बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

‘जुनकिरीको सङ्गीत’को ‘रजत–वर्ष संस्करण’ बजारमा

बुधबार, ०७ कात्तिक २०८१, १३ : ५३
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । साहित्यकार खगेन्द्र संग्रौलाको प्रसिद्ध उपन्यास ‘जुनकिरीको सङ्गीत’ प्रथम–प्रकाशनको २५ वर्षपछि दोस्रो परिशोधित संस्करण प्रकाशित भएको छ । पर्वतको दलित बस्तीको यथार्थचित्रण, उत्पीडितहरूको सामूहिक जागरण र जातव्यवस्थाविरुद्ध सामाजिक सङ्घर्षको कथा बोकेको उपन्यासलाई बेला पब्लिकेसन्सेल ‘रजत–वर्ष संस्करण’का रूपमा बजारमा ल्याएको हो।

 दोस्रो संस्करणलाई उपन्यासकार संग्रौलाले ‘गोडमेल संस्करण’को संज्ञा दिएका छन् । ‘‘उपन्यासको मूल विषय  र दृष्टिकोणलाई यथावत् राखी वर्णन र वृत्तान्त एवम् संरचना र शैलीमा यसमा सानोतिनो गोडमेल भएको छ,’’ संग्रौलाले उपन्यासबारे भने, ‘‘पहिलो संस्करणमा यसले फराकिलो हदसम्म पाठक र समीक्षकको परखको परीक्षामा बस्न पाएन । दोस्रो संस्करण बजारमा आएपछि यसको पाठकीय परखको परीक्षा हुने मेरो विश्वास छ ।’’

२०५६ सालमा पहिलो संस्करण प्रकाशित भएपछि ‘जुनकिरीको सङ्गीत’ आम पाठक वृत्तमा बहुचर्चित भए पनि कम्युनिस्ट वृत्तमा विवादित उपन्यासका रूपमा समेत प्रचारित भएको थियो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को शीर्ष नेतृत्वले उपन्यास र उपन्यासकार दुवैको सैद्धान्तिक आलोचना गरेको थियो । यसबारे संग्रौला भन्छन्, ‘‘मार्क्सवाद सन्देह, प्रश्न र वादविवादका माध्यमले हरेक कुराको सत्यताको परीक्षण गर्ने दर्शन हो । र, आफ्नै चिन्तन र व्यवहारको नित्य सजग आलोचक भई विकसित भएको दर्शन हो यो । तर म मार्क्सवादी हुँ भन्ने माओवादी नेतृत्वको चिन्तन र व्यवहारको जब छिसिक्क आलोचना भयो, आलोचकको मुख थुन्न सर्वत्र कडिकडाउ फर्मान जारी गरियो । र, ‘जुनकिरीको सङ्गीत’लाई पाठकीय परखको परीक्षामा बस्नै नदिई हैकमी कोर्राले चुटेर असफल र हानिकारक घोषित गरियो ।’’

पर्वत जिल्लाका दलित बस्तीको कथा बुनिएको उपन्यासमा पात्रहरूको संवादमा स्थानीय लवजको प्रयोग गरिएको छ । परिशोधित संस्करणमा आञ्चलिक भाषा, लवज र शैलीमा पनि पर्याप्त सम्पादन गरिएको सम्पादक सङ्गीतले बताए । ‘‘कथाले मात्रै होइन, भाषिक हिसाबले पनि यो उपन्यासले एउटा विशिष्ट आञ्चलिक स्वाद दिनेछ,’’ सम्पादक सङ्गीतले भने, ‘‘आम पाठकले यस विशालकाय उपन्यासमा नौलो भाषिक स्वाद पाउनेछन् भने पर्वत–बागलुङका रैथाने पाठकले आफ्नो बोलीचालीको मौलिकता भेट्नेछन् ।’

नयाँ संस्करण संग्रौलाका चयनित रचनावलीको पहिलो शृङ्खलाका रूपमा प्रकाशित गरेको बेला पब्लिकेसन्सका अध्यक्ष वन्दना ढकालले बताइन् । बेलाले संग्रौलाका सम्पूर्ण रचनाहरू चयन तथा सम्पादन–संयोजन गरेर तीन खण्ड र पन्ध्र ठेलीमा ‘संग्रौला समग्र’ प्रकाशन गर्ने भएको छ । ‘संग्रौला समग्र’ शृङ्खलाका तीन खण्डमध्ये पहिलोमा आख्यान (उपन्यास र कथा), दोस्रोमा निबन्ध तथा संस्मरण र तेस्रोमा विविध रचनाहरू रहने छन् । समग्रको निबन्ध खण्डअन्तर्गत ‘आफू आफैतिर फर्केर’ पुस्तक यसअघि नै प्रकाशित भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप