बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे

बिहीबार, ०८ कात्तिक २०८१, १२ : ५४
बिहीबार, ०८ कात्तिक २०८१

मुम्बई । सलमान खानलाई धम्की दिएर ५ करोड भारतीय रुपैयाँ माग्ने २४ वर्षीय शेख हुसेन शेख मौसिन पक्राउ परेका छन् । मुम्बईको वर्ली प्रहरीले उनलाई झारखण्डको जमशेदपुरबाट बुधबार पक्राउ गरेको हो । उनलाई आज झारखण्डबाट ट्रान्जिट रिमाण्डमा मुम्बई ल्याइएको छ ।

जमशेदपुरका तरकारी विक्रेता रहेका शेखले गत हप्ता मुम्बई ट्राफिक प्रहरीलाई ह्वाट्सएप कल गरेर फिरौती मागेका थिए। उनले आफूलाई लरेन्स गिरोहको सदस्य घोषणा गरेका थिए । मुम्बईका एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार म्यासेज पठाउने व्यक्तिको खोजी गर्न तत्कालै अनुसन्धान थालिएको थियो ।

यसैबिच, प्रहरीले पछि सोही मोबाइल नम्बरबाट माफीको सन्देश प्राप्त गरेको थियो। प्रहरीले त्यो नम्बरलाई झारखण्डमा ट्रेस गर्‍यो र आरोपीलाई पक्राउ गर्न टोली पठाएको थियो। मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो– ‘यसलाई हल्का रूपमा नलिनुहोस् । यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुस्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ । पैसा नदिए सलमानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ ।’

गत १२ अक्टोबरमा सलमानका निकटतम मित्र तथा एनसीपी नेता बाबा सिद्दिकीको हत्या भएको थियो । यो हत्याको जिम्मेवारी लरेन्स गिरोहले लिएको थियो । लरेन्स गिरोहले पनि सलमान खानलाई धेरै वर्षदेखि मार्ने धम्की दिइरहेको छ । यस्तो अवस्थामा बाबा सिद्दिकीको हत्यापछि सलमानको सुरक्षा बढाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप