बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

इङ्ल्यान्डका सेफ अली जेब सुदूरपश्चिम रोयल्समा

बिहीबार, ०८ कात्तिक २०८१, ११ : ४१
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले इङ्ल्यान्डका क्रिकेटर सेफ अली जेबलाई टोलीमा आबद्ध गरेको छ ।

२६ वर्षीय बायाँ हाते अलराउन्डरसँग काउन्टी क्रिकेट खेलेको अनुभव छ । उनले गत महिना सम्पन्न इङ्ल्यान्डको टी–२० घरेलु प्रतियोगितामा नर्थएम्पटनसियरबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सन् २०१५ मा केवल १६ वर्षको उमेरमा प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।

त्यसयता उनले इङ्ल्यान्डका लागि उमेर समूहको प्रतियोगिताहरु पनि खेलिसकेका छन् । टी–२० खेलजीवनमा एक सय ४० भन्दा माथिको स्ट्राइक रेटमा एक हजार दुई सय रन बनाएका उनले टोलीलाई आवश्यक पर्दा बलिङ पनि गर्दै आएका छन् ।

सुदूरपश्चिम रोयल्सले यसअघि पहिलो विदेशी खेलाडीको रुपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमलेनलाई अनुबन्ध गरिसकेको छ । सुदूरपश्चि रोयल्सको प्रमुख मेन्टरका रुपमा अस्ट्रेलियाका विश्वकप विजेता पूर्वक्रिकेटर ब्राड हज रहेका छन् ।

सुदूरपश्चिम रोयल्स ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको क्लब हो । ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिले सुदूरपश्चिम रोयल्सको स्वामित्व एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ रुपैयाँमा खरिद गरेको हो ।

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी भने दीपेन्द्रसिंह ऐरी हुन् । उनी राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर पनि हुन् । केही समयअघि काठमाडौँमा भएको खेलाडी अक्सन (खरिद–बिक्री प्रक्रिया) मा सुदूरपश्चिम रोयल्सले एक खेलाडी आरिफ शेखलाई अधिकतम १५ लाख रुपैयाँमा खरिद गरेको थियो ।

यसैगरी, सुदूरपश्चिम रोयल्सले अविनाष बोहरालाई १२ लाख रुपैयाँमा आफ्नो टोलीमा भित्राएको थियो । सुदूरपश्चिम रोयल्सले विनोद भण्डारीका लागि भने १० लाख रुपैयाँ खर्चिएको थियो । ईशान पाण्डेलाई सुदूरपश्चिम रोयल्सले नौ लाख ५० हजार रुपैयाँमा किनेको थियो ।

यसका अतिरिक्त, सुदूरपश्चिम रोयल्सले अर्जुन कुमाललाई सात लाख ५० हजार तथा खड्कबहादुर बोहरा र नरेश बुढाऐरलाई पाँच–पाँच लाख रुपैयाँमा खरिद गरेको थियो ।   सुदूरपश्चिम रोयल्सले भोजराज भट्टलाई चार लाख ५० हजार, अमित श्रेष्ठलाई तीन लाख ५० हजार र नरेन साउदलाई दुई लाख रुपैयाँमा किनेको थियो ।

सुदूरपश्चिम रोयल्सले अक्सनमा कुल ७४ लाख रुपैयाँ खर्चिएको थियो । सुदूरपश्चिम रोयल्सको प्रमुख प्रशिक्षक जगत टमटा हुन् । एनपीएपल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप