि नेपालमाथि दबाब बढेको छ । अब नेपालले सेमिफाइनलमा पुग्न बिहीबार नै खेलिने दोस्रो खेलमा श्रीलंकालाई हराउनै पर्ने हुन्छ । हाल दुई खेल खेलेको नेपाल चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

नेपालले यसअघि खेलिएको खेलमा माल्दिभ्सलाई नै ११–० गोलको फराकिलो अन्तरले हराएको थियो । जारी प्रतियोगितामा तीन खेल खेल्दै २५ गोल खाएको छ । तर, माल्दिभ्सले एक गोल पनि गर्न सकेन । आफ्नो पहिलो खेलमा माल्दिभ्सको टोली श्रीलंकासँग ०–१ गोलले पराजित भएको थियो ।

बिहीबारको खेलमा श्रीलंकालाई हराए नेपाल प्रतियोगिताको सेमफिाइनलमा पुग्नेछ । नेपाल र श्रीलंकाबिचको खेल बराबरीमा सकिए पनि नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्नेछ । तर, श्रीलंकासँग पराजित भए नेपाली टोली उपाधि होडबाट बाहिरिने छ ।

श्रीलंका तीन अंकसहित तालिकाको तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके श्रीलंकाको अंक ६ पुग्नेछ । त्यसैले समूहगत चरणको आफ्नो अन्तिम खेलमा घरेलु टोली नेपालसँग जित वा बराबरीको विकल्प देखिँदैन ।

माल्दिभ्सविरुद्धको खेलमा भुटानका लागि डेकी लहजुम एक्लैले पाँच गोल गरिन् । पेमा चोडेन छिरिङ र छिरिङ यानदेनले पनि दुई–दुई गोल गरे । छिरिङ लहदेन, नाम्गेल डेमा, डेकी याङ्दोन र सोनम चोडेनले पनि एक–एक गोलको योगदान गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप