बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

न्युजिल्यान्डका प्रभावशाली अलराउन्डर जेम्स निसाम जनकपुर बोल्ट्समा

बिहीबार, ०८ कात्तिक २०८१, ११ : ००
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले निकट भविष्यमा आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा न्युजिल्यान्डका चर्चित अलराउन्डर जेम्स निसामले जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

आगामी एनपीएलका लागि ३४ वर्षीय प्रभावशाली अलराउन्डर जेम्स निसामलाई टोलीमा अनुबन्ध गरिएको जनकपुर बोल्ट्सले जनाएको छ । जेम्स निसामले विश्वका थुप्रै चर्चित फ्रेन्चाइज प्रतियोगिता खेलिसकेका छन् ।

उनी इन्डियन प्रिमियर लिग क्लबहरुसँग पनि जोडिइसकेका छन् । यी चर्चित अलराउन्डरले न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् ।

उनले न्युजिल्यान्डका लागि १२ टेस्टको २२ पालीमा कुल सात सय नौ रन बनाएका छन् । उनले टेस्ट क्रिकेटमा दुई शतक र चार अर्धशतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनले बनाएको उच्च स्कोर अविजित एक सय ३७ रन हो ।

यसैगरी, बायाँहाते यी ब्याट्सम्यानले ७६ एकदिवसीय अन्तर्राष्ट्रियको ६५ पालीमा कुल एक हजार चार सय ९५ रन बनाएका छन् । उनले यो ढाँचाको क्रिकेटमा सातवटा अर्धशतक पनि प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर भने अविजित ९७ रन हो ।

यसैगरी, उनले ७९ टी–२० अन्तर्राष्ट्रियको ६३ पालीमा कुल नौ सय ४४ रन बनाएका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा बनाएको उच्च स्कोर भने अविजित ४८ रन हो । ब्याटिङ बायाँ हातले गरे पनि उनी बलिङ भने दायाँ हातले गर्छन् ।

मध्यमतेज गतिका बलर जेम्स निसामले एक सयभन्दा बढी अन्तर्राष्ट्रिय विकेट पनि लिइसकेका छन् । उनले टेस्टमा १४, एकदिवसीय अन्तर्राष्ट्रियमा ७१ र टी–२० अन्तर्राष्ट्रियमा ३९ विकेट लिएका छन् । यसका अतिरिक्त उनले थुप्रै प्रथम श्रेणीको क्रिकेट र लिस्ट ‘ए’ क्रिकेट पनि खेलेका छन् ।

जनकपुर बोल्ट्स ड्रिम स्पोर्टस प्रालिको स्वामित्वमा रहेको क्लब हो । ड्रिम स्पोर्टस प्रालिले जनकपुर बोल्ट्सलाई दुई करोड पाँच लाख रुपैयाँमा खरिद गरेको हो । आसिफ शेख जनकपुर बोल्ट्सका मार्की खेलाडी हुन् ।

केही समयअघि काठमाडौँमा सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा जनकपुर बोल्ट्सले दुईजना खेलाडीलाई अधिकतम १५–१५ लाख रुपैयाँमा खरिद गरेको थियो । जनकपुर बोल्ट्सले १५ लाख रुपैयाँमा खरिद गरेका खेलाडी ललित राजवंशी र अनिल कुमार साह हुन् ।

यसका अतिरिक्त जनकपुर बोल्ट्सले अक्सनमा तीन खेलाडीका लागि १०–१० लाख रुपैयाँ खर्च गरेको थियो । जनकपुर बोल्ट्सले रुपेश कुमार सिंह, किशोर महतो र आकाश त्रिपाठीलाई १०–१० लाख रुपैयाँमा खरिद गरेको हो ।

जनकपुर बोल्ट्सले तीनजना खेलाडीलाई पाँच–पाँच लाख रुपैयाँमा खरिद गरेको थियो । जनकपुर बोल्ट्सले पाँच लाख रुपैयाँमा खरिद गरेका खेलाडी शुभ कंसाकार, शर मल्ल र हेमन्त धामी हुन् । जनकपुर बोल्ट्सले अरनिकोप्रसाद यादबलाई दुई लाख २५ हजार र तुलबहादुर थापामगरलाई दुई लाख रुपैयाँमा किनेको थियो ।

जनकपुर बोल्ट्सले अक्सनमा ७९ लाख २५ हजार रुपैयाँ खर्चिएको थियो । जनकपुर बोल्ट्सको प्रमुख प्रशिक्षक पुबुदु दासानायके हुन् । उनले लामो समय नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको भूमिका पनि निर्वाह गरेका थिए । उनकै प्रशिक्षकत्वमा नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी–२० विश्वकप खेलेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप