आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा

बिहीबार, ०८ कात्तिक २०८१, ११ : १८
बिहीबार, ०८ कात्तिक २०८१

-गोपालप्रसाद बराल

महोत्तरी । दीपावली र छठको आगमनसँगै महोत्तरीसहित मधेशकाका हटियामा जताततै माटाका भाँडा देखिन्छन् । सामान राख्ने तौला, दही जमाउने छ्याँची, पानी राख्ने घडा, बत्ती बाल्ने दियो, छ्याँची छोप्ने ढकन, र कलशका रूपमा प्रयोग हुने अम्खोरा र छठ पर्व लगत्तै सुरु हुने सामाचकेवा तथा त्यसबेला खेलिने हात्ती र खेलौनासहितका माटाका भाँडा हाटका आकर्षण बनेका छन् । 

मिथिला परम्परामा माटाका भाँडावर्तन शुद्ध हुने विश्वास तथा प्रयोग गरिने प्रचलनले यी पर्वमा बस्तीपिच्छेका बजारमा उत्साहपूर्वक क्रयविक्रय जारी छ । अन्य पर्वका  बेला प्रायः नदेखिने कुम्भकारहरू पनि छैटका बेला नयाँ उमङ्गका साथ बजारमा भेटिन्छन् । उनीहरूका हात साँझबिहान निरन्तर चक्रमा व्यस्त छन् । कतिपय ग्राहकले पेस्की दिएर  भाँडा बनाइ दिन माग गरेका छन् । यस्ता ग्राहकको फर्माइस र बजारमा भाँडाको माग बढेपछि अहिले कुम्हाललाई दोमट माटो खोजेर ल्याउने, धुल्याउने, मुछ्ने र थरिथरिका भाँडा बनाउन चक्र घुमाउन भ्याइनभ्याइ छ ।

“कि करु हजुर, अखैन सिजन अई, फेरु दिवाली, छठके बाद त हमरासबके खोजबाला कोई नई रहत, ताहीद्वारे आन सब काम छोइडक बर्तन बन्बमे लागल छी” (के गरौं हजुर, अहिले यी भाँडाको बेला छ, दीपावली/छठपछि हामीलाई खोज्ने कोही हुँदैनन्, त्यसैले अहिले अरु सबै काम छाडेर भाँडा बनाउन जुटेका छौँ) औरही नगरपालिका–४ श्रीपुर कविलाशाका ५० वर्षीय सुरेश पण्डित कुम्हाल भन्छन् ।

केही दशकअघिसम्म दैनिक प्रयोजनमा प्रयोग हुने माटाका भाँडा अब यहाँका भान्सामा देखिन छाडेका छन् । माटाका भाँडामा राखिएका सामग्री शुद्ध रहने विश्वास कायमै रहेपनि यी सानो ठक्करमै वा झरेर प्याट्टै फुट्ने भएपछि आम उपभोक्ताले अब दैनिक प्रयोजनका धातु र प्लाष्टिकका भाँडा प्रयोग गर्न थालेका छन् ।  अन्यबेला खासै प्रयोगमा आउन छाडे पनि दीपावली र छठमा यिनै भाँडा प्रयोग गर्नपर्ने धार्मिक मान्यता र विश्वासले अहिले यस भेगका सबै हाट र बस्तीबस्तीमा माटाका भाँडाका छुट्टै बजार जमेका हुन् ।

वैदिक परम्परा, धार्मिक मान्यता र पवित्रताको भावले गर्दा दीपावली र छठमा माटाका भाँडाको प्रयोगले निरन्तरता पाउँदै आएको मिथिलाका संस्कृतिविद्को धारणा छ । पर्वअनुष्ठानका सबै विधिका सामान राख्न नयाँ भाँडा प्रयोग गरिनुपर्ने स्थापित परम्पराले अहिले माटाका भाँडाको माग हुने गरेको संंस्कृतिविद् एवं साहित्यकार जलेश्वर नगरपालिकाको बखरी बस्तीका बासिन्दा ८५ वर्षीय महेश्वर राय बताउँछन् ।

हाल पर्वविशेषमा बिक्री हुने भाँडाकै आर्जनबाट आफ्नो चाडपर्व धान्नसँगै  वर्षभरिको नगद खर्चको जोहो गरिन पर्ने हुँदा सपरिवार यसै काममा जोतिनु परेको भङ्गाहा–५ भूचक्रपुरका सीताराम पण्डित कुम्हाल बताउँछन् ।  ‘‘पहिले हाम्रो गुजाराको पेसा नै यही थियो, अब भने दैनिक आवश्यकतामा प्लाष्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएका छौँ” सीताराम भन्छन्, “वर्षभरिको गुजारा नै त हैन, थोरथार नगद खर्चको जोहो र चाडपर्वको खर्च भने अहिलेको मेहनतले धान्छ ।”

दीपावली र छठ पर्वका अवसरमा महोत्तरीका १५ वटा स्थानीयतहका बजारमा पछिल्ला तीन वर्षको खरिदबिक्री सालाखाला ५० लाख सेरोफेरोको कारोबार हुने गरेको महोत्तरीका उद्योग वाणिज्य सङ्घका पदाधिकारी बताउँछन् । विगतका आठ गाविस  समेटेर बनेको जिल्लाको सबैभन्दा बढी भूगोल र जनसङ्ख्या ओगटेको बर्दिबास नगरक्षेत्रमा १५ लाख हाराहारीमा  माटाका भाँडाको कारोबार भएको बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्का बताउँछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप