बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

विपक्षी दलको बैठकमा सहभागी नगराइएकोमा प्रचण्डसँग महिन्द्रको गुनासो

बुधबार, ०७ कात्तिक २०८१, १८ : ३७
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलको बैठकमा सहभागी नगराएकोमा नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष महिन्द्रराय यादवले असन्तुष्टि जनाएका छन् ।

माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेर बसेका यादवले प्रचण्डलाई भेटेरै गुनासो पोखेको बुझिएको छ । सोही विषयलाई लिएर यादवले कात्तिक २ गते प्रचण्ड निवास खुमलटार पुगेर असन्तुष्टि जनाएको स्रोतको दाबी छ ।

प्रचण्डले शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा विपक्षी दलहरूसहित सत्ता पक्षका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नागरिक उन्मुक्ति पार्टी(नाउपा) सहभागी भएका थिए ।

विपक्षी दलबाट माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), आम जनता पार्टी(अजपा) सहभागी थिए । तर महिन्द्र नेतृत्वको नेसपाका नेताहरू कोही उपस्थिति थिएन । यस्तै सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन र बुधबार राष्ट्रपतिसमक्ष छलफलमा समेत पाँच दलका नेताहरू सहभागी हुँदा नेसपाका नेता देखिएका थिएनन् । राजनीतिक दलको महत्त्वपूर्ण बैठकमा आफूलाई उपेक्षा गरेपछि यादवले प्रचण्डसँग कुराकानी गरेको नेसपाका एक नेताले स्वीकारे ।

‘अहिलेसम्म हाम्रो दल छुट्टै छ । यद्यपि संसदीय दल भने एउटै रहको छ । विपक्षी राजनीतिक दलहरूको महत्त्वपूर्ण बैठकमा सहभागी नगराइएको विषयमा अध्यक्षज्यूले प्रचण्डसँग कुराकानी गर्नुभएको थियो’, ती नेताले भने, ‘जवाफमा दल एउटै भएकाले विपक्षी दलको बैठकमा सहभागी नगराइएको, नेसपालाई उपेक्षा गर्ने मनसाय आफ्नो नरहेको उहाँले प्रष्ट पार्नुभयो ।’

यस विषयमा माओवादीका नेताहरूसँग चासो राख्दा पनि दल एउटै भएकाले नेसपाका नेताहरूलाई नबोलाइएको स्पष्ट पारेका छन् । माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले दल एउटै भएकाले सहभागी नगराइएको भन्दै यसै विषयलाई लिएर कुनै मतभेद नभएको दाबी गरे ।

‘दल एउटै हो । बैठक विपक्षी दलहरूको भएकाले नबोलाइएको हो । अन्यथा केही होइन । हामीबिच कुनै त्यस्तो समस्या छैन’, बस्नेतले भने ।

यता नेसपाका महासचिव रमेश यादवले पनि दल एउटै भएकाले बैठकमा नबोलाइएको हुनसक्ने बताए ।

‘पार्टी एकताको अन्तिम चरणमा छौँ । पार्टी फरक भएपनि दल एउटै हो । प्राविधिक रूपले एकता नभएको मात्र हो । माओवादी केन्द्रले एकताको निर्णय गर्नासाथ एकता हुन्छ । विपक्षी दलहरूको बैठकमा नबोलाएको विषयमा दुई अध्यक्षबिच कुनै मतभेद छैन’, यादवले भने ।

गत वर्षको असारमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन हुँदा यादवले डा. बाबुराम भट्टराई समूहलाई साथ दिएका थिए । जसपा विभाजनपछि सोही वर्ष साउनमा भट्टराईको नेतृत्वमा नेसपा गठन गरिएको थियो । २०७९ को निर्वाचनअघि माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए । तर पार्टी एकता गर्ने वा नगर्ने विषयमा भट्टराई र यादवबिच मतभेद बढेपछि चैत ३ गते पार्टी विभाजन भएको थियो । आगामी माघमा महाधिवेशन गर्ने तयारीमा रहेको भट्टराई नेतृत्वको नेसपाले कात्तिक ५ र ६ गते प्रथम विधान अधिवेशन सम्पन्न गरेको छ । यादव समूह पार्टी एकताका लागि माओवादीको निर्णय कुरेर बसेको छ । समाजवादी मोर्चामा समेत सहभागी नभएको नेसपा यही साउन १ गतेदेखि मोर्चामा आबद्ध भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप