बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बैंकहरूको वित्तीय विवरण

नाफामा देखिएको उतारचढावले बैंकहरूको र्‍याङ्किङमा उलटफेर

२० मध्ये कुन बैंकले कति कमाए ?
बिहीबार, ०८ कात्तिक २०८१, ११ : २०
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । देशमा सबैभन्दा उत्कृष्ट बैंक कुन हो ? यो प्रश्नको उत्तर त्यति सहज छैन । बैंकको वित्तीय विवरणमा त्यस्ता धेरै सूचकहरू हुन्छन् जसले बैंकलाई प्रतिस्पर्धी बैंकसँगभन्दा बलियो वा कमजोर अवस्था देखाउँछ । तर, आम रुपमा भने कुन बैंकले धेरै नाफा कमायो भन्ने आधारमा बैंकहरुको क्रम (र्‍याङ्किङ) निर्धारण गरिन्छ । 

अहिले नेपालमा २० वटा वाणिज्य बैंकहरु अस्तित्वमा छन् ।ती बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार प्रथम त्रैमासमानाफामा तीव्र उतारचढाव देखिएको छ । यो आधारमा हेर्दा अघिल्लो वर्ष नाफाको आधारमा हुँदै आएको र्‍याङ्किङमा पनि ठुलो उतारचढाव देखिन्छ । 

यस्तो छ २० बैंकको नाफा

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वाणिज्य बैंकहरुको नाफा २०.५२ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकहरुले १६ अर्ब १८ करोड रुपैयाँ बराबरको नाफा कमाएको सम्बन्धित बैंकहरुले जारी गरेको विवरणले देखाएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकहरुले १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको नाफा कमाएका थिए । 

यो अवधिमा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा धेरै नबिल बैंकले २ अर्ब ५ करोड रुपैयाँ कमाएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकले १ अर्ब ५१ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकले १ अर्ब ४६ करोड, प्राइम कमर्शियल बैंकको १ अर्ब २८ करोड तथा एनएमबि बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाउँदै सर्वाधिक नाफा कमाउने पाँच बैंकभित्र पर्न सफल भएका छन् । 

त्यस्तै, एभरेस्ट बैंकले १ अर्ब १२ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ४ करोड नाफा कमाउँदै एकै त्रैमासमा अर्ब भन्दा धेरै नाफा गर्न सफल भएका छन् । 

यो अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८६ करोड, नेपाल एसबीआई बैंकले ८१ करोड, हिमालयन बैंकले ७२ करोड, नेपाल बैंकले ६० करोड, लक्ष्मी बैंकले ५३ करोड र माछापुच्छ्रे बैंकले ५० करोड रुपैयाँ बराबरको नाफा कमाएको छ । 

त्यस्तै, सानिमा बैंकले ३९ करोड, सिद्धार्थ बैंकले ३८ करोड, सिटिजन्स बैंक र कृषि विकास बैंकले समान १९ करोड, राष्ट्रिय वाणिज्य बैंकले १५ करोड र एनआईसी एसिया बैंकले ११ करोड रुपैयाँ नाफा कमाएका छन् ।

बैंकहरुले कमाएको नाफालाई आधार मान्ने हो भने दुई अवधिको तुलना गर्दा बैंकहरुको नाफामा झण्डै ८०० प्रतिशतको वृद्धिदेखि ८९ प्रतिशतसम्मको गिरावट देखिन्छ । यो अवधिमा ७ वटा बैंकको नाफा घटेको छ भने १३ वटा बैंकको नाफा भने बढेको छ । नाफा बढेको देखिए पनि अधिकांश बैंकहरुको निष्क्रिय कर्जा भने बढेको कारण आशावादी हुने ठाउँ भने देखिएको छैन । 

Capture

नाफामा ‘उलटफेर’

समीक्षा अवधिमा बैंकहरुले कमाएको नाफालाई आधार मान्दा क्रममा समेत ९ स्थान वृद्धिदेखि १३ स्थानको गिरावटसम्मको अवस्था देखिएको छ । यसपटक नाफासँगै नाफाको क्रममा समेत सबैभन्दा कमजोर पुछारमा एनआईसी एसिया बैंक देखिएको छ । सो बैंकको नाफा ८९ प्रतिशतले घट्दा नाफाको आधारमा २० औँ स्थानमा पुगेको हो, अघिल्लो वर्ष बैंक सातौं स्थानमा थियो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको नाफा ८२ प्रतिशतले घट्दा नाफाको आधारमा १९ औँ स्थानमा पुगेको छ, गत वर्षको असोजमा यो बैंक नवौं स्थानमा थियो । 

नाफा बढे पनि यो अवधिमा कृषि विकास बैंक १८ औँ स्थानमा छ । अघिल्लो वर्षको असोजसम्म नोक्सानीको अवस्थामा रहेको बैंक यो वर्ष नाफामा गए पनि बैंकले दुई स्थान मात्रै सुधार गर्न सकेको हो । 

त्यस्तै, सिटिजन्स बैंक ५० प्रतिशत घट्दा दुई स्थान तल झर्दै १७ औँ स्थानमा रहेको छ । सिद्धार्थ बैंकले ७९९ प्रतिशत नाफा बढाए पनि तीन स्थान मात्रैको सुधार गर्दै १६ औँ स्थानमा कायम भएको छ । 

त्यस्तै, सानिमा बैंकको नाफा झन्डै १७ प्रतिशतले घट्दा दुई स्थान गिरावटसहित १५ औँ स्थानमा, ६ प्रतिशत नाफा घट्दा दुई स्थान गिरावट सहित माछापुच्छ्रे बैंक नाफाको आधारमा १४ औँ स्थानमा कायम भएको छ । 

अघिल्लो वर्ष कमजोर प्रदर्शन गरेका लक्ष्मी सनराइज बैंक र नेपाल बैंकले यो वर्ष क्रमशः ४२० र ४७९ प्रतिशत नाफा बढाएका छन् । यसबाट पाँच/पाँच स्थानको सुधार भए पनि ती बैंकहरु औसतभन्दा तल अर्थात् क्रमशः १३ र १२ स्थानमा कायम छन् । 


हिमालयन बैंकको नाफा यो अवधिमा ३१ प्रतिशतले घट्दा नाफाको आधारमा बैंक छ स्थान घट्दै ११ औँ स्थानमा ओर्लिएको छ । ७० प्रतिशत नाफा वृद्धिसहित ४ स्थान सुधार गरेर नेपाल एसबीआई बैंक पहिलो १० बैंकमा पर्न सफल भएको छ । 

यो अवधिमा सबैभन्दा धेरै नाफा कमाएर पहिलो स्थान हासिल गरेको नबिल बैंकले नाफामा झन्डै ४० प्रतिशत सुधार गरेको छ । योसँगै अघिल्लो वर्षभन्दा एक स्थान माथि पुग्न सफल भएको हो । ग्लोबल आईएमई बैंकले २३ प्रतिशत नाफा बढाएर एक स्थान नै सुधार गरेको छ । अघिल्लो वर्ष तेस्रो रहेको उक्त बैंक अहिले दोस्रो स्थानमा उक्लिएको हो । 

अघिल्लो वर्ष पहिलो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले भने यो अवधिमा ३ प्रतिशत नाफा घटाउँदा २ स्थान गुमाउनु परेको छ । प्राइम बैंकले नाफामा झन्डै १२ प्रतिशत सुधार गरे पनि अघिल्लो वर्षको जस्तै चौथो स्थानलाई निरन्तरता दिएको छ । 

एनएमबि बैंक, एभरेस्ट बैंक कुमारी बैंकको स्थान यो अवधिमा उच्च सुधार देखिएको छ । झन्डै १९ प्रतिशत नाफा बढाएको एनएमबि नाफाको आधारमा तीन स्थान माथि उक्लिँदै पाँचौँ स्थानमा छ । एभरेस्ट बैंकले ४४ प्रतिशत नाफा बढाएर पाँच स्थान माथि उक्लिँदै छैटौँ र कुमारी बैंकले ३०८ प्रतिशत नाफा बढाएर नौ स्थान सुधार गर्दै सातौँ स्थान कायम गरेको छ । 

अघिल्लो वर्ष छैटौँ स्थानमा रहेको प्रभु बैंकले दुई स्थान सुधार गर्दै आठौँ स्थानमा रहँदा स्ट्यान्डर्ड चार्टर्ड बैंक एक स्थानको सुधारसहित नवौँ स्थानमा रहेको छ ।

Capture

कसरी बढ्यो अधिकांश बैंकको नाफा ?

यो वर्ष बैंक तथा वित्तीय संस्थाको व्यवसाय खासै हुन सकेको छैन । बजारमा कर्जाको माग नभएर तरलता फालाफाल हुँदा समेत हुँदा समेत  बैंकिङ क्षेत्रको नाफा भने बढेको देखिन्छ । तर, यस्तो अवस्थामा नाफा कसरी बढ्न सक्यो त ? वित्तीय क्षेत्रका विज्ञहरू यसका केही कारण रहेको बताउँछन् । 

पूर्व बैंकर तथा वित्तीय क्षेत्रका विश्लेषक अनलराज भट्टराई अहिले बैंकको नाफा बढेको देखिनुमा राष्ट्र बैंकले दिएको सहुलियत, बैंक तथा वित्तीय संस्थाको घट्दै गएको कस्ट अफ फन्ड घट्नु, अघिल्लो वर्षको तुलनामा निष्क्रिय कर्जा बढ्ने क्रममा सुधार आउनु र पर्याप्त ऋण प्रवाह नहुनु मुख्य कारण रहेको बताउँछन् । 

राष्ट्र बैंकले यसपटक मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थालाई विभिन्न सुविधाहरु दिएको छ । प्रोभिनिङको दर घटाएको छ, समस्यामा रहेका ऋणहरुलाई असल कर्जामा वर्गीकरण गरिदिएको छ । यी कारणले बैंकको नाफा यो अवधिमा बढेको भट्टराई बताउँछन् । 

त्यस्तै, प्रत्येक महिना घट्दै गएको ब्याजदरका कारण बैंकहरुको कस्ट अफ फन्ड घट्दै गएको र यसले पर्याप्त स्प्रेडसहितको नाफा प्राप्त गर्नसक्ने अवस्था बनेको देखिन्छ । यो कारणले पनि नाफामा केही सुधार आएको उनको भनाइ छ । त्यस्तै, यो वर्ष निष्क्रिय कर्जा बढे पनि अघिल्लो वर्षकै रफ्तारमा नबढ्दा तुलनात्मक रूपमा प्रोभिजनिङ कम गर्नुपरेकोले समेत नाफा बढेको देखिएको उनको भनाइ छ । 

त्यसो त कर्जा पर्याप्त नबढ्नु पनि नाफा धेरै देखिने एउटा कारण रहेको उनको भनाइ छ । यो अवधिमा पर्याप्त कर्जा गएको भए यसको १.१ प्रतिशत प्रोभिजनिङ गर्नुपर्थ्यो, त्यसो गर्नु नपर्दा पनि अल्पकालीन रूपमा नाफा बढेको जस्तो देखियो, यसले पनि केही हदसम्म नाफा बढेकै देखिन्छ । यद्यपि यी कारणहरूले बैंकको स्थायित्वलाई प्रतिनिधित्व नगर्ने उनको भनाइ छ ।

बैंकहरुको नाफा घट्नुको कारण 

यो अवधिमा केही बैंकहरुको नाफामा भने गम्भीर विचलन देखिएको छ । बैंकहरुको नाफा बढ्ने कारणको लाभ सम्बन्धित बैंकहरुले प्राप्त गर्न नसक्नु यसको परिणाम भएको देखिन्छ । 

पूर्व बैंकर भट्टराई बजारमा तरलता फालाफाल भएको अवस्थामा पनि कस्ट अफ फन्ड घटाउन नसक्ने, निष्क्रिय कर्जा पहिलेभन्दा पनि धेरै बढ्दै जाने लगायतको कारणले नाफा घटेको बताउँछन् । भट्टराई भन्छन्, ‘बैंकहरुले प्रवाह गरेको कर्जाको वर्गीकरण र अवस्थाले त्यो बैंकको वित्तीय स्वास्थ्यलाई असर गर्छ । अहिलेको अवस्थामा नाफा घट्नुले बैंकको वित्तीय स्वास्थ्य राम्रो छैन कि भन्ने संकेत गर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप