बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

ट्राभिस हेडको कीर्तिमान ताेडे न्युजिल्यान्डका चाड बोवेसले, १०३ बलमै दोहोरो शतक !

बुधबार, ०७ कात्तिक २०८१, १५ : २९
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । न्युजिल्यान्डका ब्याट्सम्यान बोवेसले लिस्ट ‘ए’ क्रिकेटमा कीर्तिमान बनाएका छन् । ३२ वर्षीय चाड बोवेसले लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा कम बलमा दोहोरो शतक बनाउने खेलाडीको कीर्तिमान आफ्नो नाममा पारेका हुन् ।

ओपनर ब्याट्सम्यान चाडले फोर्ड ट्रफी सन् २०२४–२५ अन्तर्गत बुधबार खेलिएको ओटागोविरुद्धको खेलमा केन्टरबरीबाट खेल्दै यस्तो कीर्तिमान बनाएका हुन् । उनले केवल एक सय तीन बलमा दोहोरो शतक पुरा गरेका थिए ।

चाड बोवेसले अस्ट्रेलियाका चर्चित ब्याट्सम्यान ट्राभिस हेडको कीर्तिमान तोडेका हुन् । ट्राभिस हेडले भने लिस्ट ‘ए’ क्रिकेटमा एक सय १४ बलको सामना गरी दोहोरो शतक बनाएका थिए । चाड बोवेसले त्यही कीर्तिमान तोडेका हुन् ।

ओटागोविरुद्धको खेलमा आक्रामक रूपमा प्रस्तुत भएका चाड बोवेसले दोहोरो शतक पुरा गर्ने क्रममा सात छक्का र २७ चौका प्रहार गरेका थिए । त्यो खेलमा उनले दुई सय पाँच रन बनाएका थिए । उनको स्ट्राइकर रेट १८६.३६ रहेको थियो ।  

चाड बोवेस क्रिजमा रहँदासम्म उनको टोली केन्टरबरीले दुई सय ७६ रन बनाएको थियो । त्यसमा दुई सय पाँच रन एक्लै चाड बोवेसले बनाएका थिए । उनी ३९औँ ओभरको दोस्रो बलमा आउट भएर पेभेलियन फर्किएका थिए ।

चाड बोवेसले न्युजिल्यान्डका लागि ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ११ वटा टी–२० अन्तर्राष्ट्रिय पनि खेलिसकेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ९९ र टी–२० अन्तर्राष्ट्रियमा एक सय ८७ रन बनाएका छन् । उनले दुबै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा एक–एक अर्धशतक बनाएका छन् ।

बुधबारको खेलमा केन्टरबरीले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ४३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको ओटागोले भने २४.५ ओभरमै अलआउट हुनुअघि एक सय तीन रनमात्र बनाउन सकेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप