बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
पहिलो टेस्ट क्रिकेट

बंगलादेशलाई हराउन दक्षिण अफ्रिकाले १०६ रन बनाउनु पर्ने, जन्मदिनमा शतकबाट चुके मिराज

बिहीबार, ०८ कात्तिक २०८१, १० : १२
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । घरेलु टोली बंगलादेशविरुद्धको पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले जितका लागि एक सय ६ रनको लक्ष्य पाएको छ । मिरपुरमा जारी पहिलो टेस्टको चौथो दिन बिहीबार बंगलादेशी टोली आफ्नो दोस्रो पालीमा तीन सय सात रन बनाउँदै अअलआउट भयो ।

बंगलादेशले सात विकेटको नोक्सानीमा दुई सय ८३ रनको स्थितिबाट चौथो दिनको खेल अगाडि बढाएको थियो । दोस्रो पालीमा बंगलादेशका लागि मेहदी हसन मिराजले ९७ रनको योगदान गरे । तल्लो क्रमका ब्याट्सम्यान मेहदी हसन मिराज र जाकेर अलीले जिम्मेबारीपूर्ण तरिकाले ब्याटिङ गरे ।

टोली निकै अप्ठ्यारोमा रहँदा यी दुबै ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका थिए । मेहदी हसन मिराजले एक सय ९१ बलको सामना गरी एक छक्का र १० चौका प्रहार गरे । उनले टेस्ट क्रिकेटमा बनाएको यो नवौँ अर्धशतक हो । बिहीबार नै आफ्नो २७औँ जन्मदिन मनाउने तयारीमा रहेका उनी खेलजीवनको दोस्रो टेस्ट शतक प्रहार गर्नबाट केवल तीन रनले चुके ।

यसैगरी, आठौँ नम्बरमा क्रिज समाल्न आएका जाकेर अलीले पनि टोलीको खातामा ५८ रन थपे । उनले एक सय ११ बलको सामना गरी सात चौका पनि हिर्काए । २६ वर्षीय जोकर अलीले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो अर्धसतक हो ।   

जाकेर अलीले यही खेलमार्फत टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका हुन् । उनले हालसम्म बंगलादेशका लागि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छैनन् । राष्ट्रिय टोलीबाट उनले १९ वटा टी–२० अन्तर्राष्ट्रिय भने खेलेका छन् ।

बंगलादेशले दोस्रो पालीमा केवल एक सय १२ रनको कुल स्कोरमा आफ्नो छैटौँ विकेट गुमाएको थियो । त्यसपछि मेहदी हसन मिराज र जाकेर अलीले धैयर्तापूर्वक ब्याटिङ गर्दै टोलीको स्कोरलाई दुई सय ५० रनको सम्मानजनक स्थितिसम्म पु¥याएका थिए । यी दुबै ब्याट्सम्यानले नै बंगलादेशलाई पाली अन्तरको सम्भावित हारबाट जोगाएका हुन् ।

दोस्रो पालीमा पनि बंगलादेशी ब्याट्सम्यानहरुको सुरुवात भने निकै निराशाजनक थियो । माथिल्लो क्रमका कुनै पनि बंगलादेशी ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । महमदुल हसन जोय ४० रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका थिए ।

यसैगरी, अनुभवी ब्याट्सम्यान मुसफिकर रहिम पनि ३३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । ओपनर सादमन इस्लाम एक रनमै पेभेलियन फर्किएका थिए । दोस्रो पालीमा बंगलादेशले लगातार आफ्नो दुई विकेट गुमाएको थियो ।

सादमनलगत्तै मोमिनुल हक पनि शून्य रनमै आउट भएका थिए । कप्तान नजमुल होसैन सान्तो पनि २३ रनभन्दा अगाडि बढ्न सकेका थिएनन् । विकेटकिपर ब्याट्सम्यान लिटन दास पनि सात रनमै पेभेलियन फर्किएका थिए ।

तल्लो क्रमका ब्याट्सम्यान नइम हसनले १६ रन बनाए । दक्षिण अफ्रिकाका बलर कागिसो राबडा एक्लैले ६ विकेट लिए । उनले १७.५ ओभरमा केवल ४६ रन खर्चिए । केशव महाराजले पनि तीन विकेट हात पारे । विआन मल्डरले एक विकेट लिए ।

त्यसअघि, पहिलो पालीमा भ्रमणकारी टोली दक्षिण अफ्रिकाले बंगलादेशसँग दुई सय दुई रनको अग्रता हासिल गरेको थियो । दक्षिण अफ्रिका आफ्नो पहिलो पालीमा तीन सय आठ रन बनाउँदै अलआउट भएको थियो ।

पहिलो पालीमा दक्षिण अफ्रिकाका लागि तल्लो क्रमका ब्याट्सम्यान काइल भेरेनले सतकीय र विआन मुल्डरले अर्धसतकीय पाली खेलेका थिए । टोली अप्ठ्यारो स्थितिमा रहँदा विकेटकिपर ब्याट्सम्यान काइल भेरेनले एक सय १४ रन बनाएका थिए ।

सातौँ नम्बरमा क्रिज समाल्न आएका उनले एक सय ४४ बलको सामना गरी दुई छक्का र आठ चौका पनि हिर्काएका थिए । उनी पहिलो पालीमा दक्षिण अफ्रिकाका लागि छक्का प्रहार गर्ने एकमात्र खेलाडी पनि बनेका थिए । २७ वर्षीय काइल भेरेनले टेस्ट क्रिकेटमा बनाएको यो दोस्रो सतक हो ।

यसैगरी, विआन मुल्डरले पनि टोलीको खातामा ५४ रन थपेका थिए । आठौँ नम्बरमा क्रिज समाल्न आएका उनले धेर्यतापूर्वक ब्याटिङ गर्दै एक सय १२ बलमा आठ चौका हिर्काएका थिए । २६ वर्षीय विआन मुल्डरले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो अर्धसतक हो ।

दक्षिण अफ्रिकी टोलीले केवल एक सय आठ रनको कुल स्कोरमा आफ्नो छैटौँ विकेट गुमाएको थियो । त्यसपछि भेरेन र मुल्डरले नै टोलीको स्कोरलाई दुई सय २७ रनको स्थितिसम्म डो¥याएका थिए । दशौँ नम्बरमा क्रिज समाल्न ओर्लिएका डेन पिएडले पनि ३२ रनको योगदान गरेका थिए । उनले ८७ बलको सामना गरी दुई चौका पनि हिर्काएका थिए ।

दक्षिण अफ्रिकाले पनि पालीको सुरुवात भने निराशाजनक रुपमै गरेको थियो । दक्षिण अफ्रिकाका कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान एडेन मारक्रम ६ रनमा आउट भएका थिए भने अर्का ओपनर टोनी जर्जीले ३० रन बनाएका थिए । ट्रिस्टन स्टब्सले पनि टोलीको खातामा २३ रन थपेका थिए । डेभिड बेडिङ्घम ११ र रायन रिकेल्टन २७ रनमा पेभेलियन फर्किएका थिए ।

बंगलादेशका बलर तैजुल इस्लामले पाँच विकेट लिएका थिए । उनले ३६ ओभरमा तीन मेडन राख्दै एक सय २२ रन खर्चिए । हसन महमुदले पनि तीन विकेट हात पारेका थिए । मेहदी हसन मिराजले पनि दुई विकेट लिएका थिए ।

त्यसअघि, टस जिती पहिले ब्याटिङको निर्णय लिएको बंगलादेशी टोली आफ्नो पहिलो पालीमा केवल एक सय ६ रन बनाउँदै अलआउट भएको थियो । बंगलादेशी ब्याट्सम्यानहरु पनि निरीह बनेका थिए । बंगलादेशी टोली पहिलो पालीमा ४०.१ ओभरमात्र क्रिजमा टिक्न सकेको थियो ।

घरेलु टोलीका ओपनर ब्याट्सम्यान महमदुल हसन जोय ३० रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर सादमन इस्लामले भने खाता पनि खोल्न सकेका थिएनन् । मोमिनुल हक चार रनमै पेभेलियन फर्किएका थिए भने कप्तान नजमुल होसैन सान्तो पनि सात रनमै आउट भएका थिए ।

मुसफिकर रहिमले टोलीको खातामा ११ रन थपेका थिए । विकेटकिपर ब्याट्सम्यान लिटन दास भने एक रनमै पेभेलियन फर्किएका थिए । मेहदी हसन मिराजले टोलीका लागि १३ रनको योगदान गरेका थिए । जकेर अली पनि दुई रनमै आउट भएका थिए ।

तल्लो क्रमका ब्याट्सम्यान नइम हसनले आठ र तैजुल इस्लामले १६ रन बटुलेका थिए । हसन महमुद चार रनमा अविजित रहेका थिए । दक्षिण अफ्रिकाका बलर विआन मल्डर, कागिसो राबडा र केशव महाराजले ती–तीन विकेट लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप