बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपालको पोस्टमा जापानको ९ गोल

बिहीबार, ०८ कात्तिक २०८१, ०६ : ४६
बिहीबार, ०८ कात्तिक २०८१

दोहा । एसियाली फुटबल कन्फेडरेसन (एएफसी) यू–१७ एसियन कप छनोटमा नेपाल बलियो प्रतिद्वन्द्वी जापानसँग पराजित भएको छ । कतारको दोहास्थित हमाद बिन खलिफा स्टेडियममा बुधबार राति भएको खेलमा नेपाल ९–२ गोलले पराजित भएको हो ।

खेलमा अग्रता भने नेपालले लिएको थियो । १२ औँ मिनेटमा सविन कुमार मगरले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसपछि जापानले नेपालमाथि गोल वर्षा गर्‍यो ।

जापानका लागि दाइची तानीले ४ गोल तथा हिरोतो असादाले ३ गोल गरे । मिबुकी कासाई र काइजी चोनानले एक–एक गोल थपे । खेलको अन्त्यतिर विज्ञान खड्काले सान्त्वना गोल गरे ।

नेपाल र जापान छनोट प्रतियोगिताको समूह ‘एफ’ मा रहेका छन् । यो समूहमा आयोजक कतार र मंगोलिया पनि छन् । समूह ‘एफ’ अन्तर्गतको सम्पूर्ण खेल कतारमै खेलिने छ । नेपालको तुलनामा जापान निकै बलियो टोली हो ।

जापान एएफसी यू–१७ एसियन कपको साबिक विजेता पनि हो । सन् २०२३ मा सम्पन्न यू–१७ एसियन कपको फाइनलमा जापानले दक्षिण कोरियालाई ३–० गोलले हराउँदै उपाधि चुमेको थियो । त्योभन्दा अघिल्लो संस्करणको उपाधि पनि जापानले नै जितेको थियो ।

जापानले हालसम्म चारपटक यू–१७ एसियन कपको उपाधि चुमिसकेको छ । जापानी टोली एकपटक ९सन् २०१२० उपविजेता पनि बनेको थियो । त्यो संस्करणको फाइनलमा उज्बेकिस्तानले जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि हात पारेको थियो ।

नेपालले भने हालसम्म तीनपटक छनोट चरण पार गरेर यू–१७ एसियन कप खेलेको छ । तर, तीन पटक नै नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको छ । नेपालले सन् २००० मा पहिलो पटक यो प्रतियोगिता खेलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप