आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
यू–१७ एसियन कप छनोट प्रतियोगिता

कतारको हमाद स्टेडियममा आज साविक विजेता जापानलाई चुनौती दिँदै नेपाल

एएफसी यू–१७ एसियन कप छनोट
बुधबार, ०७ कात्तिक २०८१, १४ : २९
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । एसियाली फुटबल काउन्सिल (एएफसी) यू–१७ एसियन कप छनोट प्रतियोगितामा बुधबार राति नेपालले बलियो प्रतिद्वन्द्वी जापानको सामना गर्दैछ । नेपाल र जापानबिचको खेल कतारको दोहोस्थित हमाद बिन खलिफा स्टेडियममा नेपाली समय अनुसार, राति १०ः ३० बजे सुरु हुनेछ ।

नेपाल र जापान छनोट प्रतियोगिताको समूह ‘एफ’ मा रहेका छन् । यो समूहमा आयोजक कतार र मंगोलिया पनि छन् । समूह ‘एफ’ अन्तर्गतको सम्पूर्ण खेल कतारमै खेलिने छ । नेपालको तुलनामा जापान निकै बलियो टोली हो ।

जापान एएफसी यू–१७ एसियन कपको साविक विजेता पनि हो । सन् २०२३ मा सम्पन्न यू–१७ एसियन कपको फाइनलमा जापानले दक्षिण कोरियालाई ३–० गोलले हराउँदै उपाधि चुमेको थियो । त्योभन्दा अघिल्लो संस्करणको उपाधि पनि जापानले नै जितेको थियो ।

जापानले हालसम्म चारपटक यू–१७ एसियन कपको उपाधि चुमिसकेको छ । जापानी टोली एकपटक (सन् २०१२) उपविजेता पनि बनेको थियो । त्यो संस्करणको फाइनलमा उज्बेकिस्तानले जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि हात पारेको थियो ।

नेपालले भने हालसम्म तीनपटक छनोट चरण पार गरेर यू–१७ एसियन कप खेलेको छ । तर, तीन पटक नै नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको छ । नेपालले सन् २००० मा पहिलो पटक यो प्रतियोगिता खेलेको थियो ।

सन् २००० मा भियतनाममा भएको संस्करणमा नेपाली टोली समूह ‘ए’ मा परेको थियो । नेपाली टोली चारवटै खेलमा पराजित भएको थियो । नेपाली टोली पहिलो खेलमा चीनसँग २–६, दोस्रो खेलमा भियतनामसँग ०–५, तेस्रो खेलमा जापानसँग ०–३ र चौथो खेलमा म्यानमारसँग ०–३ गोलले पराजित भएको थियो ।

यसैगरी, नेपालले सन् २००६ मा दोस्रो पटक यू–१७ एसियन कपमा सहभागिता जनाएको थियो । सिंगापुरमा आयोजना भएको त्यो संस्करणमा पनि नेपाल समूह ‘ए’ मै परेको थियो । नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको थियो ।

त्यतिबेला नेपाली टोलीले तीनमध्ये दुई खेलमा हार र एक खेलमा बराबरीको नतिजा निकालेको थियो । नेपाली टोली आफ्नो पहिलो खेलमा जापानसँग ०–६ गोलले पराजित भएको थियो । दोस्रो खेलमा नेपाली टोली दक्षिण कोरियासँग ०–२ गोलले हारेको थियो । तेस्रो खेलमा भने नेपालले सिंगापुरलाई गोलरहित बराबरीमा रोकेको थियो ।

यसैगरी, नेपालले सन् २०१४ मा तेस्रो पटक यू–१७ एसियन कपमा सहभागिता जनाएको थियो । त्यो संस्करण थाइल्यान्डमा आयोजना भएको थियो । त्यतिबेला नेपाली टोली प्रतियोगिताको समूह ‘सी’ मा परेको थियो । नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको थियो ।

त्यो संस्करणमा नेपाली टोलीले एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो । आफ्नो पहिलो खेलमा नेपालले उज्बेकिस्तानलाई १–१ गोलको बराबरीमा रोकेको थियो । दोस्रो खेलमा नेपालले कुवेतलाई २–१ गोलले हराएको थियो ।

आफ्नो तेस्रो खेलमा भने नेपाली टोली उत्तर कोरियासँग १–४ गोलले पराजित भएको थियो । तालिकामा नेपाली टोली चार अंकसहित तेस्रो भएको थियो । तर, सात अंकसहित पहिलो हुने उज्बेकिस्तान र ६ अंकसहित दोस्रो हुने उत्तर कोरिया अघिल्लो चरणमा पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप