बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

छवि अघिअघि, रवि पछिपछि

पहिलो चरणमा बयानका लागि पाँच जिल्ला लैजाने तयारी
बुधबार, ०७ कात्तिक २०८१, २० : ००
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा पोखरामा बयान चलिरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको करिब ४ करोड रुपैयाँ बचत गोरखा मिडिया मार्फत अपचलन गरेको अभियोगमा बुधबार अन्तिम बयान चलिरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।

बयान सकेर जिल्ला अदालतमा थप अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भइरहेको तर बयान नसकिएमा म्याद थपेर फेरि बयान जारी राख्ने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेको कार्यकक्षमा रविको बयान लिइएको छ । बयानमा रविले पोखराको सहकारीबाट ऋण नलिएको र रवि लामिछाने भनी उल्लेख भएको नाम आफ्नो नभएको दाबी गरेका छन् ।

उनले आफू गोरखा मिडियामा संलग्न भएको तर सहकारीको ऋणी भएर कहीँ पनि ऋण नलिएको दाबी गरेका छन् । संसद्ले गठन गरेको सहकारी छानबिन समितिले पनि सहकारीको रकम गलत रूपमा मिडियामा ल्याउने कार्य भएको र उक्त रकम ल्याउनेमा लामिछानेको भूमिका नदेखिए पनि हिनामिना गर्ने कार्यमा देखिएको भनी कारबाहीको सिफारिस गरेको थियो ।

गोरखा मिडिया नेटवर्कको बैंक खातामा मात्र विभिन्न पाँच सहकारी संस्थाका नामबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सिधै रकम जम्मा भएको संसदीय समितिले अध्ययनको क्रममा फेला पारेको थियो । सूर्य थापाको नेतृत्वमा रहेको सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा पाँच सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ पैसा आएको ठहर गरिएको थियो ।

जसमध्ये २२ करोड ४६ लाख रुपैयाँ सहकारी संस्थाबाट सिधै गोरखा मिडिया नेटवर्कको खातामा सहकारीको नामबाटै रकम जम्मा भएको र बाँकी करिब ४३ करोड ७ लाख रुपैयाँ भने अन्य व्यक्ति तथा संस्थाको नाम खडा गरी गोरखा मिडिया नेटवर्कमा ल्याएको पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, सुप्रिम बचत तथा ऋण सहकारी संस्था, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट जम्मा ६५ करोड ५४ लाख ८ हजार रकम गोरखा मिडिया नेटवर्क प्रालिमा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

  • छवि अघिअघि, रवि पछिपछि

पोखरामा बयान दिइरहेका पूर्वगृहमन्त्री लामिछाने सोही जिल्लाबाट नछुट्ने सङ्केत देखिएको छ । छविलाल जोशीलाई बुटवल पुर्‍याएर फेरि पोखरा ल्याउने कार्यले रविसमेत सोही प्रक्रियाबाट गुज्रिनुपर्ने पुष्टि भएको छ ।

जोशीलाई बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा बयानका लागि कात्तिक ५ गते रुपन्देही जिल्ला सरकारी वकिल कार्यालय पुर्‍याइएको थियो । उक्त सहकारीबाट जोशीकै नाममा ऋण लिइएको छ भने गोरखा मिडियामा करिब १५ करोड बराबरको रकम लगिएको छ । दुवैका बारेमा बयान दिन छविलाई पोखराबाट बुटवल लगिएको हो ।

बुटवलस्थित सुप्रिम सहकारीबाट रवि लामिछानेको नाममा ऋण प्रवाह भएको देखिएको छ भने गोरखा मिडियाको नेतृत्वको रुपमा उक्त सहकारीको रकम पनि अपचलन गरेको आरोप उनीमाथि छ । दुवै कारणले रविलाई बयानका लागि बुटवल पनि ल्याउने जिल्ला सरकारी वकिल कार्यालय बुटवलले जनाएको छ ।

‘छविको बयान सकिएको र आवश्यक परे पुनः मगाउने गरी फर्काइएको छ,’ जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही स्रोतले भन्यो, ‘लामिछानेको हकमा पनि सल्लाह हुँदैछ । बिहीबार–शुक्रबार नै ल्याउने कि केही समयपछि ल्याउने भन्नेबारे कास्की प्रहरी र रुपन्देही प्रहरीले सल्लाहमा निर्णय लिने छन् ।’

यी दुई जिल्लामा यसअघि नै एउटा मुद्दा दायर भइसकेकाले पूरक अभियोगपत्र तयारीका लागि बयान हुनेछ । पोखराको सूर्यदर्शनमा रवि र छविलाई विपक्षी बनाइएको थिएन । रुपन्देहीको सुप्रिम सहकारीको सन्दर्भमा पनि उनीहरूलाई विपक्षी बनाइएको थिएन ।

यसअघि कुमार रम्तेल र जीबी राईलाई विपक्षी बनाए पनि उनीहरू छुटेका थिए । अब भने यी दुईसहित सहकारी ठगीमा संलग्न देखिएका अन्यको हकमा प्रतिवादी बनाउँदै मुद्दा दायर गरिने छ । उनीहरूको पूरक मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटी माग गर्नेबारे निर्णय सुनाउने छ । अदालतले धरौटीमा रिहा गरेमा उनीहरूलाई सम्बन्धित अन्य जिल्ला अदालतमा पुर्पक्षका लागि पेस गरिने छ । 

रुपन्देहीपछि छवि र रवि दुवैलाई चितवन वा काठमाडौँ लैजाने देखिन्छ । चितवनको सहारा चितवन सहकारीबाट करिब १२ करोड रकम गोरखा मिडियामा स्थानान्तरण गर्दै अपचलन गरेको अभियोगमा जाहेरी छ । त्यस्तै संसदीय छानबिन समितिले पनि सहारा सहकारीको रकम गोरखा मिडियामा गएको तथ्य सार्वजनिक गरेको छ । यही आधारमा प्रहरीले छविलाई सुरुमा र रविलाई त्यसपछि चितवनसम्म अनुसन्धानका लागि पुर्‍याउने देखिन्छ ।

चितवनमा हालसम्म मुद्दा दायर भएको छैन । त्यही कारण लामो समय अनुसन्धानका लागि राखेर नयाँ मुद्दाको प्रक्रिया प्रहरीले अघि बढाउन सक्ने देखिन्छ ।

चितवन पहिला पेस गरेमा त्यसपछि रवि र छविको जोडीलाई काठमाडौँमा पेस गरिने छ । काठमाडौँको स्वर्ण लक्ष्मी सहकारीका नाममा विभिन्न शाखाबाट ऋण लिनुका साथै पोखरा, बुटवल लगायतका सहकारीबाट ऋण स्थानान्तरण गर्दै गोरखा मिडियामा ल्याएको संसदीय समितिको छानबिनका क्रममा  देखिएको छ ।

काठमाडौँको स्वर्ण लक्ष्मीबाट ३० करोड बराबरको रकम गोरखा मिडियामा गएको प्रतिवेदनमा उल्लेख छ । हालसम्म स्वर्ण लक्ष्मी सहकारीको रकम हिनामिनामा कुनै पनि अभियोगपत्र दायर भएको छैन । अनुसन्धानकै क्रममा रहेकाले छवि र रविसँगै जीबी राईलाई फरार देखाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ताका लागि अनुसन्धान हुनेछ । काठमाडौँपछि उनीहरूलाई पर्साको वीरगञ्ज लगिने छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको करिब ३३ करोड रुपैयाँ गोरखा मिडिया र विभिन्न व्यक्तिको नाममा ऋण प्रवाह भएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ ।

पर्सा जिल्ला अदालतमा उनीहरू विरुद्ध मुद्दा दायर हुनेछ । त्यसअघि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी वकिल कार्यालयमा उनीहरूलाई लैजाने छ ।  

फौजदारी कानुनका जानकारहरू उजुरी गरेका सबै जिल्लामा अनुसन्धानका लागि लैजानुपर्ने भएकाले सहकारी ठगीमा पक्राउ परेका छवि र रविलाई पनि सम्बन्धित जिल्लामा लैजान सकिने बताउँछन् । सङ्कटग्रस्त सहकारी छानबिन समितिका पूर्वसंयोजक समेत रहेका विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीले अनुसन्धानका लागि पक्राउ गरेको व्यक्तिलाई जाहेरी रहेका सबै जिल्लामा प्रहरीले लैजान पाउने बताए ।

अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिको पद वा नाम नहेरी अनुसन्धानका लागि जाहेरी रहेको स्थानमा लैजाने उनको तर्क छ ।

वरिष्ठ अधिवक्ता रञ्जीतभक्त प्रधानाङ्गले प्रहरीले अनुसन्धानका लागि व्यक्ति वा उसको पदभन्दा आरोप हेरेर अनुसन्धानका लागि कानुनले दिएको हदम्यादसम्म विभिन्न ठाउँमा लैजान सक्ने बताए । रवि लामिछाने वा छविलाल जोशी नभई उनीहरू सहकारी ठगीको आरोप लागेको आरोपित भएकाले जाहेरी परेका सबै जिल्लामा लैजान सकिने प्रधानाङ्गको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप