स्याउ बेचेरै समृद्ध बन्न सक्छ जुम्ला
सुर्खेत । जुम्लाको गुठीचौर गाउँपालिका–५, का मीनबहादुर भण्डारीले यो वर्ष झण्डै डेढ करोड रुपैयाँको स्याउ बिक्री गरे । भदौदेखि अहिलेसम्म काठमाडौँ र नेपालगञ्ज सहरमा उनको करिब ४५ टन स्याउ बिक्री भयो ।
गुठीचौरमा भण्डारीको नेपालकै सबैभन्दा ठुलो स्याउ बगैँचा छ, जहाँ २२ हेक्टर क्षेत्रफलमा ३८ हजार स्याउका बिरुवा रोपिएका छन् । उनको नेतृत्वमा गुठीचौर एग्रोफर्म सञ्चालन गरिएको छ, जसमा अन्य दुई जनाको पनि सेयर छ ।
मीनबहादुर भण्डारीले ०७६ तिर आफ्नै दुई हेक्टर जमिनबाट स्याउ खेती सुरु गरेका थिए । अहिले जमिन लिजमा लगेर २२ हेक्टर क्षेत्रफलमा विस्तार गरिएको उनका भाइ तथा स्याउ खेती सम्हाल्दै आएका केसीबहादुर भण्डारीले बताए ।
बगैँचामा झmण्डै २२ करोड रुपैयाँ लगानी भएको छ । उनको बगैँचा गुठीचौरका काँडाखोला, जलजला र धपडा क्षेत्रमा फैलिएको छ । बगैँचामा फुजी, किङरङ, गोल्डेन जातका स्याउ छन् ।
‘यदि बिरुवा अनुसार स्याउ फल्न दिइएको भए हाम्रो बगैँचामा २०० टनसम्म स्याउ फल्थ्यो,’ भण्डारीले रातोपाटीसँग भने, ‘तर बिरुवा काँटछाँट गर्नुपर्ने र बढ्न दिनुपर्ने भएकाले कम फल्न दिइयो ।’
अबको पाँच वर्षपछि उक्त फर्ममा सयौँ टन स्याउ उत्पादन हुने भण्डारीको भनाइ छ ।
भण्डारीमात्र होइन, यो वर्ष जुम्लामा हरेक कृषकले स्याउ बेचेर राम्रो आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख खेमराज शाहीका अनुसार यो वर्ष ८३७ जना कृषक तथा व्यापारीले ९ हजार ३९१ मेट्रिक टन स्याउ निर्यात गरे । यो सडक नाका, विमानस्थलबाट लिइएको रेकर्ड अनुसारको तथ्याङ्क हो । निर्यात भएकोमध्ये ८ हजार ८२०.३ मेट्रिक टन स्याउ उन्नत जातको हो भने ५७०.३ मेट्रिक टन उच्च घनत्व प्रविधि अनुसार उत्पादितको स्याउ हो । जसबाट ६६ करोड ४६ लाख ३१ हजार रुपैयाँ जुम्लामा भित्रिएको स्याउ सुपरजोन प्रमुख शाही बताउँछन् ।
यो तथ्याङ्क साउन २९ गतेदेखि कार्तिक ६ गतेसम्मको हो । उनका अनुसार ५७ करोड ३३ लाख १९ हजार बराबरको उन्नत जातको स्याउ र ९ करोड १३ लाख १२ हजार बराबरको उच्च घनत्व जातको स्याउ जिल्ला बाहिर निर्यात भएको छ ।
कर्णालीको स्याउ बजारीकरणका लागि एकीकृत भण्डारण र बिक्रीको व्यवस्थापन छैन । जसले गर्दा कृषकहरूले आफूखुसी बिक्री–वितरण गर्ने गर्दछन् । जोन प्रमुख शाहीका अनुसार यो वर्ष मालवाहक ट्रकबाट मात्रै ९ हजार ९९३ मेट्रिक टन स्याउ जुम्लाबाट बाहिर निर्यात भएको छ भने बसबाट १ हजार ६६० मेट्रिक टन निर्यात भएको देखिन्छ ।
यस्तै जीप तथा हाइसबाट ७४ र प्लेनबाट ७४ मेट्रिक टन स्याउ बाहिरिएको तथ्याङ्क छ । उक्त विवरण उत्पादन भएको स्याउको तुलनामा निकै कम रहेको जोन प्रमुख शाही बताउँछन् ।
‘यहाँ कृषकले एकीकृत रूपमा एउटा ठाउँमा भण्डारण गर्ने र निर्यात गर्ने भएको भए वास्तविक तथ्याङ्क राख्न सकिन्थ्यो,’ उनले रातोपाटीसँग भने, ‘त्यसो नहुँदा समस्या छ । एकातिर कृषकलाई पनि बजारीकरणको समस्या छ भने अर्कातिर वास्तविक तथ्याङ्क राख्न सकिएको छैन ।’
माथि उल्लिखित तथ्याङ्क पनि स्याउ सुपरजोन कार्यालय र कृषि विकास कार्यालय जुम्लाले निर्यात हुने नाकाका प्रहरीलाई अनुरोध गरेर राखिएको शाहीले बताए ।
यो वर्ष जुम्लामा मात्रै २० हजार ५११.४६ मेट्रिक टन स्याउ उत्पादन भएको छ । जसमा उन्नत जातको १९ हजार ८४० र उच्च घनत्व प्रविधि अनुसार उत्पादन हुने जातको ६७१.४६ मेट्रिक टन स्याउ फलेको थियो । ‘उत्पादन भएको परिणाम अनुसार १४ हजारसम्म अर्थात् ७० प्रतिशतसम्म स्याउ निर्यात हुनुपर्ने हो,’ शाही भन्छन्, ‘तर ९ हजार ९९३ मेट्रिक टन मात्रै निर्यात भएको देखाउँछ । त्यसका पछाडि कर छल्नका लागि कम लेखाउँछन् । व्यापारीहरूले सिफारिस लिँदा पनि कम लेखाउँछन् ।’
कैलाली, कञ्चनपुरदेखि धरान, झापासम्म पनि यो वर्ष जुम्ली स्याउ पुगेको छ । बुटवलमा मात्रै दुई महिनामा ५ करोड रुपैयाँको स्याउ बिक्री भएको छ । जुम्ली स्याउको सबैभन्दा ठुलो बजार भनेको सुर्खेत हो । सुर्खेतमा पनि करोडौँको जुम्ली स्याउ खपत भएको व्यापारीहरू बताउँछन् ।
त्यसैले निर्यातको परिमाण कम देखिएको शाहीले बताए । जुम्लामा रहेको भण्डारण गृह (स्टोर)मा अझै १ हजार ९८४ मेट्रिक टन जति स्याउ छ । अब बगैँचामा टिप्न बाँकी स्याउ छैन । बाँकी रहेको स्याउ चाडपर्वमा जुम्लामै खपत हुन्छ ।
कृषि विकास कार्यालयका अनुसार विगतका वर्षभन्दा यो पटक जुम्लाको स्याउले राम्रो बजार पायो । जुम्ली स्याउ सुर्खेत, नेपालगञ्ज, बुटवल र काठमाडौँमा सबैभन्दा बढी बिक्री भएको छ ।
कैलाली, कञ्चनपुरदेखि धरान, झापासम्म पनि यो वर्ष जुम्ली स्याउ पुगेको छ । बुटवलमा मात्रै दुई महिनामा ५ करोड रुपैयाँको स्याउ बिक्री भएको छ । जुम्ली स्याउको सबैभन्दा ठुलो बजार भनेको सुर्खेत हो । सुर्खेतमा पनि करोडौँको जुम्ली स्याउ खपत भएको व्यापारीहरू बताउँछन् ।
जुम्लामा उत्पादन भएको स्याउमध्ये १६ प्रतिशत अर्थात् साढे तीन हजार मेट्रिक टन जिल्लाभित्रै खपत हुन्छ । जिल्लाभित्र उन्नत जातको स्याउमात्रै बिक्री भएको तथ्याङ्कले देखाउँछ ।
उत्पादन र उत्पादकत्व वृद्धि
उसो त जुम्ला बाहेक कर्णालीका कालिकोट, मुगुमा पनि स्याउ फल्छ । तर सबैभन्दा बढी जुम्लामा फल्ने गर्दछ । यो वर्ष विगतको तुलनामा स्याउको उत्पादनमा वृद्धि भएको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७९/८० मा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने ५० करोड रकम जुम्लामा भित्रिएको थियो । यो वर्ष दुई हजार ५०० मेट्रिक टनभन्दा बढी स्याउ फलेको छ ।
स्याउ सुपरजोन कार्यालय प्रमुख खेमराज शाही उत्पादकत्व बर्सेनि बढ्दो क्रममा रहेको बताउँछन् । यो वर्ष उत्पादन भएको स्याउको परिमाण र भित्रिएको रकम अहिलेसम्मकै उच्च हो ।
जुम्ली स्याउको उत्पादकत्व आर्थिक वर्ष ०७९/०८० मा प्रतिहेक्टर १५.२८ मेट्रिक टन थियो भने यो वर्ष बढेर १७.२२ पुगेको छ । जुम्लाभर ४ हजार ४७५.५ हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती भएको छ । अघिल्लो वर्ष ४ हजार ४२४.५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएको थियो । एक वर्षको अवधिमा स्याउ खेती ५१ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ ।
त्यसमा उन्नत जातको स्याउ खेती ४ हजार ४२३.५ हेक्टरमा भएको छ भने उच्च घनत्वको स्याउ ५२ हेक्टर क्षेत्रफलमा मात्रै भएको छ । कुल स्याउ खेती हुने क्षेत्रफलमध्ये ३ हजार ३०७ हेक्टर क्षेत्रफल स्याउ उत्पादनशील क्षेत्र हो । त्यसमा पनि यो वर्ष दुई हजार हेक्टरमा स्याउ फलेको थियो भने १२ सय ६८ हेक्टरमा स्याउ फलेन । यो भनेको बिरुवा रोपेको र फल्ने समय नभएको क्षेत्रफल हो ।
प्रख्यात जुम्लाको स्याउ तर राज्यको उपेक्षा
जुम्ला स्याउका लागि प्रसिद्ध छ । यहाँ ०२४ सालमा तत्कालीन राजा महेन्द्रको पालामा स्याउको ‘प्लान्टेशन’ सुरु भएको हो । स्याउ सुपरजोन प्रमुख खेमबहादुर शाहीका अनुसार त्यो बेला भारतबाट स्याउका बिरुवा भित्रिएका थिए ।
त्यहीबेला राज्यले एउटा बगैँचा स्थापना गर्यो । उच्च घनत्वको स्याउको सुरुवात भएको पनि अहिले ८ वर्ष भइसक्यो । प्याकेजिङ, कृषकलाई अनुदानदेखि बजारीकरणमा जुम्ली स्याउ राज्यको उपेक्षामा छ । जसका कारण गुणस्तरमा कमी आएर बजार मूल्यसमेत राम्रो पाउँदैन ।
यदि राज्यले कर्णालीमा स्याउ खेतीको विस्तार र बजारीकरणमा ध्यान दिने हो भने कर्णाली स्याउबाटै आर्थिक रूपमा सबल बन्न सक्छ । यद्यपि राज्यले कर्णालीको स्याउलाई उपेक्षा गरेको कृषकहरू बताउँछन् । जसका कारण नेपाली बजार विदेशी स्याउले कब्जा गरिरहेको छ । स्याउ कृषक केसीबहादुर भण्डारी ढुवानीमा राज्यले अनुदानको व्यवस्था गर्नुपर्ने बताउँछन् ।
विदेशी स्याउको प्याकेजिङ र क्वालिटी भएकाले बजार मूल्य नेपाली स्याउको तुलनामा दोब्बर बढी छ । स्याउ सुपरजोन प्रमुख शाही भन्छन्, ‘स्याउमा एकद्वार प्रणाली र व्यवस्थित रूपमा बजारीकरण निकै आवश्यक थियो । जस्तै साउन महिनामै काँचो स्याउ बजारमा लिने हो भने मूल्य बढी पाइन्छ, जतिबेला विदेशी स्याउ आउँदैन ।’
‘अहिलेको प्रमुख समस्या ढुवानी हो,’ उनले भने, ‘भदौ महिनाभर वर्षात्का कारण स्याउ बोकेका ट्रकहरु बिच बाटोमा रोकिए । सयौँ ट्रक स्याउ कुहियो ।’
त्यस्तो अवस्थामा राज्यले कुनै पहल नगरिदिएको भण्डारीको गुनासो छ । स्याउ बोक्ने छुट्टै कन्टेनरको व्यवस्था हुनुपर्ने उनले बताए । उनको बुझाइमा अहिले कृषकहरूले जुन पायो, त्यही गाडीमा स्याउ पठाउनुपर्ने बाध्यता छ । जसका कारण स्याउ कुहिने सम्भावना हुन्छ । यदि सबै कृषकको स्याउ एकीकृत रूपमा भण्डारण गरिदिने हो र छुट्टै कन्टेनरको व्यवस्थापन हुने हो भने क्वालिटीका स्याउ बजारमा पुग्छ, अनि मूल्य पाउने उनको भनाइ छ ।
विदेशी स्याउको प्याकेजिङ र क्वालिटी भएकाले बजार मूल्य नेपाली स्याउको तुलनामा दोब्बर बढी छ । स्याउ सुपरजोन प्रमुख शाही भन्छन्, ‘स्याउमा एकद्वार प्रणाली र व्यवस्थित रूपमा बजारीकरण निकै आवश्यक थियो । जस्तै साउन महिनामै काँचो स्याउ बजारमा लिने हो भने मूल्य बढी पाइन्छ, जतिबेला विदेशी स्याउ आउँदैन ।’
अहिले घरघरै व्यापारी हुन खोज्ने कारणले समस्या हुने गरेको शाही बताउँछन् । साथै विदेशी स्याउमा रोकावट र ठाउँ–ठाउँमा भण्डारण गृह राख्नुपर्छ । जुम्ली स्याउले बजार नपाएपछि जुम्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद ज्ञानेन्द्रबहादुर शाहीले संसददेखि सामाजिक सञ्जालमा आक्रोश पोख्नुका साथै आफैँ बजारीकरणमा खटिए ।
स्याउ जोन कार्यक्रमले राहत, बजेटमा उपेक्षा
स्याउमा राम्रो सम्भावना देखिएपछि कृषि विकास कार्यालय जुम्लाले ०६४ सालमा ‘एक घर, एक स्याउ बगैँचा’ अवधारणा ल्यायो । सोही अनुसार अहिले जुम्लामा हरेक घरमा स्याउ खेती छ ।
त्यस्तै, ०७३ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यक्रम लागु गरियो । उक्त परियोजनाले स्याउको उत्पादन बढाउने, विज्ञता प्रदान गर्नेदेखि अनुदानमा स्याउ खेती विस्तारमा टेवा पुर्याइरहेको छ ।
कार्यक्रम अन्तर्गत ३३५.७५ हेक्टरमा स्याउ खेती विस्तार भएको सुरजोन प्रमुख खेमराज शाही बताउँछन् । परियोजनाले जालीघर निर्माण, एउटा माटो परीक्षण ल्याब, दुई वटा हाइटेक नर्सरी स्थापना गरिदिएको छ भने कृषकहरूलाई अनुदानमा पनि सहयोग गरेको उनको भनाइ छ । उनका अनुसार २५ लाख बिरुवामा तथा घेराबार र सिँचाइमा झण्डै २२ लाख अनुदान दिइएको छ ।
‘स्याउको गुणस्तरदेखि बजारीकरणका लागि स्याउ बोर्ड आवश्यक छ,’ शाहीले भने, ‘तर राज्यले ध्यान दिएको छैन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई नै बजेट दिँदैन ।’
उनका अनुसार यसअघि ७ करोडसम्म बजेट दिने गरे पनि यो वर्ष घटाएर ५ करोड रुपैयाँमात्रै दिइयो ।