बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रले सरकारविरुद्ध किन गर्दैछ खबरदारी सभा ? (१० बुँदासहित)

बुधबार, ०७ कात्तिक २०८१, १६ : ०७
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौँमा हुने खबरदारी सभाको तयारी गरेको छ । असोज १३ गते बसेको पदाधिकारी बैठकले सुशासन, सामाजिक न्याय, जनजीविकाको साथै विपद् व्यवस्थापनमा ओली सरकार पूर्ण असफल भएको निष्कर्ष निकालेको थियो । 

सरकार गठन भएको सय दिनको समीक्षा गरी खबरदारी सभा गर्ने निर्णय समेत गरेको थियो । ओली सरकार गठन भएको बुधवार सय दिन पुगेको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती, विशेष प्रदेश, समन्वय समिति तथा जनवर्गीय सङ्गठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले खबरदारी सभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई निर्देशन दिएका थिए ।

पदाधिकारीको निर्णयलाई कार्यान्वयन गर्न माओवादीको बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय समितिले संयुक्त रूपमा विशेष परिपत्र पठाएको छ । साथै केन्द्रीय पदाधिकारीको निर्णयसहित सरकारविरुद्ध खबरदारी गर्नुपर्ने १० कारण परिपत्रमा उल्लेख छ । माओवादीले १० गते बिहान ११ बजे काठमाडौँ मलमा जम्मा भई जनप्रदर्शनसहित भृकुटीमण्डपमा पुगेर खबरदारी सभा गर्दै छ । पार्टीले खबरदारी सभा गर्नपर्नुको कारणबारे  १० बुँदामा मातहतका कमिटीलाई सर्कुलर नै पठाएको छ । 

१०  बुँदामा के के छन् ?

१.विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशील, गैरजिम्मेवारी र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, उद्धार, राहत वितरण, घाइतेहरूको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनर्निर्माण र पुनर्स्थापनाको कार्य कार्यान्वयन गराउन,

२. ने.क.पा. (माओवादी केन्द्र) नेतृत्वको सरकारले सुरु गरेको सुशासन अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सृष्टि गर्न,

३. सतहमा आएका ठुला भ्रष्टाचार काण्डका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन,

४. संविधान र लोकतन्त्रको रक्षा गर्न÷मुलुकलाई दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्य सहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रलाई असफल पार्न,

५. शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाहरूप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन, ६. नेपाल विद्युत् प्राधिकरणलगायत सार्वजनिक संस्थानहरूमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्त्वपूर्ण सार्वजनिक संस्थान बिक्री गर्ने तयारी विरुद्ध खबरदारी गर्न, विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्य गर्न,

७. बढ्दो बजार भाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन,

८. सहकारी, मिटरब्याज र लघुवित्त पीडितहरूका समस्या समाधानका लागि आवाज बुलन्द गर्न । ठगीमा संलग्नहरूलाई बिना भेदभाव कारबाही गर्न,

९. राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्द्धन गर्न, १०. सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिहरू विरुद्ध खबरदारी गर्न ।

१०. सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिहरू विरुद्ध खबरदारी गर्न । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप