आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

यो सरकार संसदबाट ढाल्ने हो भने हामीले ढाल्ने हो, विदेशीले होइन : शेखर कोइराला

‘जनताले संघीयता चाहेको छैन भने उल्टाइदिऔँ । जनमत सङ्ग्रह गरौँ ।’
बिहीबार, ०८ कात्तिक २०८१, १३ : ३२
बिहीबार, ०८ कात्तिक २०८१

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमाले मिलेर केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले एक सय दिन पार गरेको छ । सरकारले गरेका राम्रा र नराम्रा कामको विषयमा विभिन्न कोणबाट समीक्षा भइरहेकै छ । विपक्षीहरूले सरकार असफल भएको बताइरहँदा सत्तापक्षकै केही नेताले वर्तमान सरकार लक्ष्य अनुसार अगाडि बढ्न नसकेको बताएका छन् । जसमध्ये एक जना हुन् कांग्रेस नेता डाक्टर शेखर कोइराला ।

डाक्टर कोइरालाले बिहीबार बिहान विराटनगरस्थित कोइराला निवासमै पत्रकार भेटघाट कार्यक्रम राखेका थिए । उक्त कार्यक्रममा कोइरालाले वर्तमान सरकारको काम कारबाही, कांग्रेसको महाधिवेशन, प्रदेश सरकारसँग सम्बन्धित विषय तथा मध्यपूर्वमा देखिएको तनाबको विषयमा कुराकानी गरेका थिए । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंशः

  • मंसिरमा सरकार परिवर्तन हुन्छ भनिँदै छ । भारत, चीन, अमेरिका कसैले पनि यो सरकारलाई मन नपराएको कुरा छ । खास कुरा के हो ?

भारत, चीन र अमेरिकाले अहिलेको सरकार मन नपराएको विषय तपाईंलाई कसरी थाहा भयो ?

  • कूटनीतिक क्षेत्रका मानिसहरूले त्यसै भनिरहेका छन् नि ?

भारतले भ्रमणको निम्ता दिएको छैन । त्यसकारण तपाईंहरूलाई भारत रिसाएको होलाजस्तो लागेको हुन सक्छ । दुई देशको सम्बन्ध भनेको त्योमात्रै होइन । भारत, चीन, अमेरिका वा अन्य देशले रुचाउने, नरुचाउने भन्ने विषय पनि होइन । यो संसदीय व्यवस्था अनुसार संसदमा हाम्रो संख्या कति पुग्छ, त्यसमा भर पर्ने कुरा हो । नेपाली कांग्रेस र एमालेको संख्या भनेको झण्डैझण्डै दुई तिहाइको बहुमतको संख्या हो ।

जबसम्म नेपाली कांग्रेसले हात झिक्दैन, तबसम्म यो सरकार चलिरहन्छ । नेपाली कांग्रेसले हात झिक्नुपर्ने अवस्था पनि म देख्दिनँ । यो सरकार अझै राम्ररी चल्छ ।

  • तत्कालीन प्रधानमन्त्री प्रचण्डले देशहरूसँगको सम्बन्धको कुरालाई लिएर ‘कम्फर्टेबल’ सरकारको कुरा गर्नुहुन्थ्यो ? अहिलेको सरकारचाहिँ कम्फर्टेबल छ कि छैन त ?

कम्फर्टेबल सरकार भनेको के ? भाषा मिलाएरमात्रै हुँदैन । बनाउनु पर्ने कम्फर्टेबल नै हो । उनीहरू (भारत, चीन)को चासोलाई हामीले व्यवस्थापन गरिदिन सक्नुपर्छ । उनीहरूको सुरक्षा चासो हुन्छ । अरू चासो हुन्छ । त्यो कन्सर्नलाई हामीले सम्बोधन गरिदिन सक्नुपर्छ । त्यो गरियो भने त भइगयो नि ।

  • सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको विषयलाई तपाईं के भन्नुहुन्छ ?

यो सरकार किन बनेको हो, पहिले त्यसमा जानुपर्छ । अस्थिरता भइराखेको छ । हरेक दुईतीन महिनामा सरकार परिवर्तन भइरहेको छ । एकडेढ वर्षमा पहिले एमालेसित मिलेर सरकार बन्यो, त्यसपछि कांग्रेससँग, फेरि एमालेसँग मिलेर सरकार बन्यो । त्यसपछि त कांग्रेस र एमाले मिलेर बनेको हो नि सरकार । अस्थिरताको जगमा पुराना सरकार बनेको भएर अप्ठ्यारो भएको थियो । आम नेपाली जनताले पनि राजनीतिक स्थिरता खोजेका थिए । आम जनताले आशा र भरोसा दिओस् भन्ने अपेक्षा राखेका छन् ।

अहिले यो अध्यादेश आउने भन्ने हल्ला छ (हुन त प्रधानमन्त्री र कानुनमन्त्रीले पनि अध्यादेश ल्याउने कुरा छैन भन्नु भएको छ, राम्रै हो) । यो अध्यादेश ल्याएर के गर्न खोजेको ? सरकार राम्रोसँग चलाउनुहोस् न, भइगयो नि ! जनताले राजनीतिक स्थायित्व खोजेको हो । आर्थिक विकास खोजेको हो । तर, सरकारमा बस्नेहरू रेमिट्यान्स बढेको बढेकै छ भनेर खुसी हुनुहुन्छ । मचाहिँ त्यतिले मात्रै खुसी हुनुपर्छ भन्नेमा छैन । ब्याजदर घटेको छ । किन बैंकमा पैसा थुप्रिएको छ ? ऋण लिन व्यवसायी किन जाँदैनन् भन्ने विषयमा सोच्नु परेन ? किन सीमा क्षेत्रका भारतीय बजार जोगवनी, वीरगञ्ज, सिलिगुढीमा नेपाली गएर सामान किनेर आउँछन् ? त्यसको कारण के हो ? हामीलाई के कुरामा अप्ठ्यारो परेको छ । कच्चा पदार्थ आयातमा कर धेरै लगाइदिएको छ । अनि तयारी वस्तुमा कर कम गरिएको छ । त्यसले गर्दा यहाँका उद्योगहरू धराशायी भए । यो सोच्ने कुरा हो नि ? यस्ता कुराहरूले देशलाई असर गरेको छ ।

खाद्यान्न हेर्नुहोस्, चिनीको भाउ सीमा क्षेत्रका भारतीय बजारमा ६०६५ रुपैयाँ प्रतिकेजी छ । नेपालमा १ सय रुपैयाँ प्रतिकेजी छ । मान्छे जहाँ सस्तो र राम्रो हुन्छ, त्यहीँ जान्छन् नि ।

मध्यपूर्वमा द्वन्द्व बढ्दै गयो भने त्यहाँ रहेका नेपालीहरूको सुरक्षाको विषयमा अहिलेदेखि नै परराष्ट्र मन्त्रालयले गम्भीरतापूर्वक गृहकार्य गर्नुपर्छ ।
  • भनेपछि, सरकार सोचविहीन भयो ?

होइन, म त्यसो भन्दिनँ । गर्न खोज्नु भएको छैन भन्ने पनि होइन । तर, सय दिन बित्यो । अब समय छैन । केही राम्रो काम पनि भएको छ । टीआरसी विधेयक आयो, नागरिक एपमा लाइसेन्स राख्ने कुरा आयो, त्यो राम्रो कुरा हो । त्यस्तै दुधको बाँकी भुक्तानी भयो, उखु किसानको भुक्तानी भएको छ । राम्रो गरेको पनि छ । तर, जनताले त्यो आभास पाइराखेको छैन । त्यो कुरामा उहाँहरू (सरकार) लाग्नुपर्छ ।

अब कुलमान घिसिङलाई हटाउने प्रयास उहाँहरू गरिराख्नु भएको छ । कुलमानले गलत गरेको छ भने हटाउने अरु उपाय होला । तर, बक्यौता उठाउने कुरामा त हटाउन पाइएन नि ! आजै मैले सुन्दैछु, लाइन काट्ने भन्ने कुरा । उहाँले लाइन काट्नेनकाट्ने आफ्नो कुरा हो । तपाईं हामीले एक हजार तिर्न नसक्दा लाइन काट्ने, अनि करोडौँ नतिर्नेको चाहिँ नकाट्ने ? त्यस्तो पनि हुन्छ ? उनीहरू व्यवसायी हुन् भनेर काट्न नपाउने ? यो कहाँको नियम कानुन हो ? त्यस्तै उपसभामुखलाई किन हटाउन प¥यो ? उहाँबाट केही कमजोरी भएको छ । तर उहाँलाई दुई तिहाई बहुमतले हटाइदिने गरी कमजोरी भएको छ जस्तो मलाई लाग्दैन । त्यो कुराले हामीजस्ता मानिसलाई चिन्तित तुल्याएको छ । उहाँहरूले राम्रो काम गर्नुहोस् । गरिरहनु भएको छ भन्ने पनि लाग्छ ।

भनेपछि अहिले नै ओली सरकार ढल्दैन ?

यो सरकार मंसिरमा ढल्छ कि भनेर तपाईंहरूले सोध्नु भयो । विदेशीले ढाल्ने पनि होइन । हामीले नै ढाल्ने हो, ढल्ने हो भने । सडकबाट हो भने नेपाली जनताले ढाल्ने हो । संसदबाट ढाल्ने हो भने हामीले ढाल्ने हो । चिन्ता गर्नुपर्ने विषय होइन ।

  • दल विभाजनसम्बन्धी अध्यादेश तपाईंले रोक्नु भएको हो रे नि ?

होइन । दल विभाजनसम्बन्धी अध्यादेश रोक्न म को हुँ र ? मैले किन रोक्ने ? तर, अहिलेको सरकारको प्राथमिकता दल विभाजन गर्ने हो ? प्राथमिकतामा पार्ने हो भने कर्मचारी ऐन ल्याउँ, प्रहरी ऐन ल्याउँ न । दल विभाजन नै अहिले किन ल्याउनु प¥यो । के यस्तो अप्ठ्यारो प¥यो कि दल विभाजन ऐन ल्याएर पार्टी फुटाउन उद्यत हुने ?

मिनबहादुर गुरुङले आफूविरुद्ध मुद्दा चलिरहेको बेला एमालेलाई जुन जग्गा दान दिनुभयो । त्यसले मान्छेमा शङ्का उब्जाएको छ ।
  • संघीय सरकारले संघीय निजामती कर्मचारी ऐन, प्रहरी समायोजन ऐनलगायतका विषय नल्याएको कारण प्रदेश सरकार कमजोर देखिएका छन् । त्यो किन ढिलाइ भइरहेको छ ?

म एउटा कुरा भन्छु । तीनवटा ठुला दलका तीन वटै ठुला नेता यी कानुन ल्याउन चाहनुहुन्न । केन्द्रमै त्यो अधिकार राख्न चाहनुहुन्छ । त्यो देखिएको छ । कति वर्ष भयो संविधान कार्यान्वयन भएको ? ९ वर्ष भयो । यति समयमा कानुन दिइसक्नु पर्ने होइन ? किन आएको छैन प्रहरी ऐन ? प्रहरीले केही कुरामा असहमति राखेको होला । उनीहरूलाई सम्झाउनु प¥यो नि त । कर्मचारीलाई सम्झाउनु प¥यो । यही कोशी प्रदेशमा १ वर्षमा ६ वटा ७ वटा मुख्यसचिव परिवर्तन हुन्छ । यसरी पनि प्रदेश चल्छ ? उहाँहरू नै चाहनुहुन्न प्रदेश चलाउन, म त्यो देखिराखेको छु ।

  • जनताले पनि संघीयता नचाहेको कुरा छ नि ?

जनताले संघीयता चाहेको छैन भने उल्टाइदिऔँ । जनमत सङ्ग्रह गरौँ संघीयता चाहिन्छ कि चाहिँदैन भनेर । म त संघीयता चाहिन्छ भन्ने मान्छे हुँ । राम्ररी गर्नुपर्छ । चलाउनु पर्छ भन्ने मान्छे हुँ । तर, कानुन दिने काम त सरकारको हो नि !

  • रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि सडकमा प्रदर्शनहरू भइरहेको छ ? यो कत्तिको जायज छ ?

कांग्रेसका मन्त्री, पूर्वमन्त्रीहरू पनि कतिपय इस्युमा जेल जानु भएको छ । तर, नेपाली कांग्रेसले जहिल्यै पनि कानुनी राज्यलाई मानेर हिँडेको छ । हामीले न्यायपालिकालाई अप्ठ्यारो पार्ने काम गरेनौँ । न्यायालयले जे भन्छ, त्यसलाई हामीले सहर्ष स्वीकार गरेर हिँडेको राजनीतिक दल हौँ । हामी डेमोक्रेसीमा विश्वास गर्छौं । रास्वपाले पनि डेमोक्रेसीमा विश्वास गर्छ भने यो भिडतन्त्रले रविलाई छोडिदेऊ भनेर हुँदैन । न्यायपालिकाले जे निर्णय गर्छ, त्यसलाई स्वीकार गरेर हिँड्नुपर्छ ।

  • धनराज गुरुङ र ऋषिकेश पोखरेललाई अनुसन्धान नै भएन नि ?

धनराज गुरुङजी पनि त्यस्ता घटनामा संलग्न हुनुहुन्छ भने छानबिन गर्नुप¥यो । धनराजजीले त संसदमै मबारे कुरा उठेको छ, मलाई पनि छानबिन गर भनेर भनिराख्नु भएको छ त । गरे भइगयो नि ! कसले रोकेको छ र ? तर, एउटा कुरा हामीले बुझ्न जरुरी छ । फौजदारी मुद्दामा जो व्यक्ति संलग्न हुन्छ, त्यो व्यक्ति नै दोषी हुन्छ । त्यसको श्रीमान्, श्रीमती वा छोराछोरी संलग्न हुँदैन । त्यो विषय हामीले बुझ्न जरुरी छ ।

यसर्थ त्यो घटनामा धनराजजीको श्रीमतीको संलग्नता छ भनेर आएको छ । ऋषिकेश पोखरेलको कुरा पनि उहाँको श्रीमती पर्नुहुन्छ । फौजदारी मुद्दामा त जो संलग्न छ, त्योमात्रै पर्ने हो । तर, ऋषिकेशजीले छानबिनको माग गरेको सुनेको छैन । धनराजजीले त संसदमै भन्नु भएको छ ।

  • नेकपा एमालेले भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गा लिने कुरा ठिक हो कि होइन ?

मिनबहादुरजीलाई म पनि चिन्छु । उहाँ समाजसेवीचाहिँ हो । उहाँले विभिन्न हस्पिटल बनाइदिनु भएको छ । अरु कुरा पनि गर्नु भएको छ । त्यो एउटा राम्रो पाटो हो । तर, आजको दिन पनि ललिता निवास प्रकरण र सम्पत्ति शुद्धीकरणमा उहाँविरुद्ध मुद्दा छ । त्यस्तो मुद्दा चलिरहेको विषयमा एमालेलाई जसरी जग्गा दान दिनुभयो, त्यसले मान्छेमा एउटा शंका उब्जिएको छ । त्यो शंका उब्जनु स्वाभाविक पनि हो । एमालेजस्तो पार्टीले त्यसलाई अहिले नस्वीकारेको भए राम्रो हुने थियो ।

सभापतिमा उठ्न त पहिले पनि म उठेकै हो । म पराजित भएकै हो । यस पटक पनि लजिकल छ, म उठ्छु ।
  • कांग्रेसको सभापतिको तयारी गर्नुपर्ने समय नजिकिँदै छ । तपाईं कहिलेदेखि गाउँगाउँ जाँदै हुनुहुन्छ ?

कांग्रेसको सभापतिको तयारी यहाँ बस्ने साथीहरूले गर्ने हो, जिल्लाजिल्लामा । महाधिवेशन प्रतिनिधि आएपछि हामी जिल्ला जिल्ला घुम्ने हो । तयारी भइरहेको छ । तयारी गरिरहेको पनि छौँ । कांग्रेसको इन्टरनल इलेक्सन हुन्छ । गाउँगाउँ गएर भोट माग्ने कुरा त सभापतिको उम्मेदवारले होइन ।

  • तपाईंले सभापतिको उम्मेदवार उठ्ने हो भनेर घोषणा त गर्नु प¥यो होला नि ?

अहिले समय छ । सभापतिमा उठ्न त पहिले पनि म उठेकै हो । म पराजित भएकै हो । यस पटक पनि लजिकल छ, म उठ्छु ।

  • कोइराला परिवारको एउटै आवाज किन हुन सकिरहेको छैन ? डा. शशांकले नेपालको प्रधानमन्त्री महिला हुनुपर्छ भनिरहनु भएको छ । गिरिजाबाबु हुँदा एउटै आवाज आउँथ्यो, त्यो किन अहिले हुन सकेको छैन ?

कोइराला परिवारको एउटै आवाज बनाउन म प्रयास गरिरहेको छु । तर, गिरिजाप्रसाद कोइराला हुँदा जस्तो हुनका लागि हामी गिरिजाप्रसाद कोइराला नै होइनौँ नि त ।

  • कोशी प्रदेश सरकारमा तपाईंको समूहले २ वटा मन्त्री माग्दै हुनुहुन्थ्यो रे । अहिले त मुख्यमन्त्री नै माग्नु हुँदैछ भन्ने चर्चा छ नि ?

 न त मलाई मुख्यमन्त्री चाहिएको छ, न मन्त्री चाहिएको छ । मलाई केही पनि चाहिएको छैन । तर, राजनीति गर्ने व्यक्तिहरूले आफ्नोमात्रै होइन, आफ्नो समूहको, आफ्नो साथीहरूको सोचाइलाई पनि सँगै लिएर हिँड्नुपर्ने हुन्छ । खाली कोशी प्रदेशमात्रै होइन । सातै प्रदेशको मैले हेरिरहेको छु, उहाँहरूले के गर्दै हुनुहुन्छ भनेर । अलिकति मलाई चित्त नबुझेको कुरा छ । त्यो कुरा म सभापतिजीसँग राख्छु ।

  • भनेपछि कोशीमा स्वास्थ्यमन्त्री अझै खाली रहन्छ ?

मन्त्री बनाउने मैले होइन । कोशी प्रदेशको संसदीय दलको नेता र पार्टीको केन्द्रीय सभापतिले बनाउने हो । मैले गर्ने कुरा होइन । मलाई सोधेको पनि छैन ।

  • तपाईंले आफ्नो भागमा २ मन्त्रालय माग्नु भयो भन्ने कुरा छ नि ?

यो भागको भन्ने कुरै छैन । यहाँ ४० प्रतिशतको कुरा पनि होइन । मैले कुनै भाग मागेको छैन । तपाईंहरू गलत प्रचारमा नलाग्नुहोस् । हो के भने राजनीति गर्दा ह्युमिलेसन भन्ने पनि हुन्छ । त्योचाहिँ मैले हेरिरहेको छु । ७ वटा प्रदेशमा उहाँहरूले के गर्दै हुनुहुन्छ ? कसरी गर्दै हुनुहुन्छ ? मसँग कति सल्लाह लिँदै हुनुहुन्छ भन्ने कुरा हेरिरहेको छु ।

  • के तपाईंलाई ह्युमिलेट गर्ने काम भइरहेको छ ?

त्यो हो कि होइन, म सभापतिसँगै कुरा गर्छु ।

  • तपाईंकै गृहप्रदेशको सरकारमा स्वास्थ्य मन्त्री नपठाउँदा तपाईंलाई पनि प्रश्न उठ्दैन ?

शेखर कोइरालाले मन्त्री दिने होइन । त्यसरी हेर्नु भयो भने अरु मन्त्रालय शेखर कोइरालाले किन नलिने ? अरु मन्त्रालय किन नदिने ? तपाईंहरूले कसरी शेखर कोइराला समूहलाई स्वास्थ्य मन्त्रालय भनिदिनु भयो ?

  • स्वास्थ्य मन्त्रालय खाली छ नि त ? प्रचार त्यही छ ।

मैले मागेको होइन । प्रचार भयो भनेर तपाईंहरूले विश्वास गर्नु पनि गलत भयो नि त ।

  • अहिले मध्यपूर्वमा तनाब देखिएको छ । इजरायल, प्यालेष्टाइन, इरान, लेवनानमा तनाब छ । शान्ति सेनामाथि पनि आक्रमण भएको छ । भारत र चीनबिच उच्चस्तरीय ढंगको वार्ता सकारात्मक देखिएको छ । उता, क्यानडा र भारत, भारत र अमेरिकाको विवाद देखिएको छ । विश्वमा देखिएको यो तनाब र द्वन्द्वमा नेपाल पनि प्रभावित हुनसक्ने कतिपयले भनिरहेका छन् । तपाईंको विश्लेषणचाहिँ के हो ? नेपाल विश्वको यो खालको तनाबमा कुन स्थानमा छ ?

नेपाल दुई ठुला छिमेकी देशको बिचमा भएकाले हामीले एकदमै संयमित भएर अगाडि जानुपर्ने आवश्यकता छ । अहिले ब्रिक्समा राम्रो कुरा भएको छ । भारत र चीनका शीर्ष नेताले सीमा क्षेत्रमा शान्ति कायम गर्ने विषयमा वार्ता गरे । त्यो हाम्रोलागि पनि राम्रो कुरा हो । दोस्रो कुरा, अहिले इजरायल, इरान, प्यालेष्टाइन, लेबनानमा लडाइँ चलिरहेको छ । यसमा विश्व धु्रवीकरण हुने खतरा देखिन्छ ।

एउटा ब्लक रसियन ब्लक र अर्को अमेरिका इजरायल अमेरिकन ब्लक हुने देखिन्छ । त्यसले भोलि अप्ठ्यारो पार्न सक्छ । यस्तै युक्रेन र रसियाको लडाइँलाई ‘जी ७’ र रसियाको लडाइँ भइरहेको छ । त्यसले गर्दा नेपालीहरू जो डायस्पोरा छन्, तिनीहरूको भविष्य के हुन्छ भन्ने चिन्ता हामी सबैलाई छ । भोलि त्यो द्वन्द्व बढ्दै गयो भने मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्था के हुन्छ ? उनीहरू फर्किए भने के अवस्था आउन सक्छ ? उनीहरूलाई फर्काउन के गर्ने ? यो सबै कुरामा अहिलेदेखि नै परराष्ट्र मन्त्रालयले गम्भीरतापूर्वक गृहकार्य गर्नुपर्छ जस्तो लाग्छ ।

नेपाल यसमा धेरै संलग्न छैन । तर, छैन भनेर हामी चुप लागेर बस्नु हुँदैन । आफ्नो नागरिकको लागि हामीले संयमित र सतर्क हुनुपर्छ ।

  • तपाईंले त्यहाँ रहेका नेपालीको सुरक्षाबारे चिन्ता गर्नुपर्छ भन्नुभयो । सामान्य बाढी आउँदा आफ्नै देशको राजधानी काठमाडौँमै ४ घण्टादेखि हात उठाएर गुहार मागेका नागरिकलाई उद्धार गर्न नसक्ने सरकारले विश्वका नेपालीको सुरक्षा कसरी गर्ला ?

यो कांग्रेस, एमालेको सरकारको मात्रै कुरा होइन । जोसुकै सरकारमा भए पनि नेपालीको सुरक्षा गर्नुपर्छ । अहिले परराष्ट्र मन्त्रालयको प्राथमिकतामा पर्नुपर्छ । खासगरी मध्यपूर्वमा रहेका नेपालीहरूलाई कसरी सुरक्षित हिसाबले राख्न सक्छौँ ? भोलि नराम्रो अवस्था त्यहाँ आयो भने उनीहरूलाई हामीले नेपाल ल्याउनु प¥यो नि ? अहिले त्यस्तो अवस्था छैन । तर, भोलिका दिनमा त्यस्तो परिस्थिति आउन सक्छ । त्यो कुरालाई ध्यान दिएर अहिलेदेखि गृहकार्य गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

नेपालले युद्धग्रस्त देशहरूसँगको कूटनीतिक सम्बन्ध कायम गर्ने विषयमा त सरकार परिवर्तनपिच्छे परराष्ट्र नीति परिवर्तन हुन्छ ? हाम्रो देशको कूटनीतिक असफलताको विषयमा विज्ञहरूले पनि बोलिरहेका छन् । अहिले परराष्ट्र मन्त्रालय कांग्रेसले नै सम्हालेको छ । तपाईंले यस विषयमा सो मन्त्रालयलाई के सुझाव दिनुभएको छ ?

मैले सुझाव दिएको छैन । दिने बेला आयो भने दिउँला । तर, तपाईंले भनेजस्तै नेपालले हाम्रो परराष्ट्र नीति कांग्रेसको, एमालेको, माओवादीको वा अन्य पार्टीको सबैको एउटै हुनुपर्छ । त्यतातिर हाम्रो ध्यान गएको पाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप