बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

सूर्यदर्शन सहकारी पीडित भन्छन्– रास्वपाले हाम्रो भावनामाथि खेलबाड गर्‍यो

बुधबार, ०७ कात्तिक २०८१, १९ : ५१
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । सूर्यदर्शन सहकारी बचत पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरूको संघर्षलाई दबाउन खोजेको बताएका छन् ।

बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी बचत पीडितहरूले रास्वपाले आफूहरूको संघर्षलाई दबाउन खोजेको बताएका हुन् । 

आफूहरू सहकारीको बचत रकम फिर्ताको मागसहित आन्दोलित भएको भन्दै उनीहरुले रास्वपाले समेत सोही नारा बोकेर पीडितहरूको भावनामाथि खेलबाड गरेको आरोप लगाएका छन् । 

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी संस्थाका बचत पीडित गोकर्ण बरुवालले आफूहरू बचत रकम फिर्ताको मागसहित आन्दोलित भएको बताए । उनले रास्वपाले आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि सहकारी पीडितको आवाज बोलेजस्तो गरेको आरोप लगाए । 

उनले भने, ‘बचत पीडितहरू बचत फिर्ताको माग गरी आन्दोलित भएको हो । बचत रकम फिर्ताको लागि आन्दोलन गर्दा दबाउनुपर्ने के छ ? आन्दोलनलाई दबाउँदाखेरी उहाँहरूको राजनीतिक नारा बलियो हुने हो ? उहाँहरूको राजनीतिक स्वार्थ पूरा गर्ने हो ? हाम्रो राजनीतिक स्वार्थको अभियान होइन ।’

सूर्यदर्शन बचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले आफूहरू कुनै राजनीति पार्टीसँग सम्बन्धित नभएको भन्दै आफूहरूले बचत फिर्ताको माग राखेर आन्दोलन गरिरहेको बताए । उनले आफूहरूको बचत छिटोभन्दा छिटो फिर्ता गराउन सरकारसँग माग गरे ।

उनले भने,‘हामी कुनै राजनीतिक पार्टीसँग आबद्ध छैनौँ । हामी नितान्त हाम्रो बचत फिर्ता होस् भन्ने विषयमा मात्रै केन्द्रित छौँ । सरकारले हाम्रो बचत छिटोभन्दा छिटो फिर्ता गराओस् ।’

सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिका सचिव दुर्गानाथ न्यौपानेले पक्राउ पर्न बाँकी रहेका सहकारी ठगहरूलाई तुरुन्त पक्राउ गर्न माग गरे । उनले उनीहरूको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गराउनका लागि आफूहरूले सरकारलाई दबाब दिइरहेको बताए । 

उनले भने, ‘ हाम्रो माग सम्पूर्ण अपराधी, ठगहरूलाई पक्राउ गर्नुपर्‍यो । पक्राउ गर्न बाँकी ठगहरूलाई छिटोभन्दा छिटो सरकारले पक्राउ गर्नुपर्‍यो । अनि हाम्रो बचत पीडितहरूको रकम जसरी पनि फिर्ता गर्नुपर्‍यो ।’

त्यसैगरी सूर्यदर्शन सहकारी बचत पीडित प्रेमप्रसाद रेग्मीले बाहिरी जिल्लाबाट पोखरामा आएका रास्वपाका कार्यकर्ताले सहकारी पीडितको घर–घरमा पुगेर आश्वासन दिइरहेका भन्दै खेद व्यक्त गरे । उनले रास्वपा कार्यकर्ताले आफ्नो सभापति अनुसन्धानमा तानिएपछि मात्रै सहकारी पीडितको न्यायको लागि बोलेर आफूहरूको सङ्घर्षलाई अन्तै मोड्ने काम गरिएको बताए । 

उनले भने, ‘रास्वपा सभापति अनुसन्धानमा तानिएपछि मात्र उहाँहरूले सहकारी पीडितलाई न्याय दे भन्नु खेदजनक छ । कानुनले के भन्छ त्यता सहयोग गर्नुस् ।’ उनले कानुनअनुरूप सहयोग गर्न रास्वपा कार्यकर्ताहरूलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप