बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रमुख प्रशासकीय अधिकृत पठाउन बेवास्ता

सङ्घीय मामिला मन्त्रालयको ‘बरन्डा’मा १०५ कर्मचारी

पालिकामा २२९ प्रशासकीय अधिकृत रिक्त
बिहीबार, ०८ कात्तिक २०८१, १४ : ००
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरबन्दी अनुसार स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन बेवास्ता गर्दै आएको छ । देशभर रहेका ७५३ पालिकामध्ये २२९ पालिकामा दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत छैनन् ।

यो संख्या तत्काल रिक्त भएको पनि हैन । लामो समयदेखि सो संख्या बराबर पालिकाका प्रशासन प्रमुख रिक्त हुँदै आए पनि मन्त्रालयले निमित्तको जिम्मेवारी दिएर काम चलाउँदै आएको छ ।

मंगलबार मन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका २३० पालिकामा नयाँ नियुक्त हुने अधिकृतस्तरको पहिलो कर्मचारीलाई पहिलो प्राथमिकता दिने नीतिगत व्यवस्था गरेको भन्दै आफ्नो उपलब्धिको २५ नम्बर बुँदामा समेटेका छन् ।

मन्त्री गुप्ताले उपलब्धि दाबी गर्दै भनेका छन्–‘प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका स्थानीय तहमा वरिष्ठ कर्मचारीलाई मात्र निमित्त दिने व्यवस्था गरिएको छ । हाल रिक्त २३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गर्न नयाँ नियुक्त हुने अधिकृतस्तर कर्मचारीलाई पहिलो पदस्थापन स्थानीय तहमा हुने नीतिगत व्यवस्था गरिएको छ ।’

स्थानीय तहमा ठुलो मात्रामा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी खाली भइरहेका बेला मन्त्रालयमा १०५ कर्मचारीलाई जगेडा (बरन्डा)मा राखिएको छ । अत्तिरिक्त समूहमा रहेका उनीहरू मन्त्रालय आउँछन् र हाजिर गरेर घर फर्कन्छन् ।

अतिरिक्त समूहमा सहसचिव १ जना, उपसचिव ३४ जना, शाखा अधिकृत २२ जना, अन्य पदका २२ जना र समायोजनबाट फिर्ता भएका २२ कर्मचारी गरी १०५ जना जिम्मेवारीविहीन छन् ।

उनीहरूलाई रिक्त रहेको स्थानबाट माग भइ आएको अवस्थामा सरुवा गरिने मन्त्रालयका कर्मचारी बताउँछन् । यति ठुलो संख्यामा कर्मचारी जगेडा राख्नुको सट्टा खाली रहेका स्थानीय तहमा सरुवा गरे त्यहाँको सेवा प्रवाहमा सहजता हुने मन्त्रालयकै कर्मचारी बताउँछन् ।

पालिकामा कहाँ कति रिक्त ?

देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकामा गरी २२९ प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । रिक्त रहेको ठाउँमा निमित्त कर्मचारीले कार्यसञ्चालन गरिरहेका छन् ।

७५३ पालिकामध्ये ५२४ मा पदपूर्ति भएको छ भने २२९ मा दरबन्दी रिक्त छ । ६ वटा महानगरपालिकामा दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति भएको छ । ११ उपमहानगरपालिकामध्ये २ वटामा पदपूर्ति भएको छ भने ९ वटामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छ ।

२७६ नगरपालिकामध्ये १५५ मा पदपूर्ति भएको छ । १२१ नगरपालिकामा प्रमुख प्रशासकीयको दरबन्दी रिक्त छ । ४६० गाउँपालिकामामध्ये ३६१ मामात्र प्रशासकीय अधिकृत छन् भने ९९ वटा गाउँपालिकामा यो दरबन्दी रिक्त छ ।

पालिकाहरूमा दरबन्दी अनुसारका कर्मचारीको अभावका कारण स्थानीय प्रशासनको कामकाजमा ढिलाइ भइरहेको छ भने विकास निर्माणको काममा पनि प्रभाव पर्ने गरेको जनप्रतिनिधिहरूले बताउँदै आएका छन् ।

मन्त्री गुप्ता भन्छन्– पदपूर्तिका लागि अन्य मन्त्रालयमा खाली भएका कर्मचारी तानिरहेका छौँ

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृतको पदपूर्तिका लागि अन्य मन्त्रालयमा रिक्त रहेका कर्मचारीलाई आफ्नो मन्त्रालयमा ल्याउने काम भइरहेको बताए ।

रातोपाटीसँग कुरा गर्दै मन्त्री गुप्ताले भने–‘दरबन्दीभन्दा बढी कर्मचारी रहेका मन्त्रालयबाट कर्मचारी तानेर हामी स्थानीय तहमा पठाउने तरखरमा छौँ । आजमात्र पनि बाह्र–तेह्र ठाउँमा त्यसरी कर्मचारी पठाइसकेका छौँ ।’

मन्त्री गुप्ताले मन्त्रालयमा जगेडा रहेका १०५ कर्मचारी सबै काम गर्न सक्षम अवस्थामा नरहेको बताए । जसमध्ये दश–पन्ध्र जना रोगी बिरामी रहेको, १५ जना हाराहारी निलम्बनमा परेका कर्मचारी रहेको, केही कर्मचारी स्थानीय पालिकाबाट फिर्ता भएको उनको भनाइ छ । कतिपय कर्मचारी अध्ययन बिदामा समेत रहेकाले उनीहरू सबैलाई खटाउन सकिने अवस्था नरहेको मन्त्री गुप्ताको भनाइ छ ।

कतिपय कर्मचारी निरन्तर स्थानीय पालिकामा काम गरेकाले उनीहरूलाई पटकपटक सोही ठाउँमा जिम्मेवारी दिन उपयुक्त नहुने उनले प्रस्ट पारे ।

यस्तै मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले पालिकामा बेलाबेला कर्मचारी परिवर्तन भइरहने कारण प्रमुख प्रशासकीय अधिकृतको रिक्तता भइरहने बताए ।

गत महिना १ सय हाराहारी नयाँ आएका अधिकृतलाई पालिकामा पदपूर्ति गरे पनि रिक्त स्थानमा पदपूर्ति पूर्ण हुन नसकेको उनको भनाइ छ ।

प्रवक्ता अधिकारीले भने, ‘कुनै कर्मचारीको सरुवा हुन्छ । कुनैले स्थानीय तह छोडेर जाने गर्छन् । त्यही भएर रिक्त भएको हो । नयाँ आउने अधिकृतबाट पदपूर्ति गर्दै जाने नीति लिएका छौँ । भएका जनशक्तिहरूलाई क्रमशः व्यवस्थापन गर्दै जाने मन्त्रालयको तयारी छ ।’

यस्तै मन्त्रालयमा रहेका अतिरिक्त समूहका कर्मचारीको पनि व्यवस्थापन गर्दै जाने उनले बताए ।

महानगरपालिका र उपमहानगरपालिकामा सहसचिव तहको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने गरिएको छ । यस्तै नगरपालिकामा उपसचिव तहको कर्मचारी र गाउँपालिकामा अधिकृत तहको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप