बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ब्रिक्स शिखर सम्मेलनमा शान्तिको आह्वान सुन्न बाध्य पुटिन

बुधबार, ०७ कात्तिक २०८१, २१ : ३८
बुधबार, ०७ कात्तिक २०८१

कजान । रुसमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा बुधबार विश्व नेताहरूले मध्यपूर्व र युक्रेनमा शान्तिको आह्वान गरेका छन् । सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्वमा मध्यस्थताका प्रस्तावहरूलाई स्वागत गरेको बताएका छन् ।

पुटिनले सम्मेलनलाई मस्कोलाई एक्ल्याउने पश्चिमी प्रयासहरू असफल भएको सङ्केतका रूपमा प्रस्तुत गरिरहेका छन्, तर उनले आफ्ना केही निकटतम र महत्त्वपूर्ण साझेदारहरूबाट युक्रेन द्वन्द्व अन्त्य गर्न प्रत्यक्ष आह्वानको सामना गर्नुपर्यो ।

केन्द्रीय शहर कजानमा भएको विश्वका करिब २० नेताहरूको यो भेला पुटिनले सन् २०२२ मा युक्रेनमा सेना पठाएयता रुसमा आयोजित सबैभन्दा ठूलो कूटनीतिक मञ्च हो । सन् २००९ मा चार सदस्य – ब्राजिल, रुस, भारत र चीन – बाट सुरु भएको ब्रिक्स दक्षिण अफ्रिका, इजिप्ट र इरान जस्ता अन्य उदीयमान राष्ट्रहरू समावेश गर्दै विस्तार भएको छ ।

संयुक्त वक्तव्यमा समूहले ‘मध्यपूर्व र उत्तर अफ्रिकी क्षेत्रमा जारी द्वन्द्व र अस्थिरताबारे गहिरो चिन्ता’ व्यक्त गरेको छ । साथै समूहले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरूमाथि इजरायली आक्रमणको आलोचना गर्दै लेबनानको ‘क्षेत्रीय अखण्डता’ ‘संरक्षित’ गर्न आग्रह गरेको छ ।

बुधबार नै एउटा पूर्ण सत्रमा नेताहरूले मध्यपूर्व र युक्रेन दुवैमा शान्तिको आह्वान गरेका थिए । इरानका राष्ट्रपति मसुद पेजेश्कियानले ब्रिक्स सदस्यहरूलाई ‘गाजा र लेबनानमा युद्ध अन्त्य गर्न आफ्ना सबै सामूहिक र व्यक्तिगत क्षमताहरू प्रयोग गर्न’ आग्रह गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले युद्धविराम गर्न आफ्नो आह्वान दोहोर्याउँदै भने, ‘हामीले.... हत्या रोक्नुपर्छ र प्यालेस्टिनी मुद्दाको व्यापक, न्यायपूर्ण र दीर्घकालीन समाधानका लागि अथक प्रयास गर्नुपर्छ ।”

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि मध्यपूर्व र युक्रेन दुवैमा तनाव बढ्न नदिन आह्वान गरे । “हामीले विश्वव्यापी हुनसक्ने दुई युद्धको सामना गरिरहेका छौँ, साझा लक्ष्यहरूका लागि एकसाथ काम गर्ने हाम्रो क्षमता पुनःस्थापित गर्न आवश्यक छ”, शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले भने ।

मध्यस्थताका प्रस्तावहरू
युरोपेली सङ्घ (इयु) ले बुधबार ब्रिक्स सदस्यहरूलाई पुटिनलाई युक्रेनमाथिको आक्रमण ‘तत्काल’ रोक्न दबाब दिन मञ्चको प्रयोग गर्न आग्रह गर्यो । द्विपक्षीय वार्तामा पुटिनले केही ब्रिक्स नेताहरूको युक्रेनमा मध्यस्थताका प्रस्तावहरूलाई स्वागत गरे । यद्यपि उनका प्रवक्ताका अनुसार उनले ती नेताहरूलाई आफ्ना सेनाहरू युद्धक्षेत्रमा अघि बढिरहेको जानकारी दिए । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई पुटिनले बैठकहरूमा ‘रुसी सशस्त्र बलहरूको मोर्चामा धेरै सकारात्मक गतिशीलता’ को प्रचार पनि गरेको बताए । रुसी सेनाहरू सन् २०२४ को धेरैजसो समय पूर्वी युक्रेनमा बिस्तारै अघि बढिरहेका छन्, यद्यपि कुनै पनि पक्षले निर्णायक सफलता हासिल गर्न सकेको छैन ।

पुटिनका प्रमुख सहयोगी सीले शिखर सम्मेलनमा युक्रेनमा ‘लडाइँ बढ्न नहुने’ बताए । “स्थिति जति सक्दो चाँडो शान्त होस् भनेर हामीले युद्धक्षेत्रबाट फैलिन नदिने, लडाइँ नबढ्ने र सम्बन्धित पक्षहरूले आगोमा घिउ नथप्ने काम गर्नुपर्छ”, उनले भने ।

कुनै विशेष द्वन्द्वको उल्लेख नगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शान्तिको आह्वान गरे । “हामी युद्ध होइन, संवाद र कूटनीतिको समर्थन गर्छौँ”, उनले भने । ब्राजिलका लुलाले मस्को र किएभबीच शान्ति वार्ता सुरु गर्नु ‘महत्त्वपूर्ण’ भएको बताए ।

बहुध्रुवीय व्यवस्था 
सी र मोदीले पहिले नै युक्रेनका लागि आफ्नै शान्ति पहलहरूको प्रचार गरेका छन् । यद्यपि त्यसमा थोरै प्रगति भएको देखिएको छ । पुटिनले युद्धविराम वार्ताको पूर्वशर्तका रूपमा युक्रेनलाई पूर्व र दक्षिणमा थप भूभाग छोड्न प्रभावकारी रूपमा आत्मसमर्पण गर्न माग गरेका छन् ।

किएभले शान्तिको बदलामा भूमि छोड्न अस्वीकार गरेको छ र हाल एक साहसिक सीमापार आक्रमणपछि रुसी भूभागको केही भाग कब्जा गरेको छ । आफूलाई सम्भावित शान्तिदूतका रूपमा प्रस्तुत गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार पछि पुटिनसँग वार्ता गर्दै छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एक दिनपछि पुटिनसँग भेट गर्नेछन् ।  मस्कोले ब्रिक्स मञ्चलाई जि ७ जस्ता पश्चिमी नेतृत्वको अन्तर्राष्ट्रिय सङ्गठनहरूको विकल्पका रूपमा हेरेको छ ।

शिखर सम्मेलनको उद्घाटन भाषणमा पुटिनले भने, “बहुध्रुवीय विश्व व्यवस्था निर्माणको प्रक्रिया जारी छ, यो एक गतिशील र अपरिवर्तनीय प्रक्रिया हो ।” सी र मोदीले दुई देशको विवादित सीमामा सम्झौता भएको केही दिनपछि शिखर सम्मेलनमा पाँच वर्षपछि पहिलो औपचारिक बैठक गरेका छन् । सीले दुवै पक्षले ‘सञ्चार र सहयोग बलियो बनाउनु’ दुवै मुलुकको ‘मौलिक हित’ भएको बताए ।

ब्रिक्स समूहले विश्व मञ्चमा दक्षिणी गोलार्धलाई ठूलो भूमिका दिन र अन्तर्राष्ट्रिय ‘निर्णय–निर्माण’ मञ्चहरूमा गहिरो एकीकरण गर्न पनि आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप