बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
तिहार

बाढीपहिरोका कारण स्वदेशी फूलले तिहारको माग नधान्ने

फूल बिक्रीका लागि स्थल छुट्याइने तयारी
बुधबार, ०७ कात्तिक २०८१, १३ : ३०
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौँ । नेपाल फूलमा आत्मनिर्भर उन्मुखको भएको दाबी गरिँदै आए पनि यो वर्षको तिहारमा फूलको अभाव हुने आकलन गरिएको छ । बाढी पहिरोका कारणले फूल खेतीमा १२ करोड रुपैयाँ बराबर क्षति भएकाले फूलको अभाव हुने अनुमान गरिएको हो । 

फ्लोरिकल्चर एसोसियसन अफ नेपाल (फ्यान)का अनुसार तिहारमा करिब ४५ लाख माला प्रयोग हुने गरेको छ । करिब ३८ प्रतिशत अर्थात् १७ लाख फूलका माला अपुग हुने फ्यानका निवर्तमान अध्यक्ष तथा पुष्प व्यवसायी मीनबहादुर तामाङले बताए । ४५ लाखमध्ये करिब २८ लाख हाराहारी माला स्वदेशी उत्पादनले धान्छ । तिहारमा मात्रै कुल खपतको ६२ प्रतिशत फूल खपत हुन्छ । 

तिहारमा विशेषता सयपत्री, मखमली, गोदावरी लगायत फूलको माग हुने गरेको छ । तर यो वर्ष बाढी पहिरोका कारणले काठमाडौँ उपत्यका लगायत नजिकका जिल्लामा हुने फूल खेतीमा क्षति पुगेकाले तिहारमा फूलको अभाव हुने तामाङले बताए । ‘यो वर्ष फूलको व्यापार छैन, अस्तिको बढीले गर्दा धेरै नोक्सानी भयो,’ उनले भने, ‘बाढी पहिरोले १२ करोड रुपैयाँ बराबरको फूलमा क्षति पुगेको विवरण प्राप्त भएको छ, एउटा फार्ममा नै एक करोडभन्दा बढीको क्षति भएको छ ।’

तामाङले ललितपुरको गोदावरी क्षेत्रमा सबैभन्दा बढी क्षति भएको बताए । काभ्रेपलान्चोक र काठमाडौँ जिल्लाको केही क्षेत्रका फूल फार्ममा पनि क्षति भएको जनाए । ‘गोदावरी क्षेत्रमा बढी, काभ्रेमा पनि ठुलै क्षति भएको छ,’ उनले भने, ‘काठमाडौँमा पनि छिटपुट क्षति भएको छ ।’

उसो त तिहार लक्षित घरमा सयपत्री, गोदावरी, मखमली फूल बिरुवा रोप्ने प्रचलन छ । तर असोजको दोस्रो साता आएको बढी र पहिरोले गर्दा बिरुवाको नै अभाव भएको तामाङको भनाइ छ । ‘फूल बिरुवा नभएर जुन गार्डेन भेराइटी छ,’ उनले भने, ‘त्यो नभएर सयपत्री अहिले बजारमा अभाव नै छ ।’

  • तिहारमा ८० देखि एक सय रुपैयाँ प्रतिमाला पर्ने

आगामी तिहारमा प्रतिमाला ८० देखि १०० रुपैयाँ मूल्य पर्ने भएको छ । सरकारले सहयोग गरे तिहार लक्षित फूलका व्यवसायले राम्रो मूल्य पाउने देखिएको छ । ‘जोसँग छ उसले राम्रो मूल्य पाउने वाला छ,’ उनी भन्छन्, ‘तर सरकारले बाहिरबाट अवैध रूपमा आउने फूलमा निगरानी बढाउनु पर्छ ।’

फूल अभाव हुने भए मापदण्ड अनुसार फूल ल्याउनुपर्ने उनी सुझाउँछन् । ‘हामीसँग भएको उत्पादनले पुग्दैन, मापदण्ड पूरा गरी फूल ल्याउनु नै पर्छ’ उनले भने, ‘अलिअलि आयात गर्नु पर्छ । रोगकिरा रहित फूल मात्रै भित्र्याउने मापदण्ड छ । सो अनुसार ल्याउनुपर्ने देखिएको छ । ’ 

  • तिहारमा फूलको कारोबार कति ?

यो तिहारमा ३७ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान गरिएको छ । सयपत्री, मखमली, गोदावरी लगायत सो रकम बराबर फूलको कारोबार हुने फ्यानको अनुमान छ । तर यो वर्ष बाढी र पहिरोका कारणले फूलको माग अनुसार फूल उपलब्ध गराउन आयात नै गर्नुपर्ने जनाइएको छ । 

गत वर्षको तिहारमा २४ करोड रुपैयाँ मूल्य बराबरको फूलको कारोबार भएको थियो । त्योभन्दा अघिल्लो वर्षको तिहारमा २६ करोड रुपैयाँको कारोबार भएकामा गत वर्ष दुई करोड कम कारोबार थियो । 

गत वर्ष भारतबाट फूल ल्याई कोल्ड स्टोरमा राखिएको माला सस्तो पाउने भएपछि नेपाली फूलले समेत मूल्य नपाएको उनको भनाइ छ । गत वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको भए पनि ३० लाख सयपत्री, मखमली तथा गोदावरी र मिक्स माला गरी जम्मा ३५ लाख फूलको माला खपत भएको थियो । यो वर्ष ४५ लाख फूलको माला खपत हुने अनुमान गरिएको छ । 

  • फूल बिक्रीका लागि स्थल छुट्याइने

काठमाडौँ उपत्यकामा यो वर्ष फूल बिक्रीका लागि स्थल छुट्याइने भएको छ । फ्यानले ललितपुर र काठमाडौँ महानगरपालिकासँग समन्वय गरी फूल बिक्रीका लागि स्थल छुट्याइने भएको हो । गत वर्ष काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादन प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानलाई बिक्रीस्थल तोकेका थियो । 

  • पुष्प व्यवसायको वार्षिक वृद्धिदर १५ प्रतिशत 

नेपालमा बढ्दो सहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य सहरहरू लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलँदो अवस्थामा छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार हरेक वर्ष पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा हुन्छ । विगत केही वर्ष कोभिड महामारीका कारणले पुष्प व्यवसायमा नकारात्मक असर पुर्‍याएको भएता पनि आर्थिक वर्ष २०७९/८० देखि व्यवसायले पुनः गति लिएको फ्यानले जनाएको छ । गत वर्षसम्म ४८ जिल्लामा पुष्प खेती भइरहेकोमा यस वर्ष अर्घाखाँची, खोटाङ, उदयपुर र बर्दिया जिल्लामा पनि पुष्प व्यवसाय सुरु भएको हुँदा पुष्प व्यवसाय हुने जिल्ला सङ्ख्या ५२ पुगेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल अनुसार लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । ११७४ भन्दा बढी (नर्सरी–५३०, कट फ्लावर उत्पादक–९०, कट फ्लावर खुद्रा व्यवसायी–१५८, पुष्प थोक व्यवसायी–६, ईनपुट सप्लायर्स–२५ र लुज फ्लावर उत्पादक –३६५) पुष्प व्यवसायीहरू यसमा संलग्न छन् । पुष्प व्यवसायमा अनुमानित लगानी ८ अर्ब ८३ करोड रुपैयाँभन्दा रहेको छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरि अनुमानित ५१ हजार ५०० भन्दा बढी जनशक्तिलाई रोजगार प्रदान गरिएको छ ।

फ्यानको तथ्याङ्क अनुसार आव २०७५/७६ मा पुष्पको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँ रहेकोमा आव ०७७/७८ मा कोभिड महामारीको कारण पुष्पको व्यावसायिक कारोबारमा कमी आई जम्मा १ अर्ब ६३ करोड रुपैयाँमा खुम्चिएको थियो । आव २०७८/७९ मा कोभिडको असर केही कम हुँदा वार्षिक कारोबारमा केही वृद्धि भएको थियो । आव २०७९/८० मा ३ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । २०८०/८१ मा १९.८६ प्रतिशतले वृद्धि भई ३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको फ्यानले जनाएको छ । यस्तै, भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार १ करोड २ लाख १२ हजार छ भने २७ करोड ७९ लाख ५ हजार रुपैयाँको आयात भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप