बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

‘निको नहुने गम्भीर रोगमा आवश्यक छ प्यालियटिभ केयर’ (भिडियो)

बुधबार, ०७ कात्तिक २०८१

धेरैजसो क्यान्सरलाई निको पार्न सक्छौँ, तर पनि सबै बिरामीलाई हामीले निको पार्न सक्दैनौँ । कुनै बिरामी निको हुन नसक्ने चरणमा पुग्छन् । कतिपय क्यान्सरलाई विभिन्न कारण निको बनाउन सकिँदैन । यो अवस्थामा पनि रणनीतिक ढंगले अगाडि बढ्नुपर्ने हुन्छ । यो विषयलाई लिएर हामीले नेपालमा नीतिगत रूपमा काम गरिरहेका छौँ । 

म कार्यरत बीपी कोइराला क्यान्सर अस्पताल (जहाँ म २२ वर्षदेखि काम गर्दै आएको छु)ले देशभरका विभिन्न अस्पतालमा तालिम दिने, सचेत गराउने लगायत काम गरिरहेको छ । मैले सन् २००६ देखि बच्चाको क्यान्सरको उपचार गरेँ, जुन बेला बच्चाको क्यान्सर निको हुँदैन भन्ने थियो । ब्लड क्यान्सर त निको नहुने रोग भनेर मैले सन् २००० साल को वरिपरि पढेको थिएँ । पछिल्लो समय धेरैमा क्यान्सर देखिन थालेको छ । स्रोत–साधनकोे कमीले शतप्रतिशत सबैलाई निको पार्न त सकिँदैन । जसलाई निको नै पार्न सकिँदैन, उसलाई पनि एउटा मानवीय जीवनपायन गर्न वातावरण मिलाउनुपर्छ । 

रोग आज लाग्यो, मान्छे भोलि त मर्दैन । मान्छेमा रोग लागिसकेपछि एउटा समयावधिसम्म रोग पनि बल्झेर जान सक्छ । जति समयसम्म बिरामी बाँच्छ, उसलाई मानवीय रुपमा बाँच्न दिनुपर्‍यो । मृत्यु पनि सहज र सरल हुनुपर्‍यो । हामी गाउँघरमा भन्ने कुकुर मरेजस्तो कसैले वास्ता नगरेर बाटोमा हिँड्दाहिँड्दै मर्नु भएन । 

‘प्यालियटिभ केयर’लाई शिक्षामा लागु गर्नुपर्छ । यसलाई सेवासँग जोडिनुपर्छ । उपचारमा पनि समावेश गर्नुपर्छ । ‘नेपलिज एसोसिएन ‘प्यालियटिभ केयर’को सहयोगमा आवश्यकता अनुसारको सुझाव सरकारलाई सुझाएका छौँ ।

बच्चाको मृत्युले पक्कै पनि आमाबाबुलाई छोएको हुन्छ । आमाबाबु सामान्य अवस्थामा आउन सामान्यतः कसैलाई एक वर्ष, कसैलाई दुई वर्ष लाग्छ नै । कसै कसैलाई वर्षौं लाग्न सक्छ । ती बुवाआमालाई सामान्य अवस्थामा ल्याउन जुन उपचार हुन्छ, त्यसलाई ‘ब्रिभमेन्ट थेरापी’ भन्छौँ । एउटा बच्चाको निधनले बाबुआमासँगै स्कुलमा पढ्ने सम्पूर्ण कक्षा अर्थात् उसको ‘पेयर ग्रुप’लाई असर गरेको हुन्छ । 

  • ‘प्यालियटिभ केयर’

‘प्यालियटिभ केयर’ भनेको खासगरी गम्भीर रोग लागिसकेपछि निको नहुँदासम्म वा बाँचुन्जेलको अवस्था सहज बनाउन र सदस्यको मृत्युपछि उसको परिवार र ‘पेयर ग्रुप’लाई पर्ने मानसिक वा भावनात्मक असरलाई सहज बनाउनु हो । यो एकदमै महत्त्वपूर्ण छ । मेडिकल सेक्टरमा त ‘तँ यो औषाधि खा, ठिक हुन्छस्’ भन्ने मात्रै छ । 

‘प्यालियटिभ केयर’मा हेरचाहको कुरा आउँछ । तपाईं–हामी बिरामी हुँदा केयर गर्ने मान्छे खोजिरहेका हुन्छौँ । यसमा ‘कम्युनिकेसन’ राम्रो हुनुपर्‍यो । बिरामीले कसरी बुझ्छ, त्यसरी नै कुरा गर्नुपर्‍यो । बिरामीले महसुस गर्ने गरी बोल्न सक्नुपर्‍यो । यसमा ‘ब्रेकिङ ब्याड न्युज’हरू हुनुभएन । जस्तै ः क्यान्सर भयो नि, फोक्सोको क्यान्सर भयो नि, यस्ता विषयहरू परिवार वा बिरामीको भावनालाई ध्यान दिँदै बताउनुपर्ने हुन्छ । 

‘प्यालियटिभ केयर’लाई शिक्षामा लागु गर्नुपर्छ । यसलाई सेवासँग जोडिनुपर्छ । उपचारमा पनि समावेश गर्नुपर्छ । ‘नेपलिज एसोसिएन ‘प्यालियटिभ केयर’को सहयोगमा आवश्यकता अनुसारको सुझाव सरकारलाई सुझाएका छाँै । सहर केन्द्रित मात्रै होइन, गाउँगाउमा पनि ‘प्यालियटिभ केयर’ हुनुपर्छ । त्यस्तै गरेर बच्चामा निको नहुने क्यान्सर वा अरुको हकमा निको नहुने क्यान्सरमा मात्रै नभई मुटु, मिर्गौला लगायत विभिन्न रोगमा पनि ‘प्यालियटिभ केयर’ आवश्यक छ । यति मात्रै नभई जन्मदै अपाङ्ग भएर जान्मेको छ भने, अक्सिजनको कमीले  ‘ब्रेन ड्यामेज’ भयो भने पनि ‘प्यालियटिभ केयर’ आवश्यक पर्छ । ताकि ती व्यक्ति बाँचुन्जेल सहज र पीडामुक्त बाँच्न पाऊन् । 

(बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत  डा. शर्मासँग सरिता चौधरीले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया