बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनलोकपाल आयोग कामविहीन

बिहीबार, ०८ कात्तिक २०८१, १५ : २२
बिहीबार, ०८ कात्तिक २०८१

जनकपुरधाम । मधेसमा आर्थिक अनियमितता तथा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने उद्देश्यले मधेस प्रदेश सरकारले स्थापना गरेको जनलोकपाल आयोग कामविहीन बनेको छ । आयोग स्थापनाको तीन वर्ष बितेपनि आयोग कामविहीन बनेको हो । 

आयोगका अध्यक्ष रामसहाय यादवले वार्षिक प्रतिवेदन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई आज बुझाउँदै स्रोतसाधन र जनशक्ति तथा कानुनको अभावमा काम गर्न नसकेको जानकारी दिए ।

सरकारले वितरण गर्ने बजेटको उपयोगिता तथा प्रशासनिक कार्यमा जनताको पहुँचवृद्धि गर्न र जनगुनासो सम्बोधन गर्न सो आयोग तीन वर्ष अगाडि स्थापना गरिएको थियो । आयोगका अध्यक्ष यादवले जिम्मेवारी सम्हालेको तीनवर्षमा सुशासन प्रवर्द्धनका कुनै काम गर्न नसकेको गुनासो गरे । 

“आयोगको मुख्य उपलब्धि देखाउन नपाउँदा मेरो मन दुखी छ । प्रदेश सरकारले यो आयोग सक्षम होस भनेर नचाहेको कारण अहिलेसम्म हामीले काम गर्न नसकेका हौँ”, उनले भने ।

प्रदेशमा देखिएका बेथितिलाई न्यूनीकरण गर्न तथा सुशासन कायम गर्न आयोग तयार रहेको तर वर्तमान प्रदेश सरकारले आवश्यक स्रोत तथा साधन उपलब्ध नगराएको उनको भनाइ छ । आयोगमा प्राप्त उजुरीमाथि आवश्यक छानबिन गर्ने तथा आवश्यक देखिएमा थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्ने नीति जनलोकपाल आयोगको रहेको बताइएको छ ।

तीनवर्षमा आयोगमा कूल ४२ वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ । जनशक्ति अभावमा हालसम्म कुनैपनि उजुरीमाथि अनुसन्धान गर्न नसकेको आयोगका अध्यक्ष यादवले जानकारी दिए । ३३ जना कर्मचारी दरबन्दी रहेको आयोगमा एक कम्प्युटर अपरेटर मात्र कार्यरत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप