बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

९० वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय

बिहीबार, ०८ कात्तिक २०८१, १४ : ४१
बिहीबार, ०८ कात्तिक २०८१

डडेल्धुरा । सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ । तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रूपमा सक्रिय छन् । यो उमेरमा उनले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक रु २० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

उनले ४० रोपनी जग्गामा तरकारीखेती गरेका छन् । तरकारीबाटै  वार्षिक रु १० लाख आम्दानी लिने गरेको उनले बताए । विगत ३० वर्षदेखि भट्टले खसीबाख्रा र भैँसीपालन गर्दै आएका छन्  । हाल उनको गोठमा ५० वटा खसीबाख्रा छन् । तीन वटा उन्नत जातका भैँसी छन् । घरका भित्ताभरी माहुरीका आधुनिक तथा परम्परागत घार छन् । आँगनको कुनामा खरायोका खोर छन् । 

कृषि पेसामै सक्रिय भएकाले आफू निरोगी भएको उनले बताए । “सानैदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिन्न”, उनले भने, “यही काम गर्दागर्दै मर्न परोस् अरू मलाई केही चाहिएन ।”

खेती र पशुपालनबाटै आर्थिक रूपमा सम्पन्न उनले गाउँघरका छिमेकीलाई सङ्कट पर्दा सरसापटी दिने गर्छन्। उनको जाँगर देख्ने जोकोहीले प्रेरणा लिने गरेको स्थानीय दुर्गा भट्टले बताए ।

उनले व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेदेखि हालसम्म सरकारी अनुदान लिएका छैनन् । तर माहुरीका लागि भने केही अनुदान पाए सहज हुने र हौसला मिल्ने आशामा उनी छन् । 

भट्टको अनुभवमा पछिल्लो समयमा हावापानीमा देखिएको परिवर्तनले धेरै असर गरेको छ । बजारमा पाइने नयाँ बीउ, मल, विषादीले पनि असर गरेको उनको अनुभव छ । पहिले–पहिले पाँच किलोसम्मको काउली उत्पादन हुने उनको बारीमा आजभोलि त्यत्रो काउली फल्दैन । पहिलेको परिमाणमा भैँसीले दिने दूध नै घटेको उनले बताए । “कतै पछिल्लो समयमा आएका यी विकासे घाँसले दूधको उत्पादन घटाएको त होइन ?”, उनले भने ।

देशमै व्यावसायिक कृषि गर्न सके केही हदसम्म रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ । आफ्नै देशमा पसिना बगाउन सके सोहीअनुसार फल प्राप्त गर्न सकिने उनको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप