बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

असन्तुष्ट नेतासँग माधव नेपालको छलफल सकारात्मक

बुधबार, ०७ कात्तिक २०८१, १७ : २५
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका असन्तुष्ट नेताहरूबिचको छलफल सकारात्मक भएको नेताहरूले बताएका छन् । महाधिवेशन र नेतृत्व चयनको प्रक्रियाप्रति असहमति जनाउँदै असन्तुष्ट बनेका नेताहरूसँग अध्यक्ष नेपालले बुधवार पार्टीका कार्यालयमा छुट्टाछुट्टै छलफल गरेका थिए । 

उपमहासचिव रामकुमार भट्टराईले अध्यक्ष नेपाल र नेताहरूबिचको छलफलमा असन्तुष्ट रहेका नेताहरूलाई पार्टी कामको जिम्मेवारी दिने गरी सहमति जुटेको बताए । ‘अध्यक्षलगायतका नेताहरुले असन्तुष्ट नेताहरूसँग छलफल गर्नुभयो । छलफलमा नेताहरूलाई जिम्मेवारी दिने सहमति जुट्यो’, भट्टराईले भने, ‘अब कुरा मिल्यो विवाद समाधान भयो ।’

तर, असन्तुष्ट पक्षका नेता जीवनराम श्रेष्ठले सबै कुरा मिलेकोबारे उनीहरूलाई थाहा हुने प्रतिक्रिया दिए ।  ‘अध्यक्षले छुट्टै बोलाएर कुरा गर्नुभयो । हामीले उठाएका कुरामा समीक्षा पनि भयो । अब नेताहरूलाई जिम्मेवारी दिएर पार्टी काममा लगाउने कुरा भएको छ’, श्रेष्ठले भने, ‘पार्टीको आन्तरिक एकता कायम गर्दै नेपाली क्रान्तिको समाजवादी कार्यक्रम पुरा गर्नुपर्छ भन्नेमा सहमति भयो ।’

अध्यक्ष नेपालले श्रेष्ठसहित विजय पौडेल, वंशीधर मिश्र, रामकुमारी झाँक्री लगायतका असन्तुष्ट नेताहरूसँग छलफल गरेका थिए । बुधवारको छलफल र सहमति पछि उनीहरूलाई केके जिम्मेवारी दिने भनेर सचिवालय बैठक बसेर निर्णय हुने पार्टी केन्द्रीय कार्यालयका सचिव समेत रहेका भट्टराईले जानकारी दिए । 

यसअघि नेता श्रेष्ठसहितले महाधिवेशन र नेतृत्व चयन पार्टी विधान विपरीत भएको भन्दै महाधिवेशन नै रद्द गर्नुपर्ने माग अघि सारेका थिए । उनीहरुले माग पुरा नभए सय भन्दा बढी नेता पार्टी छाड्ने खतरा रहेकाले समीक्षा गर्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप