बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
कलाकार

गायनमा तीन दशक बिताएका धिरजको सङ्कल्प : अब देशका लागि गाउँछु

बिहीबार, ०८ कात्तिक २०८१, ०९ : ५७
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । लोकप्रिय पपस्टार धिरज राई यतिबेला एकल साँझको तयारीमा छन् । ‘धिरज राई लाइभ इन कन्सर्ट २०८१’ नाम दिइएको कन्सर्ट आगामी शनिबार राष्ट्रिय नाचघर जमलमा आयोजना हुँदैछ ।

राईको गायन यात्रा ३० वर्ष पुगेको उपलक्ष्यमा कराउके इन्टरटेनमेन्टले यो कार्यक्रम आयोजना गर्न लागेको हो । राईको गायन करियरकै यो दोस्रो एकल साँझ हो । यसअघि २०५६ मा उनको एकल साँझ आयोजना भएको थियो ।

गायनको ३० वर्षे यात्रामा राईले १४ एल्बम र केही फुटकर गरेर दुई सयभन्दा बढी गीत गाएका छन् । एकल साँझमा उनले आफ्ना प्रत्येक एल्बमको एक–एक हिट गीत गाउने योजना छ । जसमा ‘लुकी लुकी’, ‘तिमी रुँदा’, ‘मिस्टिरियस गर्ल’, ‘गर्लफ्रेन्ड’, ‘तिम्रा नयन’, ‘माया छ है’, ‘मायाले माया साटी’ लगायत छन् ।

कार्यक्रममा आफूले गाउने गीतले आफ्नो ३० वर्षे साङ्गीतिक यात्राकै प्रतिनिधित्व गर्ने राईले बताए ।

‘कार्यक्रममा म मेरो ३० वर्षे साङ्गीतिक यात्रा खोतल्नेछु । जसबाट सबैले मेरो साङ्गीतिक यात्राको सुरुदेखि अहिलेसम्मको उतारचढाव थाहा पाउनु हुनेछ’, धिरजले भने ‘कार्यक्रममा म ‘बुद्ध वाज बोर्न इन नेपाल’ किन महत्त्वपूर्ण छ भन्ने जानकारीसमेत दिनेछु ।’

dhiraj rai (2)

‘बुद्ध वाज बोर्न इन नेपाल’ धिरजले २००५ मा आरआर कलेजमा एमए पढ्दै गर्दा अङ्ग्रेजी किताबमा बुद्ध भारतमा जन्मिएको हो भनेर लेखेको देखेपछि संसारभर यो भ्रम चिर्न अभियान सुरु गरेका थिए ।

‘धिरज राई लाइभ इन कन्सर्ट २०८१’ एउटा साङ्गीतिक कार्यक्रममात्र नभएको उनले बताए । आफ्नो यो एउटा ‘टर्निङ प्वाइन्ट’ भएको बताउँछन् उनी । कार्यक्रममा आफूले ‘पहिले आफ्नो लागि गाएँ, अब देशका लागि गाउँछु’ भनेर सङ्कल्प गर्ने उनको भनाइ छ । अबको साङ्गीतिक यात्रा पूरै समाजसेवामा समर्पित हुने उनले खुलाए ।

‘३० वर्षे साङ्गीतिक यात्राबाट मैले आफ्ना लागि नाम, दाम, चर्चा, सफलता सबथोक पाएँ’, धिरजले भने, ‘संसार २ फन्को मारिसकेको मलाई अब केही चाहना छैन ।’ त्यसैले गायनको सबै आम्दानी अब समाजसेवामा समर्पित गर्ने सोच बनाएको उनले सुनाए ।

‘शिखरमा पुगेपछि कहाँ जाने भन्ने कुरो आउँदो रहेछ । धेरै मानिस यही कन्फ्युजनमा रहेर उचित चाल्न नसक्दा अलमलमा पर्दा रहेछन् र हराउँछन्’, उनले भने, ‘मलाई पनि अब के गर्ने भन्न निकै गाह्रो भएको थियो । धेरै सोचविचारपछि यस्तो निर्णय लिएँ ।’

361981917_823442382479178_96150029916044205_n

धिरजलाई अबको गायन समाजसेवामा समर्पित गर्ने प्रेरणा फिल्म ‘स्पाइडर म्यान’बाट पनि मिलेको हो । पहिले उनी ‘स्पाइडर म्यान’ बच्चाहरूको फिल्म हो भन्ने ठान्थे । जब एकपटक फिल्म हेर्ने मौका मिल्यो, त्यसपछि उनको सोच बदलियो ।

फिल्ममा एउटा दुब्लो पातलो गरिब केटो हुन्छ । जसको शारीरिक बनोटदेखि सबै हैसियत कमजोर हुन्छ । उसलाई विशेष प्रकारको माकुरोले टोक्छ । त्यो माकुरोको टोकाइबाट उसमा विशेष शक्ति प्राप्त हुन्छ । त्यो शक्तिका कारण ती मानिसले पहिलेभन्दा आफूलाई हजार गुणा शक्तिशाली पाउँछ । उसले नर्मल मानिसको कल्पनाभन्दा बाहिरको क्रियाकलाप गर्न सक्छ । उसले शक्ति केमा प्रयोग गर्ने भनेर सोच्न थाल्छ । त्यतिबेला उसको अंकलले शक्तिसँगसँगै जिम्मेवारी पनि बढेको महसुस गराउँछन् । त्यसपछि आफूमा भएको शक्ति उसले राम्रो काममा लगाउँछ ।

‘फिल्म हेरेपछि मलाई पनि मेरो यो सफलता र उचाइ विशेष शक्ति हो भन्ने लाग्यो । केहीमा लगानी गर्न पाए हुन्थ्यो भन्ने सोचेँ’, धिरजले भने, ‘मलाई अब आफ्नो लागि पुग्यो । देशका लागि केही गर्नुपर्छ भन्ने लाग्यो ।’

राईले समाजसेवाका लागि तत्काल दुई काम गर्ने सोच बनाएका छन् । एक, ‘बुद्ध वाज बोर्न इन नेपाल’ अभियान निरन्तर अगाडि बढाउने, अर्काे आफ्नो जन्मभूमि खोटाङमा एउटा सुविधा सम्पन्न अस्पताल बनाउने ।

बुद्धको गीत १२ भाषामा निकाल्ने र नेपालका सर्वोत्कृष्ट पेन्टरले निर्माण गरेको ३० फिट लामो ‘बुद्ध वाज बोर्न इन नेपाल’ भन्ने पेन्टिङ राष्ट्रसंघको परिसरमा प्रदर्शन गर्ने योजना रहेको पनि धिरजले सुनाए । उनले भने, ‘पहिलेका जस्तै माया प्रेम, जीवन, देशप्रेम, रोमान्टिकदेखि नयाँ शैलीका र नयाँ स्टाइलका गीत पनि निरन्तर दिन्छु ।’ गीत–सङ्गीतको अबको पूरै आम्दानी समाजसेवामा लगाउने उनले बताए ।

‘विश्वमा हाम्रो सङ्गीत बेच्ने हो भने माया, प्रेमका गीतले हुँदैन’, उनले भने, ‘हाम्रो कल्चर गीत प्रस्तुत गर्नुपर्छ ।’ त्यसका लागि अन्तर्राष्ट्रिय भाषा (अङ्ग्रेजी)मा पनि गीत बनाउने तयारी गरेको उनी बताउँछन् ।

dhiraj rai

  • रेडियोले स्टुडियो नदिँदा धिरज

नेपालमा पप गीतसङ्गीत स्थापित गर्न धिरजको महत्त्वपूर्ण योगदान छ । पप सङ्गीतबाटै स्वदेश तथा विदेशका थुप्रै कार्यक्रम गरेका उनले यसका कारणले थुप्रै चर्चित पुरस्कार र सम्मानसमेत प्राप्त गरेका छन् ।

२०४५/०४६ बाट उनले गायन थालेका थिए । त्यो समय उनको उमेर १३/१४ वर्षको थियो । त्यतिबेला गीत रेकर्ड गर्न रेडियो नेपालको विकल्प थिएन । रेडियोमा आधुनिक गीतको लहर थियो । उनी रेडियोमा पप गीत रेकर्ड होस्, बजोस् भन्ने चाहन्थे ।

रेडियोका हर्ताकर्तामा पप सङ्गीतले समाज भाँड्छ भन्ने सोच थियो । त्यसैले रेडियोमा गीत रेकर्ड गर्न नपाएपछि उनी स्कुल, कलेज, सहरका चोक र भोजमा पप गीत गाउँथे ।

जब देशमा प्रजातन्त्र आयो । त्यसपछि गीत–सङ्गीतले पनि फराकिलो धरातल पायो । एमएम रेडियो खुल्न थाले, निजी क्षेत्रबाट रेकर्डिङ स्टुडियो भित्रिए । उनले २०५१ सालमा आफ्नो पहिलो पप गीत ‘लुकी लुकी’ रेकर्ड गराए । उनको गीत एफएमहरूमा चर्चित भयो ।

‘हाम्रो पप गीत पुराना पुस्ताले भन्दा युवा पुस्ताले रुचाए’, धिरजले उतिबेलाको खुसी सुनाए, ‘२०५३ देखि ०६४ सम्म पप गीतको दबदबा रह्यो ।’ नेपाली गीत–सङ्गीतमा पैसा कमाउने र गायक स्थापित हुने पहिलो काम पप सङ्गीतले नै गरेको उनको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप