बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : 'सरकारको १०० दिन'देखि 'रवि लामिछानेको बयान'सम्म

बिहीबार, ०८ कात्तिक २०८१, ०० : ००
बिहीबार, ०८ कात्तिक २०८१

पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-

  • सरकारको १ सय दिन

 प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको पहिलो सय दिनभित्र गर्ने भनेका काममध्ये १८५ वटा काम सम्पन्न गरेको दाबी गरेका छन् । बुधबार सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिनमा सरकारले गरेका कामबारे जानकारी गराए । प्रधानमन्त्री ओलीले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलगायत ५ सयभन्दा बढी पक्राउ परेको र संविधान दिवसका दिनमा दरबारमार्गमा गरेको कन्सर्टलाई उपलब्धिका रूपमा समेटेका छन् ।

  • सहकारी ठगी प्रकरण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा पोखरामा बयान चलिरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको करिब ४ करोड रुपैयाँ बचत गोरखा मिडिया मार्फत अपचलन गरेको अभियोगमा बुधबार अन्तिम बयान चलिरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।

  • सङ्क्रमणकालीन न्याय

लामो समयदेखि अल्झिएको सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया टुङ्गोमा पुर्‍याउन सम्बन्धित दुई आयोगका पदाधिकारी चयनका लागि मापदण्ड निर्माण थालिएको छ । सरकारले टीआरसीको दुई आयोगमा पदाधिकारी सिफारिसका लागि गठन गरेको  पूर्वप्रधान न्यायाधीश नेतृत्वको सर्च कमिटीले आन्तरिक कार्यविधिसँगै पदाधिकारी चयन र योग्यताका लागि मापदण्ड निर्माण सुरु गरेको हो । 

  • विपक्षी दलको राष्ट्रपतिसँग भेट

संसदमा रहेका विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी सरकारले ल्याउन लागिएको दल विभाजनसम्बन्धी अध्यादेशबारे ध्यानाकर्षण गराएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डसहितका शीर्ष नेताहरूले बुधवार अपराह्न राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएका हुन् । 

  • तिहार

नेपाल फूलमा आत्मनिर्भर उन्मुखको भएको दाबी गरिँदै आए पनि यो वर्षको तिहारमा फूलको अभाव हुने आकलन गरिएको छ । बाढी पहिरोका कारणले फूल खेतीमा १२ करोड रुपैयाँ बराबर क्षति भएकाले फूलको अभाव हुने अनुमान गरिएको हो । 

  • कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन जारी गरेको छ । उक्त ऐन प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ । कर्णाली प्रदेशभित्रका स्थानीय तहबाट हुने सेवा प्रवाहका लागि आवश्यक कर्मचारी समेतको व्यवस्था गरी स्थानीय सेवालाई सक्षम, सुदृढ, उत्तरदायी, व्यावसायिक, निष्पक्ष र प्रभावकारी बनाउन कानुन व्यवस्था गर्न आवश्यक भएकाले स्थानीय सेवा ऐन ल्याइएको मुख्यमन्त्री यामलाल कँडेलले बताए ।

  • मन्त्रालयको खर्च

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ वर्षको अवधिमा पिउने पानीका लागि २० लाख ३७ हजार ३२८ रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को १ वर्ष अवधिमा पिउने पानीका लागि सो रकम खर्च गरेको हो । 

  • छलफल सकारात्मक

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका असन्तुष्ट नेताहरूबिचको छलफल सकारात्मक भएको नेताहरूले बताएका छन् । महाधिवेशन र नेतृत्व चयनको प्रक्रियाप्रति असहमति जनाउँदै असन्तुष्ट बनेका नेताहरूसँग अध्यक्ष नेपालले बुधवार पार्टीका कार्यालयमा छुट्टाछुट्टै छलफल गरेका थिए । 

  • बालुवाटार बैठक

सत्तारुढ दलबिच राष्ट्रिय हित एवं मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ । साथै सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रमका विषयमा समेत नेताहरूबिच कुराकानी भएको छ । 

  • उमा गौरी कृषि सहकारी ठगी प्रकरण

मोरङ धनपालनाथ गाउँपालिका–४ कर्सियाको उमागौरी कृषि सहकारी संस्थाको रकम हिनामिनामा संलग्न अञ्जला कोइरालाले अदालतलाई भ्रममा पार्न खोजेको आरएसडीसी लघुवित्तले जनाएको छ । अञ्जला सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन् ।

  • तोडियो रेकर्ड

टी–२० अन्तर्राष्ट्रिय नेपालले बनाएको रनको आधारमा सबैभन्दा ठुलो जितको रेकर्ड तोडिएको छ । जिम्बाब्वेले विश्वकप टी–२० छनोटमा गाम्बियालाई २ सय ९० रनको अन्तरले हराउँदै जिम्बाब्वेले नयाँ रेकर्ड बनाएको हो । यसअघि नेपालले मंगोलियालाई सन् २०२३ सेप्टेम्बर २७ मा २ सय ७३ रनको अन्तरले हराएको थियो ।

  • खबरदारी सभा

नेकपा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौँमा हुने खबरदारी सभाको तयारी गरेको छ । असोज १३ गते बसेको पदाधिकारी बैठकले सुशासन, सामाजिक न्याय, जनजीविकाको साथै विपद् व्यवस्थापनमा ओली सरकार पूर्ण असफल भएको निष्कर्ष निकालेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप