बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपाल प्रिमियर लिग क्रिकेट : भारतका नन्दन लुम्बिनी लायन्सको प्रमुख प्रशिक्षक

बिहीबार, ०८ कात्तिक २०८१, १४ : १४
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले नन्दन फाडनिसलाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।  

उनले लामो समय भारतको गोवा क्रिकेट संघमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । उनी भारतका पूर्वक्रिकेटर पनि हुन् । उनले सन् १९८६ देखि सन् १९९९ सम्म थुप्रै प्रथम श्रेणीको क्रिकेट र लिस्ट ‘ए’ क्रिकेट खेलेका थिए ।

आफ्नो समयका चर्चित विकेटकिपर ब्याट्सम्यान नन्दनले महाराष्ट्र क्रिकेट टोलीबाट रणजी ट्रफी पनि खेलेका थिए । उनले भारतको नेशनल क्रिकेट एकेडेमीमा पनि काम गरिसकेका छन् । उनले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण टोलीमा रहेर पनि काम गरिसकेका छन् ।

उनले आगामी एनपीएलका लागि लुम्बिनी लायन्समा प्रमुख प्रशिक्षकको भूमिकामा जोडिन पाउँदा निकै खुसी लागेको बताए । रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि उनले ब्यक्त गरे ।

लुम्बिनी लायन्सका मालिक इश्वर जीसीले नन्दनलाई प्रमुख प्रशिक्षकका रुपमा भित्राउन पाउँदा आफूहरु निकै उत्साही बनेको बताएका छन् । उनको प्रशिक्षकत्वमा टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि क्लबले लिएको छ ।

लुम्बिनी लायन्स फरच्युना हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको क्लब हो । फरच्युना हेल्थ केयर प्रालीले लुम्बिनी लायन्सलाई एक करोड ८६ लाख चार रुपैयाँमा खरिद गरेको हो । लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेल हुन् । उनी नेपाली राष्ट्रिय टोलीका कप्तान पनि हुन् ।

हालै काठमाडौँमा सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा लुम्बिनी लायन्सले तीन खेलाडीका लागि अधिकतम १५–१५ लाख रुपैयाँ खर्चिएको थियो । लुम्बिनी लायन्स क्लबले १५ लाख रुपैयाँमा खरिद गरेको खेलाडी सूर्य तामाङ, विवेक यादब र सन्दीप जोरा हुन् ।

यसैगरी, अक्सनमा लुम्बिनी लायन्सले दुई खेलाडीका लागि १०–१० लाख रुपैयाँ खर्चिएको थियो । लुम्बिनी लायन्सले आशुतोष घिरैया र तिलकराज भण्डारीलाई १० लाख रुपैयाँमा खरिद गरेको हो । दुर्गेस गुप्ताका लागि भने लुम्बिनी लायन्सले आठ लाख रुपैयाँ खर्चिएको थियो ।

यसका अतिरिक्त, लुम्बिनी लायन्सले अर्जुन साउदलाई पाँच लाख रुपैयाँ र दिनेश अधिकारीलाई दुई लाख ७५ हजार रुपैयाँमा खरिद गरेको थियो । लुम्बिनी लायन्सले अभिशेष गौतम र विकास आग्रीलाई दुई–दुई लाख रुपैयाँमा किनेको थियो । अक्सनमा लुम्बिनी लायन्सले कुल ८४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप