बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

माओवादी सत्ता वियोगको छटपटीबाट बाहिर निस्कन सकेन : पोखरेल

बिहीबार, ०८ कात्तिक २०८१, ०६ : ४१
बिहीबार, ०८ कात्तिक २०८१

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सत्ता वियोगका छटपटीबाट बाहिर निक्लन नसकिरहेकोले  जे कुराको पनि विरोध गर्ने अभियानमा जुटेको आरोप लगाएका छन् ।  सङ्कटका समयमा प्रतिपक्षी दलको कुण्ठाग्रस्त मानसिकता र व्यवहारको जति आलोचना गरे पनि कमै हुने महासचिव पोखरेलले बताएका हुन् ।

माओवादीको नेतृत्वमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका थिए भने बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरी सरकारको आलोचना गरेका थिए । पोखरेलले यसबारे सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै लेखेका छन्, ‘ यस पटक प्रमुख प्रतिपक्षी दलको काम पीडाको समयमा राहत र उद्धारको काममा राज्यका निकायलाई सहयोग गर्न होइन आलोचनाका लागि आलोचनाको खेती गर्ने कुरामा केन्द्रित बन्न पुगेको देखिन्छ।’

यस्तो छ पोखरेलको भनाई– पुष्पकमल दाहालले जाजरकोट भूकम्पका वेलाको आफ्नो नेतृत्वको सरकारले राहत, उद्धार र पुनर्स्थापनाको काम के कसरी गरेको थियो भन्ने कुरा हेक्का नराखी वर्तमान सरकारले बाढी,पैरो र डुबानका समयमा काम गर्न नसकेको आरोप लगाएको देख्दा आश्चर्य लाग्दछ । जाजरकोट भूकम्पका वेला न सडक अवरुद्ध थियो । नत मौसमी प्रतिकुलता नै थियो । निराश बनेका जनतामा आशा जगाउन त्यति बेलाको प्रमुख प्रतिपक्ष राज्यपक्ष भन्दा अगाडी बढेर राहत र उद्धारमा जुटेको थियो । यस पटक प्रमुख प्रतिपक्षी दलको काम पीडाको समयमा राहत र उद्धारको काममा राज्यका निकायलाई सहयोग गर्न होइन आलोचनाका लागि आलोचनाको खेती गर्ने कुरामा केन्द्रित बन्न पुगेको देखिन्छ।

यस पटकको बाढी,पैरो र डुबानका कारणले राजधानी र त्यस आसपासका क्षेत्रमा भएको क्षति अकल्पनीय थियो । राजधानी जोडने सबै बाटाहरू अवरुद्ध भएका थिए । प्रभावित क्षेत्रमा अधिकांश ग्रामीण सडक समेत अवरुद्ध थिए । लगातारको वर्षातका कारणले भिजिबिलिटीको अभावमा उडानमा समेत समस्या उत्पन्न भएको थियो । त्यस्तो अवस्थामा राज्यका निकायले गरेको उद्धार क्षेत्रमा गरेको कष्टसाध्य कामलाई अनदेखा गर्नु उचित होइन । तर सत्ता वियोगका छटपटीबाट बाहिर निक्लन नसकिरहेको प्रमुख विपक्षी दल जे कुराको पनि विरोध गर्ने अभियानमा जुटेको छ ।

यस पटक सरकार विपद् पर्यटनलाई रोक्न पूर्णतः सफल भयो । जाजरकोट भूकम्पको वेलामा भएको जस्तो विपद् पर्यटनको पीडा बाढीपहिरो प्रभावित क्षेत्रका जनताले बेहोर्नु परेन । यसलाई प्रतिपक्षले सरकारको कमजोरी ठानेको हो भने त्यो भएकै हो ।

जहाँसम्म क्षतिग्रस्त सड़क सुचारु गर्ने कुरामा सरकारले अपेक्षा गरिएको भन्दा छिटो सुचारु गर्न सफल भयो । बीपी राजमार्गको दुरावस्था देखेकाहरूका लागि राज्यका निकायहरूले गरेको काम निकै प्रशंसनीय रह्यो । खुर्कोट(रामेछाप जोड़ने सडकमा सुनकोशी नदीले बगाएको पुलमा बेलीब्रिज जडान गर्ने कुरामा नेपाली सेना र प्राविधिकहरूले प्राप्त गरेको सफलता नेपालकै सन्दर्भमा अकल्पनीय विषय हो । तर प्रतिपक्षी दल यी सबै कुरालाई अनदेखा गरेर आलोचनाका लागि आलोचनामा केन्द्रित छ ।

वास्तवमा सङ्कटका समयमा प्रतिपक्षी दलको यस प्रकारको कुण्ठाग्रस्त मानसिकता र व्यवहारको जति आलोचना गरे पनि कमै हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप